खाद्यान्नको ‘रानी’ बाली मकै : सम्भावना निर्यातको, तर आयातमै निर्भर

कृषि प्रधान देश नेपाल मकैमा पनि परनिर्भर छ । खाद्यान्नको रानी बाली मकै उत्पादन भए पनि माग पुरा नहुँदा वार्षिक करोडौँको मकै आयात गर्नुपर्ने वाध्यता छ । अझ यो क्रम बर्सेनि बढिरहेको सरकारी तथ्याङ्कले देखाउँछ । 

बर्सेनि २० अर्ब बराबरको मकै भारत, अर्जेन्टिना, ब्राजिल, चीन, क्यानडा, इन्डोनेसिया, साउथ अफ्रिका, टर्की, अमेरिकालगायत देशबाट आयात हुने गरेको छ । मकै बाली सबैभन्दा धेरै उत्पादन लिन सकिने बाली भए पनि नेपाल उत्पादनमा चुकिरहेको छ । 

मकै आयातको कहाली लाग्दो अवस्था

नेपालभित्रै उत्पादन गर्न सकिने मकै ठूलो परिमाणमा विदेशबाट आयात हुने गरेको छ । कृषिप्रधान देशमा मकै उत्पादन गर्ने पर्याप्त सम्भावना हुँदा हुँदै पनि उत्पादन बढाउन नसक्दा ठूलो परिणाममा आयात हुने गरेको हो । पछिल्लो समय अरबौँ रुपैयाँको मकै आयात हुने गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । 

आर्थिक वर्ष २०७९–०८० मा १७ अर्ब १७ करोड ३६ लाख १५ हजार रुपैयाँ मूल्य बराबरको मकै ४३ करोड ८८ लाख ७३ हजार ५८६ केजी आयात भएको थियो । यस्तै, आर्थिक वर्ष २०७८–०७९ मा १९ अर्ब ६४ करोड ९६ लाख २५ हजार रुपैयाँ बराबरको ५३ करोड ९६ लाख ९४ हजार ६८२ केजी मकै आयात हुँदा आर्थिक वर्ष २०७७–०७८ मा १६ अर्ब २ करोड ४ लाख ३४ हजार मूल्य बराबरको ५९ करोड ०९ लाख ४१ हजार ५०५ केजी मकै आयात भएको थियो । 

यसैबीच, आर्थिक वर्ष २०७६–०७७ मा १४ अर्ब ७५ करोड ३० लाख ४७ हजारको ४४ करोड ८४ लाख ४२ हजार ५१३ केजी मकै आयात भएको भन्सार विभागले जनाएको छ ।  विभागका अनुसार आर्थिक वर्ष २०७५–०७६ मा भने १२ अर्ब ९४ करोड ७० लाख ९४ हजार रुपैयाँ बराबरको ४२ करोड ०७ लाख ५२ हजार ५४४ केजी मकै आयात भएको थियो । 



मकै पोल्टी फर्मका लागि बढी प्रयोग हुने गर्छ । दानासँगै मकैको पिठो, कर्न फ्लेक्स, मकैको पाउडरलगायत अन्य पदार्थ अझै ठूलो परिमाणममा आउने गर्छ । मकै नेपालको प्रमुख खाद्यान्न बाली धानपछि दोस्रोमा आउँछ । वर्षेनि मकैको आयात बढ्दो क्रममा रहेको छ । बजारमा खपत बढ्दै गएपछि आयात पनि बढ्दै गएको हो । मकै मात्र नभएर नेपालमै पर्याप्त उत्पादन गर्न सकिने सम्भावना धेरै कृषि उत्पादन बाहिरी मुलुकबाट आयात हुने गर्छ । 



हेरौं, कृषिप्रधान देशमा मकै उत्पादनको अवस्था 

आर्थिक वर्ष २०७८/०७९ मा कृषि मन्त्रालयले ३१ लाख ६ हजार मेट्रिक टन मकै उत्पादन भएको जनाएको छ । यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ९,७९,७७६ हेक्टर जमिनमा २९ लाख ९७ हजार ७३३ मेट्रिक टन मकै उत्पादन भएको थियो।

आर्थिक वर्ष २०७६/०७७ मान ९५७६५० हेक्टर जमिनमा २८ लाख ३५ हजार ६७४ मेट्रिक टन मकै फलेको थियो । आर्थिक वर्ष २०७५/०७६ मा ९,५६,४४७ हेक्टर जमिनमा २७ लाख १३ हजार ६३५ मेट्रिक टन मकै फलेको कृषि मन्त्रालयले जनाएको छ ।

उत्पादनको सम्भावना प्रचुर

मकै विश्वका तेस्रो र नेपालको दोस्रो मुख्य खाद्यान्न बाली हो । यसबाट राम्रो उत्पादन लिन सकिने मकै बाली विज्ञ निर्मल गदाल बताउँछन् । उनका अनुसार अन्नबालीहरूमध्ये मकैले सबैभन्दा बढी उब्जनी दिन्छ । यसको अधिकतम उत्पादन १९ टन प्रतिहेक्टर तथा औसत उत्पादन ६ टन प्रतिहेक्टर छ । मकै हिउँदे, बसन्ते र वर्षे गरी तीन सिजन नै बाली लगाउन सकिन्छ । 

‘संसारभर नै मकै अथाह उत्पादन दिन सक्ने बालीको रूपमा परिचित छ,’ उनी भन्छन्, ‘मकै बाली मात्र यस्तो बाली हो, जसले वर्षमा तीन सिजन नै राम्रो उत्पादन दिन्छ । मकै बेँसी खेतमा हिउँदे तथा बसन्ते मकै तथा बारीमा वर्षे मकै खेती गरिन्छ । यसरी लगाउँदा हिउँदमा भाद्र महिनाको अन्तसम्म बसन्तेमा फागुन देखि चैत्र सम्म र वर्षामा वैशाख देखि जेठ महिनामा मकै लगाएर राम्रो उत्पादन लिन सकिन्छ ।’

हिउँदे तथा बसन्ते मकैको उत्पादन वर्षा याममा भन्दा लगभग २ देखि ३ गुणा बढी फल्ने, रोग कीरा कम लाग्ने, साथै मकैमा चिस्यान कम हुने भएकोले यसको गुणस्तर राम्रो हुने उनी बताउँछन् । तर, नेपाल दक्षिण एसियाकै कम उत्पादकत्व भएको देश हो । हाल मकैको उत्पादकत्व २.९ प्रतिहेक्टर छ । 

राज्यको लगानी बालुवामा पानी !

सरकारले मकैको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने योजना नल्याएको भने होइन । तर, सरकारको लगानी बालुवामा पानी मिसाए सरह भएको छ । मकै खेतीका लागि बनेका नीति कागजमा सीमित हुँदा आयातमा निर्भर भएको मकै बाली विज्ञ गदाल बताउँछन् । केही वर्ष अघि सरकारले अभियानमुखी मकै कार्यक्रम (मिसन मेज) संचालन गरेको थियो । 

आर्थिक वर्ष २०६४/६५ मा काभ्रे, चितवन, रौतहट, बारा, सुनसरी, सर्लाही, नवलपरासी, रुपन्देही र दाङ गरी ९ जिल्लामा यो कार्यक्रम सञ्चालित थियो । तर, सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि (मेज) मकै मिसन कार्यक्रम खारेज गर्ने निर्णय गर्‍यो । 

मकैको आयात दर प्रतिस्थापनमा कार्यक्रमले भूमिका खेल्न नसकेको भन्दै सरकारले उक्त कार्यक्रम खारेज गर्ने निर्णय गरेको थियो । उक्त कार्यक्रममा  करोड रुपैयाँ लगानी भए पनि कार्यक्रमबाट के उपलब्धि भए र के–के समस्याहरू आए भनेर कतै अभिलेखीकरण भएको पाइँदैन । 

बझाङको दुर्गाथली-३ बिजाडाका स्थानीयले मकैलाई सुकाउन रुखमा राखेको दृश्य । तस्बिर : दलबहादुर धामीबाट

यस्तै, सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत तीन वर्षभित्र प्रमुख खाद्यान्न बालीमध्येको मकैमा आत्मनिर्भर हुने उल्लेख गरेको छ । आव ०७३/७४ बाट सुरु भएको यो कार्यक्रम अन्तर्गत दाङ जिल्लामा मकै सुपर जोन र सिन्धुपाल्चोक, धादिङ, खोटाङ, झापा, पर्वत, गुल्मी, बाँके, बैतडीलगायतका जिल्लामा मकै जोन कार्यक्रम लागू भएको छ । कार्यक्रम सुरु भएका तीन वर्ष बितिसक्दासमेत अझै मकैमा आत्मनिर्भर हुन सकेको छैन । 

उता, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले पनि आव ०७६/७७ देखि दानाको आयात प्रतिस्थापनका लागि मकै उत्पादन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको थियो । सुरु वर्षमा ६ हजार हेक्टर क्षेत्रफलमा मकै लगाउन सहयोग गर्ने लक्ष्यले थालिएको यो कार्यक्रम आगामी चार वर्षसम्म १० हजार हेक्टरमा कायम गरिने उल्लेख छ । तर कार्यक्रमको योगदान र मकै उत्पादन वृद्धि खासै देखिँदैन । 

कसरी बन्ने त मकैमा आत्मनिर्भर ?

नेपाल कुखुराको मासु र अण्डा उत्पादनमा आत्मनिर्भर हुँदै गर्दा कुखुरा दाना बनाउन प्रयोग हुने मकैको खपत बढेकाले आयात पनि बढेको मकै बाली विज्ञ गदाल बताउँछन् । उनका अनुसार मानिसका लागि मात्र भन्दा पनि गाईबस्तु तथा पशुपंछीका लागि पनि वर्षेनी ठूलो परिमाणमा मकै आयात भइरहेको छ । 

हाल ७० प्रतिशत खाद्यान्नमा मकैको प्रयोग भइरहेको छ भने ३० प्रतिशत दाना उद्योगमा प्रयोग भइरहेको छ । मकै कुखुराको दानाका लागि आवश्यक पर्ने कच्चापदार्थ हो । कुखुराको उमेरअनुसार दानामा ६० प्रतिशतसम्म मकै हाल्नुपर्ने हुन्छ । नेपालमा बर्सेनी कुखुराको दानाको माग ११ प्रतिशतका दरले वृद्धि भइरहेकोले पनि आयातको ग्राफ बढेको उनको तर्क छ । 

नेपाल दाना उद्योग संघका अनुसार हाल देशमा एक सय पाँचभन्दा बढी दाना उद्योग छन् । नेपालको पोल्ट्री क्षेत्रले मात्र वार्षिक ६ लाख टनभन्दा बढी मकै खपत गर्दै आएको उनी बताउँछन् । त्यस कारण यो आयातलाई घटाउन उत्पादनमै जोड दिनुपर्ने उनको तर्क छ ।

‘अहिले नेपालमा जति मकै आयात भइरहेको छ त्यो धेरै होइन । यसलाई रोक्न सरकारले उत्पादनमा जोड दियो भने सहजै हामी आत्मनिर्भर बन्न सक्छौँ,’ उनी उदाहरण दिँदै भन्छन्, ‘सार्क मुलुक श्रीलंकाको पोल्ट्री उद्योग केही वर्ष अघिसम्म शतप्रतिशत भारतीय मकैमा निर्भर थियो । अहिले श्रीलंका मकै उत्पादनमा आत्मनिर्भर भएर निर्यात गर्ने योजनामा छ । त्यहाँ सरकारी, निजी क्षेत्र र किसानको संयुक्त प्रयासले यो सम्भव भएको बताइन्छ । नेपालको भन्दा उत्पादकत्व कम भएको बंगलादेशले २.२ टन प्रतिहेक्टरबाट बढाएर ६ मेट्रिक टन उत्पादकत्व पुर्‍याएको छ । बंगलादेशले सकने नेपालले नसक्ने भन्ने त हुँदैन नी ।’ 

निर्मल गदाल / मकै बाली विज्ञ

सरकारले मकैको बिउ उत्पादन, यान्त्रिकीकरण, हाइ्ब्रिड बिउ र दक्ष जनशक्तिको व्यवस्थापन गर्न सके देश सहजै मकैमा आत्मनिर्भर बन्ने उनको तर्क छ । साथै जनसङ्ख्या वृद्धि, जमिन खण्डीकरण, मकैमा लाग्ने रोग/किराको प्रकोपका कारणले जति मात्रामा उत्पादन हुनुपर्ने त्यो नभएको उनी बताउँछन् । यसका अलावा माटोको उर्वराशक्तिमा कमी हुँदै जानु, बाढी, पहिरोले जमिनको क्षति हुनु, सिँचाइको अभावजस्ता विभिन्न कारणले मकै उत्पादनमा असर परेको छ । 

मकैको उत्पादन र उत्पादकत्व बढाउन परम्परागत बिउभन्दा उन्नत जातका बिउको प्रयोग गर्नुका साथै किसानहरूले पनि परम्परागत खेती प्रणालीलाई छाडेर वैज्ञानिक रूपमा खेती गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ । 

‘राज्यसँग कृषिको नीति कमजोर छ, जसले गर्दा उत्पादन बढाउन नसकिएको हो,’ उनी भन्छन्, ‘त्यसैले अन्नबालीको उत्पादन बढाउने हो भने विज्ञ र सरोकारवालासँग सल्लाह लिएर किसानमुखी नीति बनाउनुपर्छ । किसानलाई मल, बिउ, यन्त्र खरिद, सिँचाइ, विषादी समयमा सहुलियत दरमा उपलब्ध गराउनु पर्‍यो ।’

त्यस्तै, कृषि प्राविधिक खटाएर किसानलाई बाली लगाउने, मल खाद, बिउको प्रयोग लगायतको विषयमा तालिम दिने व्यवस्था पनि गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । साथै, मकै उत्पादनलाई बढाउन युवा शक्तिलाई कृषिमा आकर्षण गराउनुपर्ने उनी बताउँछन् । 

  • प्रकाशित मिति : मंसिर २, २०८० शनिबार १०:२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया