logo-img

‘अन्तिम माैका’ मा पनि प्रचण्डले किन गर्दै छन् गल्ती ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताको बागडोर सम्हालेको हालै एक वर्ष पुगेको छ । यसअघि नै दुईपटक प्रधानमन्त्री बनिसकेका प्रचण्डले दुवैपटक एक वर्षको अवधिसम्म भने सरकार चलाउन पाएनन् । तेस्रोपटक भने प्रचण्डले यही १० पुसमा तेस्रोपटक प्रधानमन्त्री भएको एक वर्ष पूरा गरेका हुन् ।

चलाखीपूर्ण राजनीति गर्ने प्रचण्डलाई योपटक पनि सरकारको नेतृत्व गर्न निकै ठूलो नाटक मञ्चन गर्नुपर्‍यो । मंसिरमा चुनाव सकिएपछि गत पुसमा कांग्रेस नेतृत्वको चुनावी गठबन्धनबाट नाटकीयरूपमा बाहिरिएर प्रचण्ड प्रमुख विपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीसँग हात मिलाउन पुगे ।

प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेको भोलिपल्ट नै अर्थात् गत १० पुसमा प्रचण्ड प्रधानमन्त्री बने । तर, प्रचण्ड-ओली हातेमालो दुई दिन चल्न सकेन । एमालेबाट बनेका मन्त्रीलाई आउट गर्दै प्रचण्ड गठबन्धनमै फर्किए ।

त्यही गठबन्धनकै साथले सरकार चलिरहेका प्रचण्डसँग सुशासन, रोजगारी सिर्जना, चलायमान अर्थतन्त्र, महँगी नियन्त्रणलगायतका लोकप्रिय योजनाका सपना थिए । तर, ती सपनाहरूसँगै विकासका प्रयासदेखि कमसेकम गरिखान पाउने वातावरणको निर्माण होस् भन्ने अपेक्षा जनताले गरिरहे । यद्यपि सरकारको एक वर्ष भने निराशाजनक रह्यो । एक वर्षमा जनताले गरेका आशा पूरा नहुनुमा प्रचण्डका विभिन्न कमजोरी रहे । 

एक वर्षमा प्रधानमन्त्री प्रचण्डका पाँच गल्ती 

१.  मन्त्रिमण्डलमा अलमल



सरकालाई पूर्णता दिन १२ महिनामा ११ पटक मन्त्रिमण्डल विस्तार गरेका प्रचण्डले ६ महिना मन्त्री हटाउन र नयाँ मन्त्री नियुक्ति गर्न मै खर्च गरे । प्रचण्डले पटक–पटक मन्त्रिमण्डल विस्तार गरे पनि लामो समय पूर्णता भने दिन सकेनन् । 

२. परिवारवाद  



प्रधानमन्त्री प्रचण्डले पार्टीभित्र परिवारवाद भित्रिएको आरोप छ । 

गंगा दाहाल : स्वकीय सचिव रहेकी प्रचण्डकी कान्छी छोरी गंगा देशभित्रै र बाहिर हुने महत्त्वपूर्ण बैठकहरूमा सहभागी भएकी देखिन्छन् । खास गरी भारत भ्रमणका क्रममा त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिन्पिङसँगको प्रतिनिधिमण्डल स्तरीय वार्तामा उनी प्राथमिकताका साथ देखिएपछि व्यापक आलोचना पनि भएको थियो ।

रेणु दाहाल : माइली छोरी हाल दोस्रो कार्यकाल चितवन महानगरपालिकाकी मेयर छिन् । पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेकी उनी दोस्रो संविधानसभा निर्वाचनमा भने प्रत्यक्षतर्फ पराजित भएकी थिइन् । हाल दोस्रो कार्यकाल मेयर बनेकी उनलाई जिताउन गठबन्धनका शीर्ष नेताहरूले चुनावी अभियानका क्रममा भरतपुर दौडाहा गरेका थिए।

जीवन आचार्य : गंगा दाहालका पति कोशी प्रदेशमा यसै वर्ष दुई पटक मन्त्री बने । एक महिनाको अन्तरालमै उनी कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरण र आर्थिक मामिला तथा योजना मन्त्री बने । दोहोर्‍याएर उनैलाई मन्त्री बनाउँदा पार्टी त्याग्ने कतिपय पुराना नेताको धम्कीबीच समेत प्रचण्ड आफ्नो निर्णयमा पछि हटेनन् ।

यसअघि समेत प्रचण्डले आफ्नी बुहारी बिना मगरलाई मन्त्री र भाइ नारायण दाहाललाई राष्ट्रिय सभा सदस्य बनाएका थिए । प्रधानमन्त्री बनेको एक वर्ष पुग्दा राष्ट्रको नाममा सम्बोधन गर्दै कार्यशैली बदल्छु, नगई नहुने बाहेकका कार्यक्रम जान्न  भनेका प्रचण्डले व्यवहारमा भने अझै लागू गरिसकेका छैनन् । 

३. संकटमा अर्थतन्त्र

आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा मात्र ५७ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रुपैयाँ बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा २३ खर्ब ५७ अर्ब छ करोड रुपैयाँ नाघेको हो । कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख रुपैयाँ र बाह्य ऋण ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ रहेको छ । 

चालू आवको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा गरेको खर्च करिब तीन गुणाले बढी छ । गत कात्तिक मसान्तसम्ममा सरकारले २९ अर्ब ९८ करोड ९४ लाख रुपैयाँ बराबर पुँजीगत खर्च गरेको छ । जबकि यही अवधिमा सरकारले सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा भने ८१ अर्ब ६४ करोड ४४ लाख रुपैयाँ बराबर खर्च गरेको छ ।

पछिल्ला वर्षहरूमा सरकारले पुँजीगत खर्च गर्न नसक्ने तर सार्वजनिक खर्चको दायित्व भने बढ्दै जाने स्थितिको सामना मुलुकले गरिरहेको छ । पुँजी निर्माणका क्षेत्रमा खर्च गर्न नसक्नु तर साधारण प्रकृतिको खर्च व्यवस्थापनका लागि पनि सरकारी राजस्वले धान्न नसक्नुलाई ठूलो समस्याका रूपमा लिन सकिन्छ । सरकार पुँजीगत खर्च गर्न नसक्ने तर न्यून राजस्व उठेका कारण घाटा बजेट बढ्ने अवस्था अहिले छ ।

४. गठबन्धनमा मात्र ध्यान

तेस्रो पटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल वर्षभरि नै सत्ता गठबन्धन बलियो बनाउनमा केन्द्रित रहे । गत वर्षको पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री भएका दाहालले दुई महिनामै अर्को गठबन्धन बनाउन पुगेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका दाहाललाई एक वर्ष गठबन्धन नै बलियो बनाउनमा समय लाग्यो । गठबन्धनमा गडबड हुन थालेपछि दाहालकै प्रयासमा ४ असार ०८० मा माओवादी, जनता समाजवादी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्दको नेकपासहित समाजवादी मोर्चा गठन भयो । 

५. गफमा मस्त, काममा सुस्त

यो कार्यकाल ‘अन्तिम अवसर’ का रूपमा लिएको बताए पनि प्रचण्डले त्यसको सही सदुपयोग भने गर्न सकिरहेका छैनन्  । सरकारले प्राथमिकतामा राखेका सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायका काममा गति सुस्त छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि दाहालले ‘कुराभन्दा काम बढी गर्ने’ बताए । तर, त्यसलाई व्यवहारमा लागू गर्न सकिरहेका छैनन् । 

एक वर्षे कार्यकालमा प्रचण्डले हरेक दिन भ्रमण र  कार्यक्रममा भाषण नै गरेर समय बिताए । सुशासनमा जोड दिएको भन्दै ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी, सुन तस्करी प्रकरणमा  प्रचण्डले ‘आक्रामक’ सुरुवात गरे पनि पछिल्ला दिनमा भने त्यसको प्रगति सुस्त देखिन्छ । 

  • प्रकाशित मिति : पुस १५, २०८० आइतबार १४:९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया