logo-img

जमुनाह नाकाबाट दुई महिनामा १० करोड रुपैयाँ बराबरको केरा आयात
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा १० करोड रुपैयाँ बढीको केरा नेपाल आयात भएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै १० करोड ३१ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको केरा आयात भएको छ ।

चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको र यो अवधिमा दुई हजार चार सय मेट्रिक टन केरा आयात भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । उनका अनुसार यहाँबाट आयात भएको केरा देशका विभिन्न बजारमा पुग्ने गरेको छ । स्थानीय बजारमात्र नभई बर्दिया, सुर्खेत, दाङ हुँदै चितवनको नारायाणगढसम्म केरा खपत हुने गरेको छ । 

नेपालगन्जलगायत यस क्षेत्र केरालगायतका फलफूल उत्पादनको अवस्था न्यून छ । केरा उत्पादनका लागि किसान उत्साहित भए पनि भारतबाट आउने सस्तो मूल्यको केराका कारण किसानले उत्पादनतर्फ जोड नदिएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ । 

नेपालगन्ज नाका हुँदै अन्य फलफूल आयात हुँदै आएको छ । स्वदेशी केरा उत्पादक किसानले भारतबाट आउने केरा तत्काल रोक्नुपर्ने माग राख्दै आएका छन् । भारतबाट केरा आयात गरिएकाले बाँकेमा उत्पादन भएको केरा बिक्री–वितरण हुन नसक्दा किसानले लिएको ऋण जोखिममा पर्ने खतरा रहेको केरा खेती गर्ने किसान देवेन्द्र अधिकारीले बताए । 

उनका अनुसार बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका केरा कृषक र आश्रित परिवार बेरोजगारीको चपेटामा परी वैदेशिक रोजगारी जानुपर्ने सम्भावना बढेको छ । बाँके र बर्दिया जिल्लामा चार हजार किसानले दुई हजार पाँच सय हेक्टरमा व्यावसायिक केरा खेती गरिरहेका छन् ।  





  • प्रकाशित मिति : कात्तिक १५, २०८० बुधबार ११:४२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया