logo-img

देउवाकाे उत्तराधिकारी बन्ने आरजु दाउ : उपसभापति/महामन्त्रीमा आरक्षणकाे माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले पार्टीकाे पदाधिकारीमा महिलाको संख्या वृद्धि गर्नुपर्ने माग गरेकी छिन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी उनले पार्टीको महासमिति बैठकमा साे विषय उठाउने बताएकी हुन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसकाे उपसभापति, महामन्त्रीमा महिला आरक्षण नरहेको भन्दै असन्तुष्टि जनाइन् । 'खाली किन एउटा सहमहामन्त्री मात्रै महिला, उपसभापति, महामन्त्री किन छैन ? अरु पोस्टमा पनि महिला हुनसक्छ नि !'उनले भनिन्, 'अहिले विभागहरु बनिरहेको छ, त्यसमा पनि ३३ प्रतिशत महिलाकै नेतृत्व हुनुपर्छ । खाली मेम्बर मात्रै हुने ? हामी भोट मात्रै हाल्ने ? हाम्रो आवाज सुन्नु परेन ?' 

महिलालाई प्रत्यक्षतर्फ ३३ प्रतिशत निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउनैपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताउँदै केन्द्रीय सदस्य देउवाले भनिन्, ‘सबै पार्टीका महिलासँग कुरा गरी रणनीति बनाएर ३३ प्रतिशत महिलाको डाइरेक्ट इलेक्सन लड्ने ठाउँ अब बनाउनै पर्छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाकाे सभापतिमा याे अन्तिम कार्यकाल हाे । साे पार्टीकाे विधानअनुसार लगातार दुइपटकभन्दा बढी सभापति बन्न पाइँदैन । उमेरका कारण पनि देउवाले राजनीतिबाट विश्राम लिने सम्भावना छ । 

आरजुकाे पछिल्लाे भनाइले उनी कांग्रेसकाे उपसभापति वा महामन्त्री बनेर देउवाकाे उत्तराधिकारीका रूपमा आफू आउन चाहेकाे बुझ्न सकिन्छ । अन्य प्रभावशाली पुरुष उम्मेदवारहरूसँगकाे प्रतिस्पर्धामा हार खान सकिने सम्भावनाका कारण उनले ती पदहरूमा आरक्षणकाे मुद्दा उठाउने तयारी गरेकी हुन् भनेर अाकलन गर्न सकिन्छ । 





  • प्रकाशित मिति : मंसिर १४, २०८० बिहीबार १७:५३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया