logo-img

घलेगाउँका होमस्टे पर्यटकले खचाखच, व्यवसायी उत्साहित

लमजुङको क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका घरबास (होमस्टे) यतिबेला अंग्रेजी नयाँ वर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन् ।

समुद्री सतहबाट २ हजार १ सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले बताए । ‘विगतमा ४०–५० जना पर्यटक आगमन भइरहे पनि नयाँ वर्ष मनाउन आउने पर्यटक यतिबेला बढेका छन्,’ उनले भने ।

अहिले दैनिक तीन–चार सयको हाराहारीमा पर्यटक आएका छन् । ३ सय जनाको क्षमता रहेको घलेगाउँ घरबास सबै पर्यटकले भरिएर अन्य घर र होटलमा सारिएको उनले बताए ।  



घरबास सञ्चालक हेमकुमारी गुरुङकाका अनुसार अहिले घलेगाउँका घरबास सञ्चालकलाई भ्याइनभ्याइ छ । उनले पर्यटक आउने अहिलेको याममा प्रतिघरबासले ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका जानकारी दिइन् ।

वि.सं २०५७  देखि सञ्चालनमा भएको घरबास यहाँ बढेर अहिले ४२ घरबास पुगेको छ । पर्यटकको सत्कारसँगसँगै घरबासमा आफ्ना कला, भेषभूषा, संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरुको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गरेका छन् ।

वि.सं २०६२/६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटन गाउँका रूपमा घोषणा गरेको थियो ।  



घलेगाउँँबाट ८ हजार  १ सय ६३ मिटरको मनास्लु हिमाल, ७ हजार आठ सय ३५ को ङादीचुली (डा हर्क हिमाल), सात हजार नौ ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो)लगायत धेरै हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका धान, मकै, कोदो, भटमास, साग, सिस्नो, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुबाट तयार हुने स्वादिष्ठ परिकार पस्कने गरेका छन् ।  

आफ्ना कला संस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरी गाउँमा आएका पर्यटकलाई स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला,  गुच्छा र  खादा चढाइन्छ । 



विभिन्न परम्परागत नृत्य प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा नै हो । घलेगाउँमा प्रतिव्यक्ति एक रातको १  हजार २ सय ५० रुपैयाँ शुल्क लिइन्छ । रासस   

  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार ११:५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया