इजरायलद्वारा अल–शिफा अस्पतालका निर्देशक पक्राउ

गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफाका निर्देशक र अन्य केही स्वास्थ्यकर्मीलाई इजरायली सेनाले बिहीबार पक्राउ गरेको अस्पताल स्रोतले बताएको छ । 

एक चिकित्सकले एएफपीलाई दिएको जानकारी अनुसार अस्पतालका निर्देशक तथा वरिष्ठ चिकित्सक मोहम्मद अबु सालमिया र अन्य केही वरिष्ठ स्वास्थ्यकर्मीलाई पक्राउ गरिएको हो ।

अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको आक्रमणपछि इजरायली भूमि आक्रमणको मुख्य केन्द्र रहेको अल–शिफाभित्रको अवस्थाबारे निर्देशक मोहम्मद अबु सालमियालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बारम्बार उद्धृत गर्दै आएका छन् ।

गत हप्ता अस्पतालमा छापा मारेको इजरायली सेनाले हमासका लडाकुहरूले गाजा सिटीमा रहेको अस्पतालको सुरुङ परिसरको प्रयोग गरी आक्रमण गरेको आरोप लगाएको छ ।

हमास र अस्पतालका अधिकारीहरूले पटक–पटक उक्त दाबीको खण्डन गर्दै आएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताएअनुसार अन्य एक चिकित्सक र दुई नर्स तथा अस्पतालका निर्देशकलाई हिरासतमा लिइएको छ ।



हमासले एक विज्ञप्ति जारी गर्दै सालमिया र उनका सहकर्मीहरूको गिरफ्तारीको कडा शब्दमा भत्र्सना गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय समिति र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई उनीहरूको ‘तत्काल रिहाई’ का लागि काम गर्न आह्वान गरेको छ ।

शनिबार अस्पताल खाली गर्न निर्देशन जारी गरिएपछि सयौं बिरामीहरू अस्पतालबाट विस्थापित भई प्यालेस्टाइनी क्षेत्रको कथित सुरक्षित दक्षिणमा गएका थिए ।



सालमियाले गत साता एएफपीसँग कुरा गर्दै इजरायली सेनाबाट पहिलो पटक दिइएको निर्देशन आफुले अस्वीकार गरेपछि फेरि दोहोराएर आफूलाई अस्पताल खाली गर्न निर्देशन प्राप्त भएको बताएका थिए । 
 
तर, इजरायली सेनाले भने सालमियाको ‘अनुरोध’मा उद्धार गरिएको जनाएको छ ।

इजरायली सेनाले सालमिया र एक वरिष्ठ इजरायली अधिकारीबीच भएको कुराकानीको रूपमा प्रस्तुत गरिएको अडियो रेकर्डिङ जारी गरेको छ जसमा दुई व्यक्तिले एकअर्कालाई उद्धारका लागि दोषारोपण गरेका छन् ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पिआरसिएस)ले बिहीबार संयुक्त राष्ट्रसंघसँग मिलेर थप १९० जना घाइते र बिरामी, उनीहरूका साथी र स्वास्थ्यकर्मीलाई अल–शिफाबाट गाजा पट्टीको दक्षिणमा रहेका अन्य अस्पतालमा स्थानान्तरण गरेको जनाएको छ ।

उत्तरी र दक्षिणी गाजालाई छुट्याउने सुरक्षा जाँच केन्द्रमा भएको ढिलाइका कारण करिब २० घण्टा लगाएर अस्पताललाई खाली गरिएको प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीद्वारा सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत् जारी सार्वजनिक सन्देशमा जनाइएको छ ।  

बुधबार इजरायली सेनाले पत्रकारहरूलाई अस्पताल परिसरमा रहेको सुरुङमा लगी यसलाई हमासले प्रयोग गरेको विशाल भूमिगत नेटवर्कको हिस्सा बताएको थियो ।

इजरायली अधिकारीहरूले हमासले वर्षौंदेखि अस्पतालमुनिको सुरुङमा कमान्ड सेन्टर सञ्चालन गरेको दाबी गरेका छन् ।

गाजा पट्टीमा लडाकूविरुद्धको युद्धको एक भागको रूपमा अल–शिफा अस्पताल गाजामा विस्तारित इजरायली विशेष सेनाको कारबाहीको भाग भएको सेनाले बताएको छ ।

सेनाका अनुसार हमासको नियन्त्रणमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले इजरायलद्वारा अक्टोबर ७ पछि गाजामा गरेको स्थल तथा हवाई आक्रमणमा १४ हजारभन्दा बढी व्यक्तिहरू मारिएको बताएको छ । मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

अक्टोबर ७ मा हमासले सीमापारि इजरायली क्षेत्रमा एक्कासी आक्रमण गरेपछि यो घटना भएको हो । इजरायली अधिकारीहरूका अनुसार करिब एक हजार २०० जनाको मृत्यु भएको छ भने करिब २४० जनालाई बन्धक बनाइएको छ ।

  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार २१:३२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया