logo-img

नातिकाजीको ९९औँ जन्मजयन्ती : स्रष्टाले यसरी सम्झिए

वरिष्ठ संगीतकर्मी तथा संगीतमहर्शी नातिकाजी​को ९९औँ जन्मजयन्तीको अवसर पारेर आज नातिकाजी​ स्मृति समाजले पशुपतिनाथमा उनीद्वारा रचिएका तथा संगीत दिएका भजन प्रस्तुत गरेको छ ।

पशुपतिनाथमा दैनिक रुपमा सञ्चालन हुँदै आएको सन्ध्याकालीन आरती हुनुपूर्व सन्ध्यामा उक्त समाजले नातिकाजी​ले रचना गरेका तथा संगीत दिएका दर्जनौँ भजन प्रस्तुत गरिएको थियो । 

नातिकाजी​को जन्मजयन्तीको अवसर पारेर यो वर्षदेखि प्रत्येक वर्ष नातिकाजी​ स्मृति समाजले पशुपतिनाथमा उनका भजन प्रस्तुत गर्ने कार्यक्रम घोषणा गरेको समाजका अध्यक्ष तथा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले जानकारी दिए । 

अध्यक्ष बास्कोटाले भने, ‘वरिष्ठ संगीतकर्मी तथा संगीतमहर्शी नातिकाजीको जन्मजयन्तीका अवसरमा हामीले बिहान ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ घोषणा गर्नेछौँ र साँझको समयमा पशुपतिनाथमा उहाँद्वारा रचिएका भजन प्रस्तुत गर्नेछौँ ।’

कार्यक्रममा सुदेश शर्मा, बानिका प्रधान, निशा देशार, शशिविक्रिम थापा, सञ्जय तुम्रोक तथा माण्डवी त्रिपाठीलगायत कलाकारले नातिकाजी​का भजन प्रस्तुत गरे ।

यसैबीच समाजद्वारा आज आयोजित एक समारोहमा ‘नातिकाजी​ राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ समेत घोषणा गरिएको छ । समाजले आयोजना गरेको कार्यक्रममा विभिन्न स्रष्टा, संगीतकर्मी तथा सञ्चारकर्मीलाई यो सम्मान तथा पुरस्कार अर्पण गरिने बास्कोटाले बताए । नेपाली गीत–संगीतका शिखर व्यक्तित्व नातिकाजी​का योगदानलाई नेपाली पुस्ताले सम्झिरहने विश्वास उनले व्यक्त गरे । 



विसं १९८२ पुस ३ गते पुल्चोक ललितपुरमा जन्मिएका नातिकाजी​ले नेपाली राष्ट्रिय गीत, लोकगीत, आधुनिक, भजन, गीतिनाटक, नाटक, चलचित्र गीतमा स्वर तथा संगीत दिएका छन् । 

उनको निधन विसं २०६० का कात्तिक १६ गते भएको थियो । आज घोषणा गरिएको उक्त नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार–२०८०’ पुरस्कार राष्ट्रपतिको हातबाट प्रदान गरिने यो सम्मान नेपाली मौलिक संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई प्रदान गरिने नातिकाजी​ स्मृति समाजले जनाएको छ । 



यो वर्ष ‘नातिकाजी​ राष्ट्रिय विशिष्ट संगीत सम्मान’बाट गीत रचनातर्फ आनन्द अधिकारी, वाद्यवादनतर्फ केशव सुनाम, गीत रचनातर्फ भूषण खरेल र गीत रचनातर्फ सुनिल थापालाई सम्मान गर्ने जनाएको छ । 

त्यस्तै, परम्परागत संगीतर्फ धर्म मुनिकार, गायनतर्फ सुदेश शर्मा, वाद्यवादनतर्फ कुमार सिंह, वाद्यवादनतर्फ सुवर्ण लिम्बू, गीत रचनातर्फ राम भट्टराई तथा गीत रचनातर्फ वसन्त वित्यासी थापालाई प्रदान गरिनेछ ।

यस्तै, ‘नातिकाजी​ राष्ट्रिय संगीत पुरस्कार’बाट पुरस्कृत हुनेमा गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी, गायिका बानिका प्रधान तथा संगीतकार राजनराज शिवाकोटी रहेका छन् । 

‘नातिकाजी​ राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, संगीतकार शशिविक्रम थापा तथा गीत रेकर्डिष्ट प्रकाश मिश्रलाई प्रदान गरिनेछ ।

‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार’ लोकगायक अमृत खातीलाई प्रदान गरिने तथा ‘नातिकाजी​ राष्ट्रिय कला पत्रकारिता पुरस्कार’बाट पत्रकारद्वय कृष्ण भट्टराई तथा शान्तिप्रिय पुरस्कृत गरिने जनाइएको छ ।

  • प्रकाशित मिति : पुस ३, २०८० मंगलबार २२:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया