सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्रीलाई विप्लवको चेतावनी

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको मुख थुनेर सत्ता नटिक्ने बताएका हुन् । सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको उनको भनाइ छ । 

 ‘अहिले बजारमा हल्ला छ, २०४७ सालको संविधान फर्किन्छ, देशमा राजतन्त्र आइहाल्छ । होइन । हिन्दुजम फेरि आउँछ, संघीयता समाप्त हुन्छ, २०४७ साल ल्याउनुपर्छ, हल्ला चलेको छ । मान्छेहरू कामेका पनि छन्,’ उनले भने, ‘फेसबुक बन्द गरेर, लेख्न नदिएर, पत्रिका बन्द गरेर यो त निरंकुश व्यवस्थाको चरित्र हो नि त । हिजो पेपर बन्द गरिदिन्थ्यो । पञ्चायतले सेन्सर गर्दथ्यो, आफूले भनेअनुसार लेख, नत्र पाइँदैन भनेजस्तो ।’ 

कैयौँ मानिसहरू आत्तिएको जस्तो, सत्ता पनि डगमगाएको जस्तो लागेको उल्लेख गर्दै उनले भने, ‘जनताको मन जितेर पो सत्ता टिक्छ त । मान्छेको मुख बन्द गरेर सत्ता टिक्छ र ? जनतालाई असन्तुष्ट हुन दिने अनि सत्ता टिकाउँछु, भनेर हुन्छ त कसैले पनि सक्दैन । जुनसुकै शासकले त्यसरी सोच्छ भने त्यसको अन्त्य हुन्छ । आत्तिनुपर्दैन ।’

देश बचाउने जिम्मा अरूले नलिने भए नेपाल कम्युनिस्ट पार्टीले लिने दाबी गर्दै महासचिव चन्दले अब राजतन्त्र फर्किने कुरा सम्भव नरहेको बताए । सम्पूर्ण कम्युनिस्टहरू एक ठाउँमा उभिनुपर्नेमा उनको जोड छ । 





  • प्रकाशित मिति : मंसिर २, २०८० शनिबार १७:५४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया