पक्षाघातबाट कसरी जोगिने ? यस्ता छन् उपाय

‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षाघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षाघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

प्रत्येक वर्ष २९ अक्टोबर अर्थात् आजका दिन पक्षाघात दिवस मनाइने गरिन्छ । एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षाघात मष्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मष्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ ।

समयमै यसको उपचार नगरे मष्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षाघातका लक्षण हुन् । नेपाल पक्षाघात सङ्घका अध्यक्ष डा. राजु पौडेल विश्वभर बर्सेनि १ करोड ३० लाखभन्दा बढी व्यक्तिमा पक्षाघात हुने गरेको बताउँछन् । हरेक ६ सेकेन्डमा एकजना र चार जनामा एक जनालाई पक्षाघात हुने गरेको छ ।

पक्षाघातको उपचारका लागि नेपाल पक्षाघात सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको डा. पौडेल बताउँछन् ।

उक्त सङ्घले जर्मनीको युनिभर्सिटी हस्पिटल हाइडलवर्गको सहयोगमा नेपाल पक्षाघात परियोजनासँग सहकार्य गरी काम गर्दै आएको छ । सन् २०१७ मा स्थापना भएको संघले नेपालको पक्षाघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको छ ।

यस्तै, जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा नेपालको पक्षाघातसम्बन्धी गाइडलाइन तय गर्ने काम गर्दै आइएको उक्त सङ्घले पक्षाघातसम्बन्धी निर्देशिका चाँडो निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । देशभरका १५ अस्पतालको पक्षाघातको अवस्थाबारे सूचीकरण गर्ने, बिरामीको अवस्थाबारे जानकारी राख्नेलगायतका काम पनि संघले गर्दै आएको छ ।



वरिष्ठ न्यूरोलोजिस्टसमेत रहनुभएका डा. पौडेल पक्षाघात भएकामध्ये एकतिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउँछन् । 

‘विश्वमा हरेक चार जनामा एक जनालाई र ६ सेकेन्डमा एक जनालाई पक्षाघातको सम्भावना रहेको हुन्छ, यसबाट सजग हुनुपर्छ’, उनले भने । नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेकामा डा. पौडेल जोड दिन्छन् । नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ ।



डा पौडेलका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ ।

सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको डा. पौडेल बताउँछन् । 

पक्षाघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ । 

नेपालमा भौगोलिक विकटता, सीमित स्रोत साधन र दक्ष जनशक्तिको अभावका कारण पक्षाघातको उपचारमा चुनौतीपूर्ण हुँदै गएको छ । समयमै रोग पहिचान गरेर उपचार गर्न सके उपचार सम्भव रहेको डा. पौडेल बताउँछन् । 

  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार ९:२७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया