logo-img

मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी, यी मन्त्री हुन सक्छन् आउट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । बिहीबार दाहालले पार्टी पदाधिकारी बैठकमा सो खुलासा गरेका हुन् । 

बैठकमा उनले सरकारको एक वर्ष पुग्नै लागेको बेला मन्त्रालयको काम अपेक्षा गरेअनुसार नभएको भन्दै मन्त्रिपरिषद् हेरफेर हुन सक्ने बताएका थिए । ‘सरकारका कामलाई प्रभावकारी बनाउन यही गतिले हुँदैन, अब नयाँ ढंगले काम गर्नुपर्छ भन्ने लागेको छ,’ उनले भने, ‘त्यस्तै परे नयाँ कदम चाल्नुपर्ने हुन सक्छ ।’ 

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले यही मन्त्रिपरिषद्लाई सक्रिय बनाउने र हुन नसके मन्त्रिपरिषद् हेरफेर गर्न सक्ने संकेत प्रधानमन्त्रीको रहेको बताए । 

प्रधानमन्त्री दाहालले बिहीबारै विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्रालयले आफ्नो लक्ष्य पूरा नगरे नयाँ ढंगले सोच्ने बताएका थिए । ‘अब नयाँ ढंगले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजना बनाउने हो,’ उनले भनेका थिए, ‘अब टार्गेट दिइन्छ । त्योअनुसार भएन भने सोच्नुपर्छ ।’ 

मन्त्रिपरिषदको अघिल्लो बैठकमा प्रधानमन्त्रीले मन्त्रालयको कामले लक्ष्य नभेटेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए । प्रधानमन्त्री दाहाल अर्थ, भूमिसुधार, कृषि, पर्यटन र ऊर्जा मन्त्री परिवर्तन गर्ने सोचमा रहेको बालुवाटार स्रोतको भनाइ छ । 

हाल अर्थमन्त्रीमा कांग्रेसका प्रकाशशरण महत, भूमिसुधार मन्त्रीमा नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ, कृषिमा एकीकृत समाजवादीका वेदुराम भुसाल, पर्यटनमन्त्रीमा माओवादीका सुदन किराती र ऊर्जामन्त्रीमा माओवादीकै शक्ति बस्नेत छन् । 
 
मन्त्रीहरुसामु कि मन्त्रालयको कामलाई तीव्र गतिमा अघि बढाउने, कि स्वेच्छिक रूपमा बिदा लिने दुई विकल्प भएको बताएका थिए ।





  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार २३:१४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया