अमेरिकाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले एमसिसी परियोजना समयमा नै सम्पन्न गरिने बताएका छन् ।
आज परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेञ्ज कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राईटबीच वासिङ्टन डिसीमा भएको भेटमा मन्त्री साउदले निर्धारित समयमा नै परियोजना पूरा हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । एमसिसी परियोजना पाँच वर्षमा नै सम्पन्न गर्ने विषयमा एमसिसीका अधिकारीसँग छलफल भएको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।
भेटमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशकुमार ढकाल, दूतावासका अधिकारीलगायत एमसिसीका उपाध्यक्ष जोनाथन ब्रुक्स, नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्सन उपस्थित थिए ।
गत भदौ १२ गतेदेखि कार्यान्वयन भएको उक्त परियोजनाअन्तर्गत नेपालको विद्युत् आपूर्ति र यातायात पूर्वाधार निर्माण गरिनेछ । ५० करोड अमेरिकी डलर अनुदानको उक्त आयोजनमा नेपाल सरकारले १३ करोड डलर योगदान गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।