logo-img

धरौटी जफतपछि काममा फर्किए ठेकेदार, अघि बढ्यो बेगखोला-नागढुंगा खण्डको कार्य
फाइल तस्बिर

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको बेगखोला–भुरुङ तातोपानी खण्डको काम तीन वर्षपछि लयमा फर्किएको छ । 

समुदाय, जनप्रतिनिधि र सरोकारवालाको दबाबपछि बेगखोलादेखि भुरुङ तातोपानीको नागढुङ्गा खण्डका निर्माण व्यवसायी काममा फर्किएर कालोपत्रको तयारी थालेका हुन् । 

रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न वि.सं २०७४ मा शर्मा युनाइटेड जेभी र बेनी–जोमसोम–कोरला सडक योजनाबीच ठेक्का सम्झौता भएको थियो ।  

मुख्य ठेकेदारले काम नगरेर सहायकलाई ठेक्का दिएको, प्रतिकूल भूगोल, विपद् र कोरोना महामारीका कारण यो सडक निर्माण वि.सं २०७७ हिउँददेखि सुस्ताएको थियो । धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार काममा फर्किएका बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुव झाले जानकारी दिए ।  

‘पहिरोग्रस्तस्थल र कडा पहरा फुटाउनुपर्ने भागमा बाहेक सडक विस्तार, नाली, पर्खाल निर्माण र सब बेस बिछ्याउने काम सकिएको छ,’ उनले भने, ‘चमेरे, वैसरी र महभिरबाहेकको सडक कालोपत्रको तयारी भएको छ ।’ 

शर्मा युनाइटेडका इञ्जिनियर प्रशान्त तिमिल्सिनाले करिब ६ किलोमिटर दूरीमा सब बेस र बेस राख्ने काम सकिएको बताए । ‘मौसमले साथ दियो भने ६ देखि ८ किलोमिटर सडक यसपालि कालोपत्र गर्नका लागि मजदुर र उपकरण परिचालन गरी तयारी थालेका छौँ,’ उनले भने ।  



यसखण्डका विभिन्न स्थानमा करिब चार किलोमिटर पहिरोस्थल भएकाले ग्राभेल गर्ने, महभिरमा कडा पहरा भएकाले आयोजनाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट  हटाइएको छ । रघुगङ्गा गाउँपालिकाको राहुपारेदेखि बेगखोला खण्डको करिब छ किलोमिटर दुई वर्षअघि कालोपत्र भएको थियो ।

राहुघाट–बेगखोला खण्डको सडक कालोपत्र गर्ने जिम्मेवारी लिएको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालकलाई ताकेता गरिएको शर्मा युनाइटेडका इञ्जिनियर तिमिल्सिनाले बताए । बेगखोला–नागढुङ्गा खण्डको कामलाई पूर्णता दिन मूल ठेकेदार आएको छ । 



राहुघाट–बेगखोला खण्डको सहायक ठेकेदारले काम नगरे मूल ठेकेदारले नै पूर्णता दिने जनाएको छ । कालोपत्र भइसकेको बैसरी र सिरुबारी क्षेत्रमा ठूलो पहिरो खसेकाले जोखिम बढाएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डमा अलपत्र परेको कालोपत्र गर्ने कामलाई लयमा फर्काउन सङ्घीय सरकारकामन्त्री, सचिव र आयोजनाका प्रमुखसँग समन्वयका साथै जिल्ला र पालिकास्तरमा समन्वय तथा सहजीकरण गरिएको बताए ।  

‘म्याग्दी खण्डमा सडक निर्माण अलपत्र हुँदा यात्रुलाई सास्ती भएको विषयमा प्रधानमन्त्री र विभागीय मन्त्रीको ध्यानाकर्षण गराएका छौँ’, गत हप्ता निर्माणाधीन सडक अनुगमन गरेका उनले भने, ‘नागढुङ्गादेखि मुस्ताङको घाँसा खण्डसम्मको सडक निर्माणलाई पनि लयमा फर्काउन दबाबका साथै समन्वय र सहजीकरण गरिरहेका छाैँ ।’ रासस

  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार १४:३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया