logo-img

पर्यटन क्षेत्रका लागि सन्तोषजनक रह्यो वर्ष २०२३, भित्रिए लक्ष्यभन्दा बढी पर्यटक
पर्यटन क्षेत्रका लागि ‘उत्सव’ अंग्रेजी नयाँ वर्ष, होटल भरिभराउ

आज (सोमबार) अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन । पर्यटन क्षेत्रमा पुरानो अंग्रेजी वर्षको बिदाई र नयाँ वर्षको स्वागतले विशेष अर्थ राख्छ । यो समय पर्यटन क्षेत्र झकिझकाउ हुने गरेको छ भने पर्यटकको चहलपहल पनि बाक्लै हुन्छ । केही वर्ष कोरोनाले सिथिल बनेको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किन थालेको छ । 

पर्यटन पुनरुत्थानको दिशामा रहेको पर्यटन क्षेत्रमा नयाँ वर्षले उत्साह छाएको होटल एसोसियसन नेपाल (हान) का अध्यक्ष विनायक शाह बताउँछन् । ‘नयाँ वर्ष पर्यटन क्षेत्रका लागि उत्सवकै रुपमा लिइन्छ,’ उनी भन्छन्, ‘यो अवसरमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । जसले व्यवसायीमा पनि सकारात्मक आशा जगाएको छ ।’ 

अङ्ग्रेजी नयाँ वर्षको अवसरमा प्रमुख पर्यटकीयस्थलमा चहलपहल बढेको उनी बताउँछन् । शाहका अनुसार प्रमुख पर्यटकीयस्थलका होटल बाह्य तथा आन्तरिक पर्यटकले भरिभराउ छन् । पर्यटक खचाखच भएपछि पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन् ।



कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय आन्तरिक पर्यटकको आगमन बढेपछि लयमा फर्किएको छ । लामो समय ओरालो लागेको पर्यटन व्यवसायमा दुई वर्षयता चहलपहल बढेको र यस वर्षको अङ्ग्रेजी नयाँ वर्षमा भने पर्यटकीय चाप बढ्दा व्यवसायीमा उमङ्ग थपिएको उनी बताउँछन् । ‘कोरोनापछि पर्यटन क्षेत्रले फेरि लय समातेको छ,’ शाह भन्छन्, ‘विदेशी तथा स्वदेशी पर्यटकको चाप ह्वात्तै बढेको छ । नयाँ वर्षको अवसरमा सामान्यदेखि तारे होटलमा पर्यटकको चाप निकै बढ्यो । जसका कारण पर्यटन व्यवसायी उत्साहित छौँ ।’

होटल एसोसियसन नेपाल (हान) का अध्यक्ष विनायक शाह

नयाँ वर्षका लागि सतप्रतिशत होटल बुकिङ भएको होटल एसोसियसन नेपालले जनाएको छ । विशेषगरी पोखरा, बन्दीपुर, चितवन, काठमाडौं, धुलिखेल, सुकुटे, नगरकोट लगायत ठाउँका होटलमा धेरै बुकिङ भएको हानको भनाइ छ । कोरोनापछि यसपालि विदेशी पर्यटकको संख्या पनि बढेको छ । विदेशीसँगै स्वदेशी पर्यटकहरू पनि घुमफिरका लागि विभिन्न गन्तव्यमा पुग्ने हुँदा होटलमा अग्रिम बुकिङ भएको हो । 



‘काठमाडौं, पोखरा, सौराहा, धुलिखेल, नगरकोटलगायतका पर्यटकीय गन्तव्यका होटलहरू यतिबेला पर्यटकले भरिभराउ छन्,’ हानका अध्यक्ष शाहले भने, ‘यसपालिको अंग्रेजी नयाँ वर्षमा स्वदेशी र विदेशी पर्यटकको संख्यामा उल्लेखिय वृद्धि भएको छ । पर्यटन क्षेत्र उत्साहजनक भएको छ ।’ नयाँ वर्ष विशेष बनाउन र पर्यटकको आकर्षण बढाउन गन्तव्यहरूमा विभिन्न कार्यक्रमहरू समेत गरेको उनी बताउँछन् । 

भित्रिए सरकारको लक्ष्यभन्दा बढी पर्यटक



अध्यागमन विभागका अनुसार सन् २०२३ मा १० लाख १४ हजार ८८५ पर्यटक नेपाल घुम्न आएका छन् । सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा १० लाख १४ हजार ८८५ पर्यटक नेपाल घुम्न आएका हुन् । जसमा विश्वका २१९ देशका रहेका छन् । 

नेपाल आउने पर्यटकमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । सो अवधिमा भारतबाट मात्र ३ लाख १९ हजार ९३६ जना नेपाल घुम्न आएको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै, भारतपछि नेपाल घुम्न आउने धेरै पर्यटकमा अमेरिका, चीन, बेलायत र अस्ट्रेलियाका पर्यटक रहेका छन् । 

अमेरिकाबाट १ लाख ३५७, चीनबाट ६० हजार ८७८, बेलायतबाट ५२ हजार ८६६, अस्ट्रेलियाबाट ३८ हजार ७९८, बंगलादेशबाट ३६ हजार ४८३, जर्मनीबाट २६ हजार ९८०, थाइल्याण्डबाट २५ हजार ६७८, दक्षिण कोरियाबाट २३ हजार ७४३, फ्रान्सबाट २३ हजार १६८ जना पर्यटक नेपाल घुम्न आएका हुन् । 

यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ४४, मार्चमा ९९ हजार चार सय २६, अप्रिलमा ९८ हजार सात सय ७३, मेमा ७७ हजार सात सय तीन, जुनमा ७२ हजार दुई सय ५०, जुलाईमा ८८ हजार ६५, अगस्टमा ६७ हजार एक सय ५३, सेप्टेम्बरमा ९१ हजार १२, अक्टोबरमा एक लाख १७ हजार तीन सय सात, नोभेम्बरमा एक लाख आठ हजार ६ सय ३० र डिसेम्बरमा ९६ हजार ५ सय ७७ जना विदेशी पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ । 

योसँगै २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको थियो । सरकारको सो लक्ष्य पूरा भएको हो । 

नेपालमा हालसम्म सबैभन्दा धेरै सन् २०१९ मा ११ लाख १९ हजार एक सय ९१ जना पर्यटक भित्रिएका थिए । त्यसयता कोभिडका कारण सन् २०२० मा २ लाख ३० हजार र सन् २०२१ मा डेढ लाख पर्यटक भित्रिएका थिए । कोभिडपछि सन् २०२२ मा भने ६ लाख १४ हजार आठ सय ६९ पर्यटक भित्रिएका थिए ।

पर्यटन क्षेत्रका लागि ‘उत्सव’ अंग्रेजी नयाँ वर्ष

केही वर्षअघि विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरस ‘कोभिड–१९’ का कारण विश्वको हरेक क्षेत्र तह र तप्का प्रभावित बनेको थियो । कोरोनाको कारण विशवभरको पर्यटन क्षेत्र नराम्ररी प्रभावित बन्यो । त्यसको असर नेपाली पर्यटन क्षेत्रमा नपर्ने कुरै थिएन । भर्खरै जुर्मुराएको नेपाली पर्यटन क्षेत्र पनि कोरोनाको प्रभावबाट नराम्ररी थलियो । तर, कारोनाले पर्यटन क्षेत्रमा लागेको घाउ बिस्तारै निको हुँदै गएको ट्रेकिङ एजेन्सी एसोसियसन नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोला बताउँछन् । 

उनका अनुसार अब आउने समयमा अझ पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको उनी बताउँछन् । ‘नयाँ वर्षमा पर्यटक आगमनले पर्यटन व्यवसाय उत्साहित बनेको छ,’ बास्तोला भन्छन्, ‘अब विस्तारै पर्यटन क्षेत्रले नयाँ उचाइ छुनेछ । अंग्रेजी नयाँ वर्ष पर्यटन क्षेत्रको लागि पर्यटक आगमन बढाउन तथा नेपालको अन्तर्राष्ट्रिय बजार विस्तार र प्रवर्द्धनका लागि उपयुक्त माध्यम पनि हो ।’

टानका अध्यक्ष नीलहरि बास्तोला

कुनै पनि ‘सेलिब्रेशन डे’ले पर्यटन क्षेत्रलाई उत्साहित पार्ने भएकाले लगानी तथा आर्थिक गतिविधिलाई प्रोत्साहित गर्ने उनी बताउँछन् । ‘नयाँ वर्षमा नयाँ कुरा गरौँ भन्ने सोचअनुसार मानिसहरू बिदामा बस्ने र योजना बनाउने गर्छन्,’ बास्तोलाले भने, ‘हवाई सेवा सञ्जाल र स्तरीय सडक भए मात्रै पनि चीन र भारतबाट लाखौं पर्यटक भित्र्याउन पर्यटकीय गन्तव्यका हिसाबले नेपाल उपयुक्त स्थान हो । तर प्रचारप्रसार र पूर्वाधार अभावले यो क्षेत्रको विकास अपेक्षितरूपमा हुन सकेको छैन ।’

कोरोनाबाट ओरालो लागेको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किन थालेपनि अझै सोचे जति पर्यटक नेपाल आउन नसकेको हानका अध्यक्ष शाह बताउँछन् । उनका अनुसार नेपालमा प्रमुख पर्यटन गन्तव्यबाट सिधा हवाइ सेवा नहुनु, हवाइ भाडा महँगो, विदेशी पर्यटकलाई उपलब्ध गराइने सेवा सुविधा बारेमा पर्याप्त सूचना प्रवाह हुन नसक्दा सोचे जति पर्यटक नेपाल भित्रिन सकेका छैनन् । यस्तै पर्यटनमैत्री पूर्वाधार विकास गर्न नसक्नु, पर्यटन विकासका संभावना र सम्भाव्य स्थलहरूको उचित विकास, विस्तार, संरक्षण र प्रचार प्रसार गर्न नसक्दा पनि सोचे जति पर्यटक नेपाल भित्रिन नसकेको उनी बताउँछन् । 

त्यसकारण सरकारले पर्यटक ल्याउने वातावरणको विकास गर्नुपर्ने उनको भनाइ छ । ‘पर्यटकलाई इन्गेज गर्ने गन्तव्यहरूको विकास पनि सरकारले गर्दै लानुपर्छ,’ हानका अध्यक्ष शाहले भने, ‘हाल पर्यटकीय गन्तव्य सीमित छन् । पर्यटकीय गन्तव्यमा जानका लागि सहज वातावरण छैन । सडक सुधार भएको छैन । सडक विस्तार गरी पर्यटकका लागि यात्रा सहजीकरण गर्नुपर्छ । यसरी सरकारले दीर्घकालीन सोच, नीति योजना खाकासहित गुणस्तरीय पर्यटक भित्र्याउने योजना अगाडि सार्नुपर्ने देखिन्छ ।’ साथै थोरै आए पनि गुणस्तरीय पर्यटक ल्याउन सकेको खण्डमा राष्ट्र र पर्यटक उद्योगलाई टेवा पुग्ने उनको भनाइ छ । 

त्यसका लागि नेपाल वायुसेवा निगमलाई बलियो बनाएर दुई देशबीच सिधा हवाई मार्गले जोड्न सके टिकट पनि सस्तो भएर पर्यटकको आगमनमा उल्लेख्य वृद्धि हुन सक्ने शाहको आकलन  छ । यस्तै, आधुनिक प्रचार प्रसारको माध्यम (डिजिटल) को प्रयोग गरेर नेपालमा पर्यटक आउने सम्भाव्यता भएका मुलुकमा सरकारले प्रचार–प्रसारमा जोड दिनुपर्ने देखिन्छ ।

  • प्रकाशित मिति : पुस १६, २०८० साेमबार १९:४८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया