logo-img

निषेधित क्षेत्र घोषणाको विरोधमा ‘विरोध मार्च’

नागरिकले विरोधका आवाज उठाउने ठाउँहरूलाई सरकारले संकुचित गर्दै लैजानु लोकतन्त्रमाथि खतराको सङ्केत भन्दै बृहत् नागरिक आन्दोलनले शुक्रबार ‘विरोध मार्च’ गर्ने भएको छ ।
 
सरकारले खुलामञ्च, माइतीघर र शान्तिवाटिका लगायत नागरिकका आवाज मुखरित गर्ने ठाउँहरूमा निषेधित क्षेत्र घोषणा गरेकोमा नागरिक अगुवाहरूले त्यसको विरोध गर्दै आएका छन् । बृहत् नागरिक आन्दोलनले शुक्रबार त्यसको विरोधमा शान्तिवाटिकामा विरोध मार्च गर्न लागेको हो ।

नागरिक अगुवा सञ्जीव उप्रेतीले लोकतन्त्रमा नागरिकले विरोध गर्न पाउने अधिकारमाथि सरकारले आक्रमण गर्न थालेको बताए । ‘माइतीघर, शान्तिवाटिका र खुलामञ्च अहिले नागरिकका आवाज मुखरित गर्ने ठाउँहरू हुन्, ती ठाउँहरूमा प्रतिबन्ध लगाउनु शुभसंकेत होइन,’ उनले भने, ‘यो नागरिकको संवैधानिक लोकतान्त्रिक अधिकार नै हो ।’

सरकारले लामो समयसम्म माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेर आफूप्रति लक्षित विरोधका आवाजहरू दबाउन खोजेको भन्दै नागरिक आन्दोलनले निरङ्कुश राज्यको झल्को गराएको जनाएको छ । ‘दिन प्रतिदिन भ्रष्टाचार बढ्दै गइरहेको छ । सामाजिक न्याय सङ्कटमा छ । सरकारप्रति बढेका असन्तुष्टि अभिव्यक्त हुन नदिन नागरिकले प्रयोग गर्दै आएको विरोध स्थललाई निषेधित क्षेत्र घोषणा गर्ने कदमको विरोध गर्न आव्हान गरिन्छ,’ नागरिक आन्दोलनले भनेको छ । 





  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार ९:५०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया