फिलिपिन्सले १८० चिनियाँ नागरिकलाई गर्‍यो देश निकाला

फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशंकामा छापा मारेर पक्राउ परेका १ सय ८० चिनियाँ नागरिकलाई बिहीबार देश निकाला गरेको अधिकारीहरूले बताएका छन् ।

अक्टोबरमा गरिएको कारबाहीका क्रममा एउटा परिसरभित्र भेटिएका करिब छ सय मानिसमा चिनियाँ, कोरियाली, भियतनामी र फिलिपिनो नागरिक रहेका थिए । सेक्स खेलौना, एउटा मसाज पार्लर, साङ्गीतिक धुनसँग गीत गाउने कोठा र एउटा रेस्टुरेन्ट एक व्यवसायद्वारा सञ्चालित उक्त भवनमा फेला परेको थियो । 

उक्त व्यवसायले इन्टरनेट गेमिङ कम्पनीका रूपमा इजाजत प्राप्त गरेको अधिकारीहरूले बताएका छन् । छापा मार्ने क्रममा धेरै महिलाको ‘उद्धार’ गरिएको प्रहरीले बताएको छ ।  

राष्ट्रपतिको सङ्गठित अपराध विरोधी आयोगका उपसचिव गिल्बर्टो क्रुजले एएफपीलाई भने, ‘चिनियाँ नागरिकसँग वर्क परमिट (काम गर्ने अनुमति) थिएन र उनीहरू ‘अनलाइन घोटालामा’ संलग्न थिए ।’ छापामा पक्राउ परेका थप विदेशीहरूलाई आगामी साताहरूमा देश निकाला गरिने उनले जानकारी दिए ।

एसिया–प्रशान्त क्षेत्रमा इन्टरनेट घोटालाहरूबारे अन्तर्राष्ट्रिय चिन्ता बढिरहेको छ । यसमा प्रायः तस्करीका पीडितहरूलाई धोका दिइन्छ र फर्जी क्रिप्टो लगानीलाई बढावा दिनका लागि बाध्य पारिन्छ ।   

अमेरिकी विदेश मन्त्रालयले उसको सन् २०२३ मानव तस्करी प्रतिवेदनमा फिलिपिन्सले मुलुकभित्र हुने गरेको श्रम तस्करी अपराधहरूको कडा अनुसन्धान वा मुद्दा चलाएको छैन भनेको छ ।



‘भ्रष्टाचार र तस्करीको अपराधहरूमा आधिकारिक संलग्नता महत्त्वपूर्ण चिन्ताको विषय बनेको छ’, प्रतिवेदनमा भनिएको छ ।  



  • प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार १४:२३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया