logo-img

मौरीपालक किसानको गुनासो : आयातित महका कारण उचित मूल्य पाएनौँ

दाङको तुलसीपुर उपमहानगरपालिका–१० गोलौरीका ४८ वर्षीय माधव केसी व्यावसायिकरूपमा उन्नत जातका माहुरीपालन गरेर सफल माहुरी उद्यमीको रुपमा स्थापित भएका छन् ।  

डेढ दशकदेखि सो पेसा अँगालेका केसीले तीनजनालाई पूर्णरूपमा र दुई जनालाई आंशिकरूपमा रोजगारी दिएका छन् । माहुरीपालनबाट वार्षिक ८ लाख रुपैयाँ बचत गर्न सफल भएको उनले बताए । सफल व्यावसायिक माहुरी पालकरूपमा परिचित केसीको दिनचर्या माहुरीका घारलाई स्याहार तथा संरक्षण, चरण र मह काड्नेदेखि बजार व्यवस्थापन हुने गर्दछ । 

आजभोलि महको सिजन भएकाले उनी माहुरी कर्ममा व्यस्त छन् । कृषि क्षेत्रमा राम्रो सम्भावना देखेरै बिएसीएजीको अध्ययन पूरा गरेपछि वि.सं २०६२ देखि प्राकृतिक मौरीपालन फार्म खोलेर उन्नत जातको माहुरीपालन सुरुआत गरेको उनले  बताए ।



सुरुमा २५ घार मौरीबाट व्यवसाय सुरु गरेका केसीसँग हाल तीनसय घार मेलीफेरा जातका माहुरी छन् । केसी यस वर्ष १२ टन मह उत्पादन गरी सकेको अझ उत्पादन बढ्ने बताउँछन् । 

माहुरीपालन व्यवसायमा सन्तुष्ट भए पनि महको बजार व्यवस्थापनमा समस्या भएको उनको भनाइ छ । ‘तोरी चरणबाट उत्पादन हुने मह फुट्करमा प्रतिकिलो ५ सय र जङ्गलमा चरणबाट उत्पादन भएको मह प्रतिकिलो ८ सयसम्म बिक्री गर्ने गरेको छु’, केसीले भने ।

बुधबार  माहुरी फार्ममा  मह किन्नका लागि आएका तुलसीपुर उपमहानगरपालिका–६ का २५ वर्षीय श्याम चौधरीले आफ्नै घरआँगनमा शुद्ध मह खान पाइएको बताए । ‘महमा औषधिजन्य गुण पनि हुन्छ । जाडोमा पनि महको सेवन राम्रो मानिन्छ’, उनले भने । 



केसीले फार्ममा हालसम्म १ करोड रुपैयाँसम्मसम्म लगानी गरिसकेका छन् । उनले माहुरीका घार र मह बिक्रीबाट वार्षिक २२ देखि २५ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । सबै खर्च कटाएर वार्षिक ७ देखि ८ लाख रुपैयाँ बचत हुने गरेको केसीले बताए । 

उनी माहुरी चरणका लागि कैलालीसम्म पुग्छन् । माहुरी जोन कार्यक्रमले माहुरी र माहुरीका घार ५० प्रतिशत अनुदानमा प्राप्त भए पनि महले बजार पाउन नसक्दा समस्या भएको केसीको भनाइ छ । बालीनालीमा बढ्दो विषादीको प्रयोग तथा जङ्गल निकुञ्जमा परिणत हुँदा माहुरी चरणका लागि समस्या हुने गरेको उनको अनुभव छ ।  



हाल केसीको फार्ममा माहुरीपालनका बारेमा जानकारी लिन, घार अवलोकनका लागि पनि मानिस आउने गरेका छन् । नेपालमा विभिन्न देशबाट मह आयात हुने र नेपालको महभन्दा ती ठाउँबाट आयातित मह व्यापारीले सस्तो मूल्यमा बिक्री गर्दा आफूहरूले उत्पादन गरेको महले उचित मूल्य र बजार नपाएको केसीको दुःखेसो छ । रासस

  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार १५:१०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया