देउवा–शेखर सम्बन्धमा किन आयो दरार ?

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनतासँग टाढा हुँदै गएकाले पार्टी कमजोर बनेको भनेर आत्मसमीक्षा गर्न नेतृत्वलाई झक्झक्याउन थालेका छन् । 

निर्वाचनअघिदेखि नै माओवादीसँगको सहकार्यप्रति असन्तुष्टि जनाउँदै आएका नेता कोइरालाले यस्तो सहकार्य नेपाली कांग्रेसलाई हानिकारक रहेको निष्कर्ष निकालेका छन् । कोइरालाको धारणा छ– कम्युनिस्ट पार्टीहरूसँग सहकार्य गरिरहने हो भने नेपाली कांग्रेस जनतासँग टाढिँदै जाने छन् र त्यसले लोकतन्त्रमै नकारात्मक असर पर्नेछ ।

गत वर्ष आमनिर्वाचनपछि सरकार गठन गर्ने पहिलो दलको हैसियत पाएको नेपाली कांग्रेस सरकार गठनमा सहयोगी मात्र बनेकामा पनि नेता कोइरालाको असन्तुष्टि सार्वजनिक हुँदै आएको छ ।

आमनिर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गरेको, तर निर्वाचन परिणामपछि एमालेसँग मिल्न पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल फर्केर आउँदा पनि उनैलाई प्रधानमन्त्री बन्न सहयोग गरेर सभापति शेरबहादुर देउवाले गलत निर्णय गरेको कोइराला र अरू केही नेताको धारणा रहँदै आएको छ । निर्वाचनमा नेपाली कांग्रेस एक्लै जनतामाझ जानुपर्ने उनीहरूको तर्क थियो । 

महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले पनि नेता कोइरालाको त्यो नीतिगत अडानको समर्थन गर्दै आएका छन् । देशमा पछिल्ला दिनहरूमा भएका ठूला भ्रष्टाचारका घटनामा पार्टीकै नाम चलेका नेता मुछिँदा पनि सभापति देउवाले हलुका रूपमा लिएर नेपाली कांग्रेसको छवि कमजोर बनाएको भनेर आलोचना हुँदै आएको छ । 

हालै चर्चित एनसेलको सेयर बिक्री प्रसंगमा पनि राजनीतिक संलग्नता रहेको भन्दै महामन्त्री गगन थापाले आफ्नै नेतृत्वप्रति पनि जवाफदेही हुन प्रश्न तेस्र्याएका छन् । एनसेल सेयर बिक्री विवादमा कर्मचारी प्रशासन र राजनीतिक नेतृत्वको मिलिभगत रहेको भनेर संसदका समितिहरूमा चर्को बहस जारी छ । यसमा सबै दलका सांसदले आफ्नै नेतृत्वमाथि आशंका गर्दै प्रश्न गरिहेका छन् ।



निर्वाचनमा प्रतिनिधिसभामा तेस्रो दलको हैसियत पाएको माओवादी केन्द्रले सबैभन्दा ठूलो दलको सहयोग लिएर सरकारको नेतृत्व गरिरहेको छ । प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमाले पनि प्रमुख प्रतिपक्षीको जस्तो भूमिकामा सक्रिय देखिँदैन ।

नेपाली कांग्रेसको वैकल्पिक नेताको स्थानमा रहेका कोइरालाले सभापति देउवाको नेतृत्वलाई ठाडो चुनौती दिन थालेका छन् । कोइरालाले पार्टीलाई नीतिगत रूपमा स्पष्ट दिशानिर्देश गर्न नसकेर ढुलमुलको अवस्थामा राखेको भनेर सभापति देउवाको आलोचना गरिरहेका छन् । सभापति देउवाले पार्टीभित्र आफ्नो नेतृत्व क्षमतामाथि कटु आलोचना भइरहँदा पनि त्यसलाई बेवास्ता गरिरहेको देखिन्छ ।



आजै पनि एक कार्यक्रममा नेता कोइरालाले पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउन जनतामाझ जानुपर्ने बताए । चितवन–काठमाडौं प्रजातान्त्रिक समाजको ३३औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनको उद्घाटन गर्दै उनले ‘देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस भएकाले कांग्रेस परिवर्तन नभई मुलुक परिवर्तन हुन सक्दैन’ भने । कांग्रेसलाई जनतासँग जोड्न सके मात्र पार्टी परिवर्तन भएर अगाडि बढ्न सक्ने कोइरालाको भनाइ छ ।

चितवनमा माओवादीलाई निर्वाचनमा आफ्नो स्थान छोडिदिएर संगठन कमजोर बनाएको भनेर नेता कोइरालाले सांकेतिक रूपमा सभापति देउवालाई त्यसको जिम्मेवार रहेको टिप्पणी गरेका छन् । कोइरालाले चितवनमा आफ्नो पार्टी किन कमजोर हुँदै गयो भन्ने विषयमा सांकेतिक रुपमा भने,‘केही समयदेखि चितवन प्रजातान्त्रिक आन्दोलनभन्दा अलग बाटोबाट हिँडिरहेको छ । यो कांग्रेसकै केन्द्रीय नेतृत्वका कारण भएको हो । यसको नतिजा चितवनमा कांग्रेसको संगठन कमजोर हुँदै गएको छ । यसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्छ ।’

चितवनका निर्वाचन क्षेत्र, पालिका, वडा मात्र नभई टोलमा समेत व्यक्तिवादी चरित्र हाबी हुँदा पार्टी संगठन कमजोर हुँदै गएको नेता कोइरालाको भनाइ थियो ।

गएको स्थानीय निर्वाचनमा माओवादी अध्यक्ष दाहालकी छोरी रेणु दाहाललाई भरतपुर महानगरको प्रमुख बन्न मार्गप्रशस्त गर्दै सभापति देउवाले आफ्ना दावेदार नेताहरुलाई बलपूर्वक दमन गरेको भनेर असन्तुष्टि चुलिएको थियो । पछिल्ला निर्वाचनमा चितवनमा नेपाली कांग्रेसको समर्थक मतको सम्मान गर्न नसकेको भनेर सभापति देउवा आलोचित हुँदै आएका छन् । नेता कोइरालाले ती असन्तुष्ट नेता कार्यकर्ताको दबिएको आवाजलाई सम्बोधन गरेर सभापति देउवाको आलोचनाको स्वरलाई बलियो बनाइदिएका छन् ।

यो पृष्ठभूमिमाथि टिप्पणी गर्दै कोइरालाले कांग्रेस एक्लै चुनाव लडे मात्र बलियो पार्टी बन्नसक्ने बताए । ‘जबसम्म हामी एक्लै चुनाव लड्न सक्दैनौँ तबसम्म पार्टी झन्झन् कमजोर हुँदै जान्छौँ’, उनको भनाइ छ ।

महाधिवेशन भएको दुई वर्ष बित्न लाग्दासम्म पार्टीको भ्रातृसंस्था तथा विभागलाई पूर्णता दिन नसक्नु पार्टी नेतृत्वको कमजोरी भएको नेता कोइरालाको आरोप छ । सभापति देउवाले पार्टी संगठनमा पक्षपाती व्यवहार गरेकाले भ्रातृसंगठनसमेत व्यक्तिवादी प्रभावमा परेर कमजोर हुँदै गएको नेता कोइरालाको भनाइ छ ।

  • प्रकाशित मिति : मंसिर २३, २०८० शनिबार १८:५३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया