logo-img

रामेछापको सामूहिक घरबास प्रयोगविहीन

रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खामा निर्माण गरिएको सामूहिक होमस्टे अझै पनि सञ्चालनमा आउन सकेको छैन ।  

व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका कारण होमस्टे डेढ वर्षदेखि सञ्चालनमा आउन नसकेको हो । रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खामा माझी समुदायलाई लक्ष्य गरी निर्माण गरिएको सामूहिक होमस्टे सरकारको लापरबाहीका कारण डेढ वर्ष बितिसक्दा पनि  प्रयोगविहीन भएको हो । 
 
बागमती प्रदेश सरकारले कृषि पर्यटन कार्यक्रमअन्तर्गत डप्खाको माझी समुदायमा सामूहिक होमस्टे भन्दै ४२ वटा घर निर्माण गरेको थियो । जग्गा यकिन नगरी संरचना निर्माण गरिँदा कतिपय एउटै घर दुई व्यक्तिको जग्गामा परेको छ भने कतिपय एउटै व्यक्तिको जग्गामा तीन वटासमेत घर बनेकाले कसको जग्गामा कति वटा घर बने भन्नेसमेत यकिन छैन । 

सीमित व्यक्तिका जग्गामा घर बनेकाले जग्गा नभएका व्यक्तिले घर उपयोग गर्न पाउने कि नपाउने भन्ने आफू आफूमै अन्यौल भएका कारण यो घरबास सञ्चालनमा आउन नसकेको स्थानीय चन्द्रबहादुर माझीले बताए । 



सरकारलाई विश्वास गरेर आफ्नो जग्गामा सामूहिक होमस्टे निर्माणका लागि जग्गा दिएका स्थानीयवासी अहिले पछुताइरहेका छन् । होमस्टे सञ्चालनमा आउन नसक्दा सरकारको करोडौँ रुपैयाँ बालुवामा पानी हालेझै भएको छ । जग्गा विवाद नमिली होमस्टे सञ्चालन हुन नदिने स्थानीय नरबहादुर माझीले उल्लेख गरे । 

उत्पन्न जग्गा विवाद तथा भवन उपयोगसम्बन्धी विवाद  स्थानीय सरकारले समाधान गर्नसक्ने अवस्था नरहेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । बागमती प्रदेश सरकारको दुई करोड रुपैयाँ र खाँडादेवी गाउँपालिकाको ७५ लाख गरी कूल दुई करोड ७५ लाख रुपैयाँको लागतमा उक्त सामूहिक होमस्टे निर्माण गरिएको थियो । ​ 





  • प्रकाशित मिति : कात्तिक २४, २०८० शुक्रबार १४:४४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया