भूकम्पपीडित नौ सय परिवारलाई भरतपुर महानगरको राहत सामग्री

भरतपुर महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपूर्व पुगेर नौ सय परिवारलाई राहत वितरण गरेको छ ।

स्थलगत रूपमा मृतकका परिवारलाई समवेदना र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै स्थानीय पालिकामार्फत राहत वितरण गरिएको हो । महानगरपालिकाका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीलाई महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले खाद्यान्न र लत्ताकपडा हस्तान्तरण गरेका थिए । 

यसैगरी जाजरकोटको नलगढा नगरपालिकाका प्रमुख डम्बरबहादुर रावललाई खाद्यान्न र लत्ताकपडा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टलाई खाद्यान्न र लत्ताकपडा र जाजरकोटको भेरी नगरपालिकाका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारमार्फत दुई सय बोरा राहत सामग्री हस्तान्तरण गरिएको हो । 

ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको छ । एक परिवारलाई २५ किलो चामल, पाँच किलो दाल र एउटा ठूलो ब्ल्यांकेट वितरण गरिएको हो । अधिकारीका अनुसार महानगरपालिकाले ४० लाख हाराहारीको राहत सामग्री वितरण गरेको छ ।
 
सो क्रममा महानगर प्रमुख दाहालले दुःख साट्न भरतपुर महानगरको टोली स्थलगत रूपमा आएको भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा महानगरका तर्फबाट एक करोड दिइने बताइन् । 

स्थलगतरूपमा प्रभावित क्षेत्रमा पुगेकी दाहालले मृतकका परिवारलाई भेट गरेकी थिइन् । यसैगरी घाइतेलाई समेत उनको समूहले भेट गरेको थियो ।

विपद्मा सबैको साथ र सहयोग आवश्यक पर्ने भन्दै पालिकामार्फत प्रभावितसम्म पुग्ने प्रयास भरतपुर महानगरले गरेको उपप्रमुख चित्रसेन अधिकारीले बताए । महानगरका प्रमुख प्रशासकीय अधिकृत रानाले यो सहयोगले केही हदसम्म प्रभावितलाई राहत मिल्ने बताए ।





  • प्रकाशित मिति : कात्तिक २५, २०८० शनिबार २२:४३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया