सरकारमा रहेकाहरू सत्ता टिकाउन मात्रै लागे, राष्ट्रियता जोखिममा पर्‍यो : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकार प्रमुखहरू सत्ताको लागि आफ्नो हितलाई राष्ट्रिय हित भनेर अप व्याख्या गर्दै आएको बताएका छन् । ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा बुधबार आयोजित ‘राष्ट्रिय एकता तथा मेलमिलापको सान्दर्भिकता’ विषयको विचार गोष्ठीमा उनले राष्ट्रियतामा नयाँ ढंगको जोखिम रहिरहेकाले राष्ट्रिय एकता सान्दर्भिक रहेको बताए । 

उनले भने, ‘नेताहरू कतिपय सरकार प्रमुखहरू सत्ता टिकाउनका लागि आफ्नो हितलाई राष्ट्रिय हित भनेर अपव्याख्या गर्दै गइरहेको अवस्था छ । हाम्रो राष्ट्रियतामा नयाँ ढंगको जोखिम छ ।’ 

राष्ट्रिय एकता र मेलमिलाप राष्ट्रको लागि केही गरौँ, भन्ने सोचका साथ हुनुपर्ने भन्दै राजनीतिलाई जनताको हितमा केन्द्रित गर्ने कुरामा सकारात्मक एकता जरुरी भएको उनको भनाइ छ । 
यस्तै, उनले जसरी तीव्र रूपमा भूराजनीतिक परिवर्तनहरू आइरहेको यस्तो अवस्थामा ध्यान दिएर कदम चाल्नुपर्ने बताए । 

उनले भने, ‘राष्ट्रियताको बारेमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाभिमानमाथि कहाँ जोखिम होला र भन्ने लाग्न सक्छ, तर जसरी तीव्र रूपमा भूराजनीतिक परिवर्तनहरू आइरहेको छ । अमेरिका युरोपले नेतृत्व गरेको एउटा सत्ता भत्किँदै छ । चीन, भारत, जस्ता नयाँ शक्तिहरू उदाइरहेका छन् । त्यो तनाव नेपालजस्ता देशहरूमाथि परिरहेको छ । यस्तो अवस्थामा ध्यान दिएर कदम चाल्नुपर्ने छ ।’ 

उक्त कार्यक्रममा पूर्व राजदूत जयराज आचार्यले राष्ट्रिय मेलमिलाप र गठबन्धन  फरक विषय भएको भन्दै गठबन्धन सत्ता र मन्त्रीमण्डलको लागि मात्रै भएको बताए । उनले भने, ‘राष्ट्रिय मेलमिलाप भनेको र गठबन्धन भनेको कुरा फरक हो । अहिले गठबन्धन छ, राष्ट्रिय मेलमिलाप छैन । गठबन्धन के को लागि छ सत्ताको लागि, मन्त्रीमण्डलको लागि छ, राष्ट्रको लागि होइन, सबैभन्दा दुर्भाग्य कुरा यही छ । अहिले मुद्दा सत्ताको, पदको छ ।’ 





  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार १८:२१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया