एआई दुरुपयोग : विज्ञानकाे वरदान अभिशाप बन्ने खतरा

विज्ञान वरदान कि अभिशाप ? भन्ने प्रश्नले पछिल्लो समय धेरैको ध्यान आकर्षण गरेको छ । हरेक विषयको सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । सदुपयोग गर्न जान्यो भने विषलाई अमृतका रूपमा प्रयोग गर्न सकिन्छ भने अमृतलाई पनि दुरुपयोग गरेमा त्यो विषभन्दा घातक बन्न पुग्छ । 

आजभोलि विज्ञान र प्रविधिले जनमानसमा त्रास फैलाउँदै आएको भेटिन्छ । सिकारीले चारो थापेर पशुपन्छीको ज्यान लिएझैँ विज्ञानले पनि विकासको स्वाद चाखेर मानिसको जीवनलाई धरापमा परिदिएको छ । विज्ञान आफैँमा अभिशाप भने पक्कै पनि होइन । मानिसले माल पाएर पनि चाल नपाएका कारण मात्र यसको सदुपयोग हुन नसकेको हो । 

यहाँ चर्चा गर्न खोजिएको विषय हो । पछिल्लो समय विकास भएको एआई प्रविधिको । सदुपयोग गर्न जान्दा एआईबाट मानिसले धेरै लाभ लिन सक्छ । तर, पछिल्लो समय यसको सदुपयोगभन्दा बढी दुरुपयोग गरिएको मात्र भेटिन्छ । खराब मनोवृति भएका मानिसले विज्ञानको दुरुपयोग गरी यसको बदनाम गरिदिएका छन् ।

एआईमार्फत आवाज काटकुट गरी बोल्दै नबोलेको कुरा दुरुस्तै बोलेकोजस्तो बनाएको पनि हामीले देखे–सुनेकै छौँ । एमाले अध्यक्ष केपी शर्माले आफूले गाउँदै नगाएको गीत एआईमार्फत आफ्नो आवाजमा गाइएको फेला परेका थिए । उनले उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै ‘प्रविधि आउनु राम्रो हो, तर यसले आगामी दिनहरूमा अझ बढी चुनौती निम्त्याउँछ’ भनेर लेखेका थिए । 

त्यस्तै, पछिल्ला केही दिनयता डिपफेकको दुरुपयोग निकै बढेको पाइएको छ । धेरै सरल भाषामा, डिपफेक एउटा सम्पादन गरिएको भिडियो हो, जसमा अरू कसैको अनुहारमा दोस्रो व्यक्तिको अनुहार जोडेर उस्तै बनाइन्छ । डिपफेक भिडियोहरू यति सटिक हुन्छन् कि तपाईंले तिनीहरूलाई सजिलै पहिचान गर्न सक्नुहुन्न ।
मानिसहरूलाई बहकाउनका लागि विश्वभर डिपफेक प्रविधिबाट तयार पारिएका भिडियोको प्रयोग धेरै हुन थालेको छ । सूचना प्रविधिको विकाससँगै अहिले इन्टरनेटमा ‘फेक’ सामग्रीको बिगबिगी छ । क्षणिक स्वार्थका लागि विश्वभर डिपफेक प्रविधिबाट तयार पारिएका भिडियोको प्रयोग बढ्दै गएको छ ।

यसको सिकार दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना पनि भएकी थिइन् । उनको नक्कली भिडियोले सामाजिक सञ्जालमा तहल्का पिटेको केही दिनमै कट्रिना कैफ र काजोलको पनि डिपफेक भिडियो भाइरल बनेको थियो । यो प्रविधिको गलत प्रयोग गरेर कतिपय सेलेब्रिटीको ‘पोर्न भिडियो’ इन्टरनेटमा राख्ने गरेको पनि पाइन्छ ।



प्रविधिको यस्तो दुरुपयोगबारे चौतर्फी चिन्ता बढिरहेको छ । धेरैले यसको दुरुपयोगलाई कडाइ गर्न आवश्यक नियम कानुन ल्याउन माग गरिहेका छन् । 

यसैबीच, बलिउड अभिनेत्री आलिया भट्ट पनि यसको सिकार भएकी छिन् । नियालेर हेर्ने हो भने भिडियोमा भएकी केटी आलिया भट्ट होइनन् । अभिनेत्री आलियाको  अनुहारलाई अरू कसैको शरीरमा जोडेर बनाइएको डिपफेक भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक भाइरल बनिरहेको छ । 



विज्ञानको आविष्कारको उचित सदुपयोग भयो भने संसारलाई स्वर्ग बनाउन सकिन्छ । दुरुपयोग भयो भने विश्व क्षणभरमा ध्वस्त हुन सक्छ । प्रविधि र विज्ञानले विकास र सहजता प्रदान गर्छ भन्ने कुरामा पक्कै द्विविधा छैन । तर, यो सही व्यक्तिको हातमा पर्नुपर्छ । होइन, भने विज्ञान वरदानभन्दा अभिशाप बन्न सक्छ । 
 

  • प्रकाशित मिति : मंसिर ११, २०८० साेमबार १७:२०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया