राप्रपाले फागुनमा उपत्यका केन्द्रित आन्दोलन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनमा उपत्यका केन्द्रित आन्दोलन गर्ने भएको छ । पार्टीको मंगलबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

पुस र माघ महिनामा देशभर सभा र आन्दोलनको तयारी गर्ने र फागुन लागेपछि मेची–महाकाली एकता यात्रासँगै उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय भएको अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बताए । 

आन्दोलनका लागि पार्टीले लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ । समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु रहने लिङ्देनले जानकारी दिए ।

‘हिन्दु राष्ट्र पुनस्र्थापना र प्रदेश तह खारेजीका लागि व्यापक जनदबाब सिर्जना गर्न पार्टीले बृहत् आन्दोलन गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘जनताको चाहना भयो भने हामी संसद छाडेर पनि आन्दोलन अघि बढाउन सक्छौँ ।’ 

आन्दोलन तयारीका लागि पुस र माघमा देशैभर व्यापक सभा तथा तयारीका अन्य काम गरिने उनले बताए । ‘फागुनमा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेका छौँ,’ उनले भने ।

पार्टीका संगठन विभाग प्रमुखसमेत रहेका महामन्त्री डा. धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको राप्रपाले जनाएको छ । 



कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचार तथा प्रसार समिति गठन भएको छ । यस्तै, राप्रपाले सञ्चालन गरिरहेको नवीन राप्रपा कार्ययोजनाका बाँकी कामलाई पनि आन्दोलनको अंगकै रुपमा सम्पन्न गर्ने निर्णय भएको लिङ्देनले बताए । 

राप्रपाले मुलुकको बिग्रँदो अर्थतन्त्र, भ्रष्टाचार, चरम बेरोजगारी, बढ्दो निराशा, आर्थिक मन्दीका कारण साना किसान तथा उद्यमीहरूमाथिको बढ्दो ऋणभार, युवा शक्तिको विदेश पलायनलगायत जनजीविकाका विभिन्न मुद्दा उठाएर उपत्यका केन्द्रित आन्दोलन गर्न लागेको पार्टीले जनाएको हो । 
 



  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार १७:५७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया