इजरायल हमास युद्ध : बन्धक रिहाइ आजदेखि

इजरायल र हमासबीच भएको सम्झौतापछि शुक्रबारदेखि बन्धकहरूको रिहाइ सुरु हुने भएको छ । इजरायलले ती बन्धकहरूको सूची पनि प्राप्त गरेको छ जसलाई पहिले रिहा गरिनेछ । इजरायली प्रधानमन्त्रीको कार्यालयले पनि अपहरण गरिएका व्यक्तिहरूको नामको पहिलो सूची प्राप्त गरेको जनाएको छ ।

शुक्रबार बिहान ७ बजेदेखि दुवै पक्षले लडाइ बन्द गर्ने बताइएको छ । यसपछि अपराह्न ४ बजे बन्धकहरूलाई इजरायलको जिम्मा लगाइनेछ । गाजामा इन्धन र मानवीय आपूर्ति पनि शुक्रबार तीव्र हुनेछ ।

इजरायली प्रधानमन्त्री कार्यालयका बन्धक र बेपत्ता व्यक्तिहरूको संयोजक गल हिर्सले भने, ‘सरकारले पहिलो सूचीमा समावेश गरिएका बन्धकहरूको परिवारलाई सूचित गरेको छ । जो शुक्रबार फर्कने अपेक्षा गरिएको छ । सूचीमा परेका व्यक्तिका आफन्तको नाम पनि अद्यावधिक गरिएको छ ।’ 

हमास र इजरायलबीच मध्यस्थकर्ताको भूमिका निभाउँदै आएको कतारले बिहीबार गाजामा युद्ध विराम गर्न दुवै पक्ष सहमत भएको र शुक्रबार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि औपचारिक रूपमा लागू हुने जानकारी दिएको थियो । 

गत साता कतार र अमेरिकासँग मिलेर इजरायल–हमास युद्ध विराममा मध्यस्थता गर्ने इजिप्टले युद्ध विराम सम्झौतालाई अनुमोदन गरेको थियो । इजिप्टको राज्य सूचना सेवाका प्रमुख दिया रश्वानले आफ्नो देशले गाजामा बन्धक र इजरायली जेलमा रहेका प्यालेस्टाइनी कैदीहरूको दुई सम्बन्धित सूची प्राप्त गरेको बताइन् जुन शुक्रबार रिहा हुनेछन् ।

हमासले पनि युद्ध विराम शुक्रबार बिहानदेखि लागू हुने र चार दिनसम्म रहने जनाएको छ । चार दिनमा हमासले ५० जना बन्धकहरूलाई रिहा गर्नेछ । आदानप्रदान सम्झौता अन्तर्गत, इजरायलले बन्धकको सट्टामा आफ्नो जेलमा रहेका तीन प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ । यस्तो अवस्थामा ५० जना इजरायली बन्धकको बदलामा जम्मा १५० प्यालेस्टिनीलाई रिहा गरिने छ । 



लडाइँ रोक्न र बन्धकहरूलाई रिहा गर्नुबाहेक, यो सम्झौतामा मानवीय सहायताको पनि उल्लेख छ । युद्ध विरामको क्रममा गाजामा मानवीय सहायता पुर्‍याउने स्वतन्त्रता पनि हुनेछ । विशेष गरी आधारभूत आवश्यकता र इन्धन गाजामा पठाउन सकिन्छ । डेढ महिनादेखि जारी युद्धका कारण गाजामा आधारभूत सामानको चरम अभाव भएको छ । 



  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार १०:४९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया