logo-img

दुर्गा प्रसाईंको अभियान महेश बस्नेतसँगको व्यक्तिगत टकराव कि सम्पूर्ण दलहरूलाई दबाब ?

पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छाइरहेको नाम हो, दुर्गा प्रसाईं । नेकपा माओवादी, नेकपा एमाले हुँदै पछिल्लो समय आफ्नै अगुवाइमा अभियान सञ्चालन गर्दै आएका प्रसाईंका केही विवादित मुद्दाबाहेक धेरैजसो एजेण्डा सकारात्मक छन् । त्यही कारण हुन सक्छ, एक व्यक्तिले सञ्चालन गरेको अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा आमसर्वसाधारणले साथ दिइरहेको देखिन्छ । 

कतिपयले उनको अभियानलाई बैंकको ऋण तिर्न नसकेपछिको छटपटाहटको संज्ञा दिएका छन् भने कतिपयले एमालेको कारबाहीमा परेपछिको प्रतिशोधका रूपमा पनि टिप्पणी गरेको पाइन्छ । तर, उनको पछाडि लागेको जनमानसको भिडले भने दलहरूलाई सोच्न बाध्य बनाएको छ । 

बी एन्ड सी मेडिकल कलेज र अस्पतालका मालिक प्रसाईं एक वर्षअघिसम्म नेपालको दोस्रो ठूलो राजनीतिक दल नेकपा एमालेका केन्द्रीय सदस्य थिए । राजावादी अभियानमा लागेपछि एमालेले उनलाई पार्टीको नीति विपरीत गतिविधिमा संलग्न भएको भन्दै केन्द्रीय सदस्यबाट हटाइएको थियो । तर, प्रसाईं स्वयंले भने झापामा पूर्वराजाको अभिनन्दन एमाले अध्यक्ष केपी ओलीकै सल्लाहमा गरेको दाबी गर्दै आएका छन् । 

पछिल्लो समय प्रसाईं कुनै पार्टीमा पनि संलग्न छैनन्, तर पनि उनी एक्लैले ठूलो जनमानसलाई प्रभावित पारेका छन् । नेकपा एमालेसँग प्रसाईंको सम्बन्ध तीक्ततापूर्ण छ । विषेशगरी उनको महेश बस्नेतसँग राम्रो सम्बन्ध नरहेको देखिन्छ । प्रसाईं र बस्नेत पछिल्ला केही महिनादेखि एक अर्कासँग सिंगौरी खेल्दै आएका छन् । 

प्रसाईंले आगामी मंसिर ७ मा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ आयोजना गर्ने घोषणा गरेसँगै महेश बस्नेतले पनि प्रसाईसँग जुहारी खेल्दै सोही दिन ‘महँगी, भ्रष्टाचार, अपराध र अराजकताविरुद्ध विशेष कार्यक्रम’ आयोजना गर्ने घोषणा गरे, युवा संघको ब्यानरमा । माइतिघर मण्डलामा हुने भनिएको दुर्गा प्रसाईंको प्रदर्शन अब सो स्थानमा नहुने भएको छ । सरकारले माइतिघरमण्डलामा निषेधाज्ञा जारी गरेपछि प्रसाईं वैकल्पिक स्थानको खोजीमा छन् । 

महेश बस्नेतको अगुवाइमा युवा संघले पनि सोही दिन माइतीघरमै प्रदर्शन गर्ने निर्णय गरेको थियो । सो स्थानमा उनले पनि प्रदर्शन गर्न नपाउने भएका छन् । यसको संकेत एमले अध्यक्ष केपी ओलीले तीन दिनअघि नै गरेका थिए । च्यासलमा आयोजित एक कार्यक्रममा उनले माइतीघरको साटो रत्नपार्कम पनि कार्यक्रम हुन सक्ने बताएका थिए ।  



दुर्गाप्रसाईंलाई कुनै पार्टीको साथ नभए पनि सर्वसाधारणले देखाएको सहानुभूतिलाई कम आँक्न मिल्दैन । बरु, विशाल संरचना भएको एमालेको पक्षमा जुन किसिमको जनसर्मथन देखिनुपर्ने हो, त्यति देखिएको छैन । किनकि एमालेको कार्यक्रम स्वःस्फूर्त नभएर प्रसाईंको अभियान बिथोल्ने मनशायले मात्रै आयोजना भएको हो भन्ने घामजस्तै छर्लंग छ । 

दुर्गा प्रसाईंको अभियानप्रति जनताको आकर्षण देख्दा साँच्चै पार्टीहरूबाट जनताले आश मारेर अब एक्लो मान्छेको पछि लाग्न थालेका त होइनन् भन्ने आशंका जन्माएको छ । जनता दलहरूसँग यति आजित भएका छन् कि आफ्ना मुद्दा जसले बोक्छ उसकै पछाडि दौडन थालेका छन् । त्यसैले प्रसाईंको अभियानलाई दलहरूलाई सच्चिनका लागि अन्तिम चेतावनीका रुपमा लिन सकिन्छ । 



  • प्रकाशित मिति : मंसिर ४, २०८० साेमबार १७:१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया