logo-img

कानुन मिच्नेहरू फोन कलको भरमा छुट्नुहुन्न : मुख्यमन्त्री कार्की

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताएका छन् । 

नागरिकलाई सुरक्षा दिने प्रहरीहरू पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै उनले कानुनविपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन दिए ।

प्रहरी दिवसको अवसरका मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने, ‘प्रहरीले आफ्ना इच्छा र चाहना त्यागेर अरूको सुरक्षाका लागि खटिनुपरेको छ । हरेक साना–ठूला घटनामा प्रहरी नै खटिनुपर्छ । तर, हामीलाई शान्तिसुरक्षा दिने प्रहरी पहिले सुरक्षित हुनुपर्छ । प्रहरीले शौच गर्न नपाउने, खान नपाउने, तर हामीले सुरक्षा भएन भन्ने धारणा परिवर्तन गरिनुपर्छ ।’



धेरै प्रहरी कार्यालय अहिले पनि संरचना अभावका कारण जीर्ण रहेको दृष्टान्त पेस गर्दै मुख्यमन्त्री कार्कीले यस्तो अवस्था सुधार गर्न प्रदेश सरकारले सक्दो काम गर्ने प्रतिबद्धता जनाए ।

कार्कीले साँझमा मादकपदार्थ सेवन गर्नेलाई छुटाउन आउने टेलिफोन कलको वास्ता नगरी कारबाही अघि बढाउन निर्देशनसमेत दिए । भने, ‘कसैले आफैँ कानुनको उल्लंघन गर्छ भने कारर्बाही हुनुपर्छ । पहुँचका आधारमा सुरक्षा नदिनुहोस् ।’

त्यस अवसरमा उत्कृष्ट कार्यालय व्यवस्थापन विधामा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी राजेशनाथ बास्तोला सम्मानीत भएका छन् ।  



नेपाल प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यालय व्यवस्थापन विधामा कोशी प्रदेश प्रहरी प्रमुखलाई छनोट गरेको थियो । 

नेपाल प्रहरी कार्यदक्षता मूल्यांकन २०८० को क्रममा गरिएको अनुगमन तथा मूल्यांकनमा प्रदेश प्रहरी कार्यालयमध्ये कोशीको व्यवस्थापनमा उत्कृष्ट व्यवस्थापकीय क्षमता भएका उल्लेख गरिएको छ ।



नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त उक्त पुरस्कार बास्तोलालाई मुख्यमन्त्री कार्कीले प्रदान गरे । त्यस अवसरमा प्रहरी परिवारलाई पनि सम्मानीत गरिएको थियो ।
 

  • प्रकाशित मिति : असोज ३०, २०८० मंगलबार १९:१०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया