एडीबी र माल्दिभ्सबीच ५ करोड ५ लाख अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर

एसियाली विकास बैङ्क (एडिबी) र माल्दिभ्सबीच माल्दिभ्समा नवीकरणीय ऊर्जा उत्पादन र वितरण विस्तारका लागि ५ करोड ५ लाख अमेरिकी डलरसम्मको ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापछि माल्दिभ्सका लागि एडीबीका उपमहानिर्देशक सिन्डी माल्भिसिनीले भने, ‘यो परियोजना माल्दिभ्सको ऊर्जा सुरक्षा बढाउन र ऊर्जा क्षेत्रको दिगो रूपान्तरणलाई सहज तुल्याउन तयार गरिएको कार्यक्रम हो ।’ 

माल्दिभ्सका अर्थमन्त्री मोहम्मद शफीकले भने, ‘विशेष गरी ऊर्जा, यातायात, पानी र शहरी पूर्वाधार र सार्वजनिक क्षेत्रको व्यवस्थापनको क्षेत्रमा बैङ्क माल्दिभ्समा ‘महत्वपूर्ण विकास साझेदार’ रहेको छ ।’ 

शफीकले अगाडि थपे, ‘नवीकरणीय ऊर्जा क्षेत्रको विस्तार गर्ने हाम्रो यात्राप्रति बैङ्क र अन्य साझेदारको प्रतिबद्धता देखेर म पनि हर्षित छु ।’ 

कार्यक्रम अन्तर्गत समुद्रमा आधारित फ्लोटिङ सोलार प्यानल, सामुद्रिक ऊर्जा उपकरण, साना एअर टर्बाइन र फ्लो ब्याट्रीजस्ता उदीयमान प्रविधिहरू स्थापना गरिने एडीबीले जनाएको छ ।

एडिबीको सहयोगमा एसियाली विकास कोषबाट चार करोड १५ लाख डलर, साधारण पुँजीगत स्रोतबाट ८५ लाख डलर सहुलियतपूर्ण ऋण र जलवायु परिवर्तन कोषबाट ५ लाख डलर अनुदान रहेको बैङ्कले जनाएको छ ।  





  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार ११:५८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया