मुस्ताङबाट बाहिरिए ५७५५ च्याङ्‍ग्रा, भित्रियो २३ करोड रुपैयाँ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर २३ करोड मूल्य बराबरको च्याङ्‍ग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत जिल्लामा च्याङ्‍ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । 

केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दसैँका लागि ५ हजार ७५५ च्याङ्‍ग्रा निकासी भएको जानकारी दिए । ‘जोमसोमको नाकाबाट ५ हजार ७५५ च्याङ्‍ग्रा निकासीका लागि स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,’ उनले भने, ‘कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा २३ करोड २ लाख मूल्य बराबरको च्याङ्‍ग्रा निकासी भएको छ ।’

मुस्ताङका कृषकले पालेका ४ हजार र १ हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङ्‍ग्रा निकासी भएको उहाँले बताए । गत २० असोजदेखि यही १ कात्तिकसम्म च्याङग्रा निकासी भएको थियो । 

प्रतिगोटा च्याङ्‍ग्राको स्वास्थ्य परीक्षण गरेबापत पशु चिकित्सकलाई १५ रुपैयाँ शुल्क तिर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । च्याङ्‍ग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका थिए । 

कृषकले प्रतिगोटा ४० हजार रुपैयाँको हाराहारीमा च्याङ्‍ग्रा बिक्री गरेको बताएका छन् । गत वर्ष ६ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडा च्याङ्‍ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ । 

पछिल्लो ४ वर्षयता चिनियाँ च्याङ्‍ग्रा नआएको र मुस्ताङमा च्याङ्‍ग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको छोसेरका कृषक आङगेल गुरुङले बताए । तीनदेखि चार वर्ष उमेरका च्याङ्‍ग्रा मासुका लागि बजार पठाउने गरिएको छ । 



हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्‍ग्राले लेकाली जडिबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ठ हुने उपभोक्ताको अनुभव छ । दसैँ–तिहारमा च्याङ्‍ग्राको मासुको खपत बढी हुने गर्छ । 

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्‍ग्रा पालिएका छन् । ६५  ठूला च्याङ्‍ग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५०  सम्म घरघरमा च्याङग्रा पालेका छन् । 



हिउँचितुवा, ब्वाँसो र जंगली कुकुर च्याङ्‍ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ । तीन वर्षअघिसम्म प्रतिगोटा च्याङ्‍ग्राको २५ रुपैयाँ हजार थियो । कोरोना महामारीका कारण चिनिया कोरला नाकाबाट च्याङ्‍ग्रा आयत नभएकाले मुस्ताङको च्याङ्‍ग्राको मूल्य बढेको व्यापारी बाबुराम बानियाले बताए ।

वैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङ्‍ग्रा आयात हुने गर्दथ्यो । रासस  

  • प्रकाशित मिति : कात्तिक ६, २०८० साेमबार ८:१०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया