सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’

बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साँफेबगरकी रोजी कुँवर यति बेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने सांगीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त छन् ।

सुदूरपश्चिमको युवापुस्ताका कलाकारमा चल्तीकी नृत्याङ्गना रोजीले २०७३ सालमा ‘सुदूरपश्चिम मेरा ढकमक्क फूली’को देउडा गीतबाट कला क्षेत्रमा डेब्यु गरेकी थिइन् ।  उनले सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर एक सयभन्दा बढी देउडा तथा अन्य गीतमा अभिनय गरिसकेको बताइन् ।

‘अछामबाट अध्ययनका लागि काठमाडौं पुग्दासम्म नृत्यलाई पछ्याइरहेँ’, देउडा गीत छायाँकनका क्रममा महेन्द्रनगरमा भेटिएकी रोजीले भनिन्, ‘ सानै देखिको चाहना नै कलाकारितामा जम्ने थियो सोहीअनुसार अगाडि बढ्दै छु ।’ सुदूर र कर्णालीका जिल्लामा गाइने प्रचलित गीत देउडालगायत यहाँका लोकसंस्कृति झल्किने मौलिक गीतहरूको म्युजिक भिडियो बन्ने क्रम विगतभन्दा अधिक छ ।

पुराना पुस्ताका देउडा गायकदेखि अहिले युवा पुस्ताका कलाकार गीत–संगीतका माध्यमबाट सुदूरपश्चिमको देउडा संस्कृति प्रवर्द्धन गर्न सक्रिय रहेको उनको भनाइ छ । ‘यहाँको लोक, देउडा संस्कृतिबारे कलाकारिताका माध्यमबाट युवा पुस्तासित नजिक गराउने काममा यहाँका सबै कलाकारको अहम् भूमिका छ’, उनले भनिन्, ‘देउडा सबैतिर खेलिने र चर्चित क्रम बढ्दै छ ।’

अर्थशास्त्र विषयमा स्नातकोत्तर अध्ययनरत रोजी अध्ययनमा पनि अब्बल विद्यार्थी हुन् । ‘स्कुलमा कुनै कार्यक्रम भयो कि मेरो खोजी भइहाल्थ्यो’, उनले भनिन्, ‘कलाकारितामा अछामबाट त्यो बेला अगाडि आउनु सामाजिकरूपले पनि ठूलो चुनौती थियो ।’

आफ्नो नृत्य र अभिनयप्रतिको रुचि र बुवा–आमाको प्रेरणाले नै यो क्षेत्रमा आएको उनको भनाइ छ । विगत चार वर्षयता ‘स्टेज’ कार्यक्रममा समेत सहभागी हुन थालेपछि अहिले उनको माग मुलुकभित्रका साथै भारतका विभिन्न सहरमा समेत बढ्दै गएको छ ।



काठमाडौंको प्रसिद्धि कला समूहमा नृत्य प्रशिक्षण लिएकी रोजी अहिले सोही कला केन्द्रमा बालबालिकालाई नृत्यसमेत सिकाउने गरेको बताउँछिन् । सुदूरपश्चिमको देउडालाई पाका पुस्ताले यहाँसम्म पुर्‍याएको उनको भनाइ छ । देउडा नयाँ पुस्ता पनि त्यत्तिकै लोकप्रिय बन्दै गएको जनाउँदै उनले कला, संस्कृतिको संरक्षणमा राज्यबाट पनि अभिभावकत्व चाहिनेमा जोड दिइन् ।  



  • प्रकाशित मिति : मंसिर ११, २०८० साेमबार ११:२३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया