बंगलादेशमा विपक्षी दलका नेता पक्राउ

बंगलादेशका प्रमुख प्रतिपक्षी दलका नेता मिर्जा फखरुल इस्लाम आलमगिर आइतबार बिहान पक्राउ परेको सो दलले बताएको छ । तीन महिनापछि हुन लागेको निर्वाचनअघि प्रधानमन्त्रीविरुद्ध आयोजित विशाल विरोध प्रदर्शनको एक दिनपछि उनलाई पक्राउ गरिएको हो । 

बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मिर्जा फखरुल इस्लाम आलमगिरलाई प्रशासनका अधिकारीहरूले पक्राउ गरेका छन् ।’ अस्ट्रेलियामा रहेकी आलमगिरकी छोरी शमारुह मिर्जाले एएफपीलाई भनेकी छन्, ‘उहाँलाई प्रहरीले हिरासतमा राखेको छ ।’

ढाका मेट्रोपोलिटन प्रहरीका प्रवक्ता फारुक हुसेनले उनको गिरफ्तारीबारे आफूलाई जानकारी नभएको बताए । बीएनपीका अध्यक्ष तथा दुई पटक प्रधानमन्त्री बन्नुभएकी खालिदा जियालाई पक्राउ गरेर जेल सजाय दिइएपछि र उनका छोरा बेलायतमा निर्वासनमा परेपछि बीएनपीका महासचिव ७५ वर्षीय आलमगिरले पार्टीको नेतृत्व गर्दै आएका छन्। सन् २०२० मा १७ वर्षको जेल सजायबाट रिहा भएपछि जिया नजरबन्दमा बस्दै आएका छन् ।

प्रदर्शन स्थलमा रहेका एएफपीका पत्रकारहरूका अनुसार बीएनपी र सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीले शनिबार गरेको विरोध प्रदर्शन यस वर्षको अहिलेसम्मको सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको बताएका छन् । साथै आगामी जनवरीमा हुने आम निर्वाचनभन्दा अघि भएको उक्त विरोध प्रदर्शन नयाँ चरण भएको बताइएको छ । 

बंगलादेशका दुई प्रमुख विपक्षी पार्टीका एक लाखभन्दा धेरै समर्थकले एउटा तटस्थ सरकार मातहत स्वतन्त्र र निष्पक्ष मतदानको अनुमति दिनका लागि प्रधानमन्त्री शेख हसिनालाई पदबाट राजीनामा दिन माग गर्दै विरोध प्रदर्शनमा भाग लिएका थिए । 

बंगलादेशका संस्थापक नेताकी छोरी हसिना १५ वर्षदेखि सत्तामा छन् । उनले कूल गार्हस्थ्य उत्पादनको मामिलामा बंगलादेशमा तीव्रताका साथ आर्थिक विकास गर्नुभएको छ तर मुद्रास्फीति बढेको छ । उनको सरकारमाथि भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ ।  





  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार १३:३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया