logo-img

कोरोनामा बन्द फिल्म हल अझै खुलेनन्

कुनै समय उदयपुरको कटारीस्थित चन्द्र टाकिज हलमा फिल्म हेर्ने दर्शकको व्यवस्थापन गर्न हल सञ्चालकलाई हम्मेहम्मे पर्थ्यो । उदयपुरको पश्चिम क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका दर्शकहरुको यहाँ भीड लाग्ने गर्थ्यो ।

करिब तीन दशक यो हलले यस क्षेत्रमा निरन्तर मनोरञ्जन दिलाएको थियो । पछिल्लो समय कोभिड– १९ को सङ्क्रमणका कारण हल बन्द गर्नुपर्ने अवस्था आएपछि बन्द रहेको यो हल सञ्चालनमा आउन सकेको छैन । लामो समय कोरोनाका कारण बन्द भएपछि हल सञ्चालन गर्न नसकिएको हलका व्यवस्थापक उमेश कटुवाल बताउँछन् ।   

कोरोना सकिएपछि प्रेमगीत ३ चलचित्र सञ्चालन गरे पनि हल मर्मत गर्नुपर्ने अवस्था आएकाले पुनः सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । हल मर्मत गर्न आवश्यक रकमको अभावमा सञ्चालनमा ल्याउन नसकिएको कटुवालले बताए । हल सञ्चालक प्रयास कार्की हलमा लगानी गर्ने सोचमा छैनन् ।

कटारीको मात्रै होइन जिल्ला सदरमुकाम गाईघाटमा पनि अहिले हल चल्न नसकेको लामो समय भयो । कोरोनाकाल सम्म जेनतेन चलेको गाईघाटको फिल्म हल पनि त्यसपछि सञ्चालनमा आउन सकेको छैन । गाईघाटमा पनि तीन दशकअघिको शुभलक्ष्मी हल अहिले जीर्ण अवस्थामा पुगिसकेको छ । शुभलक्ष्मी हल कमजोर बनेको भन्दै गाईघाटमा खुलेको बाबारानी हल पनि कोरोना अघिदेखि नै बन्द छ । 

बाबारानीले हल हटाएर त्यस ठाउँमा अन्य व्यवसाय सुरु गरिसकेको छ । बाँकी एक मात्र शुभलक्ष्मी हलमा पनि लगानी गर्न नसकिने अवस्थामा पुगेको सञ्चालक जगदीश साह बताउँछन् । ‘लगानी गरेर के गर्ने हिन्दी फिल्म चलाउन महँगो पर्छ, नेपाली फिलिमले लगानी पनि उठाउँदैन’, उदयपुरका कलाकार मिथुन ठाकुर भन्छन्, ‘जिल्लामा राम्रो हल नहुँदा मनोरञ्जन क्षेत्र अगाडि बढ्न सकेको छैन ।’

जिल्लाको पूर्वी क्षेत्रमा अहिलेसम्म कुनै हल नै सञ्चालनमा आउन सकेको छैन । पछिल्लो समय प्रविधिका कारण मोबाइलबाट नै मनोरञ्जन प्राप्त हुने हुँदा हलमा लगानी गर्नसक्ने अवस्था नरहेको व्यवसायी बताउँछन् । रासस  





  • प्रकाशित मिति : कात्तिक २०, २०८० साेमबार १२:१९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया