अर्थमन्त्री महतको दाबी : अहिले आर्थिक अवस्था र सूचक अत्यन्तै सकारात्मक

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अवस्था समग्रमा सकारात्मक र राम्रो भएको दाबी गरेका छन् । उनले आर्थिक सूचकहरू पनि अत्यन्तै सकारात्मक भएको बताए ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले पूँजीगत खर्च ६ प्रतिशतले बढेको, राजस्वतर्फ भन्सार दर महसुलमा १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ ७ दशमलब १९ प्रतिशत, आयकरतर्फ १२ प्रतिशतले वृद्धि भएको तथा समग्रमा ७ दशमलब ५७ प्रतिशतले राजस्वमा वृद्धि भएको उल्लेख गर्दै अर्थतन्त्र सुधारोन्मुख भएको बताएका हुन् । 

अपेक्षा गरेकोभन्दा कम राजस्व उठे पनि अर्थतन्त्रको सूचक अहिले अत्यन्तै सकारात्मक बन्दै गएको, मौद्रिक नीति दर घटाउँदा बैंकहरूले ब्याजदर घटाउनमा मद्दत पुगेकोले ऋणीहरूलाई समेत राहत हुने अर्थमन्त्री महतले बताए । 

‘मौद्रिक नीति दर घटाउँदा बैंकहरूले विस्तारै घोषणा गर्न थालेकोले ब्याजदर पनि कम हुँदै जाने अवस्था छ । यसले ल्यान्डिङ विस्तार हुने अवस्था अब आउँछ । जसले ऋण लिएका थिए उनीहरूलाई पनि राहत पुग्छ । बैंकहरूको औसत आधार दर १० दशमलव ४८ प्रतिशत रहेकोमा हाल ९ दशमलव ९४ रहेको छ,’ उनले भने ।

२०८९/०८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट ६८ दशमलव ५५ अर्ब ऋण प्रवाह भएकोमा अहिले १ सय ३० अर्ब पुगेको मन्त्री महतको भनाइ छ ।



‘अर्थतन्त्रमा पूँजी बिस्तारै चलायमान हुँदै गएको छ । ०८० मसान्तसम्मा चालू खातामा ५९ अर्ब बचत र ९९ अर्बको शोधानान्तर बचत छ’ अर्थमन्त्री महतले भने, ‘१२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति रहेकोले बाह्य परिवेशमा हामी सहज अवस्थामा छौँ,’ उनले भने । 

असोज मसान्तसम्म विप्रेषण ३० प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मन्त्री महतले यो अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताए । यो वर्ष हालसम्म ९ लाख ५४ हजार पर्यटनको आगमन भएको जानकारी दिँदै उनले यतिमै चित्त बुझाएर बस्ने अवस्था भने नरहेको, अझ बढाउनुपर्नेमा जोड दिए ।



‘विद्युत् प्रशारण लाइन पनि यही वर्षदेखि ९ सय मेगावाट वृद्धि हुने अवस्था छ । समग्रमा आर्थिक सूचकहरू अत्यन्त सकारात्मक भएर गएको छ,’ मन्त्री महतले भने ।

उत्पादन र रोजगारी वृद्धि हुन अझै केही समय लाग्ने भन्दै अर्थमन्त्री महतले अर्थतन्त्रका सूचक सकारात्मक रहेको यथेष्ट रहेकोले अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख भएको दाबी गरे ।

‘उत्पादन वृद्धि, रोजगारी वृद्धि हुनमा केही समय लाग्छ, रातारात हुँदैन । तर, हाम्रो अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख भएको छ । सबैखाले सूचकहरू पोजिटिभ भएको अवस्था छ । मौद्रिक नीतिको पछिल्लो घोषणापछि सेयर मार्केटले पनि सकारात्मक दिशा पक्रेको छ । जग्गाको कारोबार पनि बढ्ने अवस्थामा छ,’ मन्त्री महतले भने । 

  • प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार १२:५३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया