logo-img

कुवेतसँग पराजित भए पनि बहराइन सेमिफाइनमा

आइसिसी टी–ट्वान्टी विश्वकप एसिया फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा कुवेतसँग पराजित भए पनि बहराइन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मूलपानी त्रिकेट मैदानमा आज भएको खेलमा कुवेतले बहराइनलाई चार विकेटले पराजित गरे तापनि नेटरनरेटका आधारमा बहराइन सेमिफाइनमा पुगेको हो । समान अंक भए पनि हङकङ र कुवेतलाई नेट रनरेटको आधारमा पछि पर्दै बहराइन समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो  । 

यस समूहबाट तीनै खेल जितेको संयुक्त अरब इमिरेट्स (युएई) ६ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गर्यो । बहराइन, हङकङ र कुवेतको समान दुई अंक थियो । 

तर, बहराइनको नेटरनरेट माइनस ०.३९८, हङङको माइनस ०.४३३ र कुवेतको माइनस ०.६४९ रहेको कारण बहराइन सेमिफाइनलमा पुग्न सफल भयो । सेमिफाइनलमा बहराइनले ओमानसँग खेल्नेछ । 

आजको खेलमा बहराइनले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य कुवेतले १६ दशमलव तीन ओभरमा छ विकेट गुमाउँदै पूरा गर्यो । कुवेतका लागि उस्मान पटेलले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ३४ बलमा छ चौका र पाँच  छक्काको मद्दतले  सर्वाधिक ६४ रनको योगदान दिएका हुन् । 

त्यस्तै, कप्तान मोहम्मद अस्लामले अविजित ३६, डिजुर शिलीले २२ तथा बिलाल ताहिर र सायद मुनिबले समान १५–१५ रन जोडे । बलिङतर्फ बहराइनका अली दाउद र रिजवान बटले समान दुई–दुई विकेट लिए भने अब्दुल माजिदले एक विकेट लिए ।



त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५८ रनको योगफल तयार पारेको थियो । बहराइनका लागि इम्रान अनवरले सवाधिक ३७ रनको योगदान दिए । त्यस्तै इम्रान अली र कप्ताम उमर टुरले समान २२–२२, हैदर बटले १८, सोहिद अहमले १५ तथा जुनैद अजिज र साथैया वीरपाथिरानले समान ११–११ रन  बनाए ।

दुवै सेमिफाइनल खेल भोलि बिहान ११ः०० बजे सुरु हुनेछ । मूलपानी क्रिकेट मैदानमा नेपाल र युएईबीच हुनेछ भने ओमान र बहराइनबीचको अर्को सेमिफाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।  दुवै सेमिफाइन खेलका विजेता टोलीले आगामी सन् २०२४ मा हुने विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।



  • प्रकाशित मिति : कात्तिक १६, २०८० बिहीबार २०:२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया