logo-img

विदेशी आइभिएफ सेन्टरको बिगबिगी : नेपाली आनुवांशिकता नै जोखिममा पर्ने खतरा

हिजोआज नेपालका मुख्य सहरका विभिन्न स्थानमा ‘यहाँ आइभिएफ सेवा दिइन्छ’ भन्ने होडिङ बोर्ड देखिन्छन् । यस्ता होडिङ बोर्ड कति विश्वासिला हुन्, यसतर्फ कसैको ध्यान गएको देखिँदैन । 

पछिल्लो समय नेपाली दम्पतीमा निःसन्तानपन बढ्दै गइरहेको छ । जसका विभिन्न कारण छन् । तीमध्ये केही कारण छन्, जसले निःसन्तानपनको समस्या बढिरहेको छ । स्वास्थ्य विज्ञका अनुसार हिजोआज महिलाहरूले ३० वर्ष कटेपछि विवाह गरिरहेको पाइन्छ । यस्तै, युवायुवतीहरू रोजगारीका लागि विदेश जाने, ढिलो विवाह, लामो समयसम्म श्रीमान्–श्रीमती टाढा बस्ने, खाडी मुलुकतिर काम गर्न जाँदा निःसन्तानपन बढ्दो छ ।

विज्ञका अनुसार केही वर्षअघिसम्म नेपालमा ८–१० प्रतिशतमा बाँझोपन देखिएकोमा हाल १३–१५ प्रतिशत विवाहित जोडीमा बाँझोपन रहेको छ । निःसन्तानपनको समस्या बढ्दै जाँदा इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) अर्थात् टेस्टट्युब बेबी सेवामार्फत बच्चा जन्माउने संख्या पनि बढ्दो छ ।

नेपालमा आइभिएफ सेवा धेरै पहिलेदेखि सुरु भए पनि यसले सफलता भने विसं ०६० सालमा पाएको ह्याम्स अस्पतालमा कार्यरत वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल बताउँछन् । ०६० साल फागुन २२ गते आइभिएफ प्रविधिमार्फत नैपालकै पहिलो टेष्टट्युब बेबी ओममणि तामाङको जन्म भयो । सोही वर्ष मात्रै आइभिएफ प्रविधिमार्फत ओम अस्पतालमा चारवटा बच्चाको जन्म भएको थियो । ओममणिपछि युगेश्वर र युगम्बर कोइराला, निष्क भट्टराईको जन्म भएको थियो । त्यसयता नेपालमा आइभिएफ प्रविधिमार्फत करिब १२ हजारजति बालबालिकाको जन्म भइसकेको डा. रिजालको अनुमान छ । 

डा. रिजाल भन्छन्- मानिसको रगत, वंशाणुसँग सम्बन्धित भएकाले यसलाई हलुका रूपमा लिनुहुँदैन । बाहिरबाट आएका जसलाई पनि आइभिएफ खोल्न दिने वातावरण हुनुहुँदैन । यस्तो हुँदा हाम्रो आनुवंशिकता (हेरिडिटी) नै अन्धकारमा पर्ने देखिन्छ । त्यसैले यसलाई नियन्त्रण गर्न सरकार लागि पर्नुपर्छ

बर्सेनि कति बच्चा नेपालमा आइभिएफ प्रविधिको सहयोगमा जन्मन्छन् भन्ने यकिन तथ्यांक सरकारसँग नभए पनि पछिल्ला वर्षमा काठमाडौंलगायत ठूला सहरमा तीव्र रूपमा खुल्दै गएका आइभिएफ सेन्टरको संख्या हेर्दा यो प्रविधिमार्फत सन्तान जन्माउने अभिभावकको संख्या बढ्दो छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । नेपालमा हाल ४० वटा आइभिएफ सेन्टर सञ्चालनमा रहेको डा. भोला रिजाल बताउँछन् । नेपालमा पछिल्लो समय बाहिरबाट आएका व्यक्तिले पनि आइभिएफ सेन्टर खोल्ने प्रचलन बढिरहेको उनको भनाइ छ । 



नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी आइभिएफ सेन्टर खोलिनुलाई सकारात्मक रूपमा लिन्छन् । उनी भन्छन्, ‘बजारमा माग भएर नै आइभिएफ सेन्टर खुलेका हुन् । सरकारको मापदण्ड पूरा गरेर खुलेका हुन् भने विश्वास गर्न सकिन्छ । तर, सरकारी मापदण्डअनुसार खुलेका छैनन् भने सरकारले त्यसको अनुगमन गर्न एकदमै जरुरी छ ।’
 
डा. सुवेदीका अनुसार पहिला–पहिला निःसन्तानपन भएका नेपाली दम्पती आइभिएफ सेवा लिन भारतलगायत अन्य देशमा पनि जान्थे । हिजोआज नेपालमै आइभिएफ प्रविधिमार्फत बच्चा जन्मिरहेका छन् । जुन सकारात्मक पक्ष हो । तर, गुणस्तरीय सेवामा भने आइभिएफ सेन्टरले ध्यान पुर्याउनुपर्छ र सरकारले पनि समय–समयमा निगरानी गरिरहनुपर्ने उनको भनाइ छ ।



‘सर्वप्रथम त आइभिएफ सेवा सरकारी स्वास्थ्य संस्थाबाट दिँदा धेरै उत्तम हुन्थ्यो । नेपालभर एउटा सरकारी अस्पतालबाट मात्रै आइभिएफ सेवा प्रदान गरिँदै आइएको छ,’ डा. सुवेदी भन्छन्, ‘निजी तवरबाट खुलिरहेका आइभिएफ सेन्टर पनि दर्ता भएका छन् कि छैनन् अनुगमन गर्नुपर्यो । दर्ता भइसकेका आइभिएफ सेन्टरले गुणस्तरीय सेवा प्रदान गरेका छन् कि छैनन् त्यसको निरीक्षण गर्नुपर्छ ।’
 
निःसन्तापन भएका सबै दम्पतीलाई आइभिएफ सेवाको खाँचो नपर्ने डा. सुवेदी बताउँछन् । ‘निःसन्तानपन समस्या के–कति कारणले भएको त्यसको कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । निःसन्तानको समस्या भोगिरहनुभएका दम्पतीले विशेषज्ञ चिकित्सकलाई देखाएर अन्य उपाय अपनाएर पनि सन्तान जन्माउन सकिन्छ,’ डा. सुवेदीले भने । 

निःसन्तान दम्पतीका लागि आइभिएफ प्रविधि वरदानजस्तै भए पनि पछिल्लो समय व्यापारमुखी बन्दै गएको डा. रिजालको भनाइ छ । सोही कारण ४१ जना सदस्य रहेको फर्टिलिटी सोसाइटी अफ नेपाल (फेसोन)का अध्यक्षसमेत रहेका डा. रिजालको नेतृत्वमा नेपालमा धमाधम खुलिरहेका आइभिएफ सेन्टरको अनुगमन तथा नियन्त्रणका लागि सरकारलाई घच्घच्याएका छन् । 

‘विदेशबाट आएर आइभिएफ सेन्टर सञ्चालनका लागि होडबाजी भइरहेको छ । यसलाई नियन्त्रण गर्नुपर्छ भनेर हामीले आचारसंहिता बनाएर नेपाल मेडिकल काउन्सिलको अगुवाइमा एउटा समिति गठन भएको छ,’ डा. रिजाल भन्छन्, ‘मानिसको रगत, वंशाणुसँग सम्बन्धित भएकाले यसलाई हलुका रूपमा लिनुहुँदैन । बाहिरबाट आएका जसलाई पनि आइभिएफ खोल्न दिने वातावरण हुनुहुँदैन । यस्तो हुँदा हाम्रो आनुवंशिकता (हेरिडिटी) नै अन्धकारमा पर्ने देखिन्छ । त्यसैले यसलाई नियन्त्रण गर्न सरकार लागि पर्नुपर्छ ।’

उनका अनुसार विदेशबाट आएर नेपालमा आइभिएफ सेन्टर खोलेकाले के गर्छन् ? कस्तो गर्छन् ? कुन किसिमको व्यवहार गर्छन् जस्ता विषयमा केही पनि थाहा नहुँदा त्यसले निकट भविष्यमा समस्या निम्तिने सम्भावना छ । 

त्यसैले समयमै सरकारले अनुगमन गर्न आवश्यक छ । आइभिएफ सेवा विस्तार भइरहेको प्रति खुसी देखिएका डा. रिजाल यसको आडमा हुनसक्ने विकृतिलाई लिएर भने चिन्तित देखिन्छन् । त्यसैले उनीलगायत अन्य चिकित्सकहरू आचारसंहिता बनाउन तम्सिएका हुन् । जुन आचारसंहिताका लागि अहिले नेपाल मेडिकल काउन्सिलले समेत काम गरिरहेको उनको भनाइ छ ।

यो सेवा ग्रामीण भेगका निःसन्तान दम्पतीको पहुँचमा नपुगेको हुँदा त्यसको लागि राज्यले सहजीकरण गर्नुपर्ने डा. रिजालले बताए । उनका अनुसार नेपालमा आइभिएफको सफलतादर ३० देखि ४० प्रतिशत छ । यसका साथै आइभिएफको सफलता दर आइभिएफ सेन्टरले दिने सेवा, सुविधामा पनि भर पर्ने उनको भनाइ छ ।

आइभिएफ सेवा मात्रै नभएर प्रसूतिगृहले ​विदेश जाने वा अरू नै कारणले सन्तान जन्माउन ढिला भइरहेका दम्पतीहरूको पुरुषको शुक्रकीट र महिलाको अण्डासमेत फ्रिज गरेर राख्ने सुविधा पनि प्रदान गर्दै आएकाे छ 

एउटा मात्रै सरकारी अस्पतालमा सेवा सञ्चालन

हिजोआज विभिन्न निजी स्वास्थ्य संस्थाले आइभिएफ सेवा दिइरहेका छन् । यसैगरी काठमाडौं उपत्यकामा मात्रै हेर्दै जाँदा च्याउसरी आइभिएफ सेन्टर खुलिरहेको विभिन्न ठाउँमा देखिने होडिङ बोर्डलाई हेरेर पनि भान हुन्छ । तर, सरकारी स्तरमा हेर्दा एउटा स्वास्थ्य संस्थाबाट मात्रै आइभिएफ सेवा प्रदान भइरहेको छ । 

परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालमा विसं ०६८ सालदेखि आइभिएफ सेवा सञ्चालनमा थियो । उक्त सेवा चार वर्ष सञ्चालन भएपछि बन्द भएको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारी बताउँछन् । 

उनका अनुसार ०७९ सालदेखि भने आइभिएफ सेवा निरन्तर सञ्चालनमा छ । प्रसूति अस्पतालमा आइभिएफ सेवा लिँदा लगभग दुई लाख रुपैयाँसम्म खर्च लाग्छ । ‘आइभिएफ सेवाका लागि बढी शुल्क लाग्ने भनेको औषधिका लागि हो । त्यो सबै गरेर अस्पतालले दुई लाख मात्रै शुल्क लिने गरेको छ,’ डा. अधिकारीले भने । 

यस्तै प्रसूतिगृहले आइभिएफ सेवा मात्रै नभएर विदेश जाने वा अरू नै कारणले सन्तान जन्माउन ढिला भइरहेका दम्पतीहरूको पुरुषको शुक्रकीट र महिलाको अण्डासमेत फ्रिज गरेर राख्ने सुविधा रहेको डा. अधिकारीले बताए । ‘आइभिएफ सेवा मात्रै होइन, विदेश जाने वा अन्य केही कारणले सन्तान जन्माउन ढिला भइरहेका दम्पतीहरूको पुरुषको शुक्रकीट र महिलाको अण्ड फ्रिज गरेर राख्ने सुविधा विस्तार गरेका छौँ, उनले भने, ‘पछिल्लो समय वैदेशिक रोजगारीमा जाने पुरुष तथा महिलाहरूमा निःसन्तानपनको समस्या बढ्दो छ । यसले गर्दा यसरी आफ्नो अण्डा र शुक्रकीट सुरक्षित राख्न सकियो भने भविष्यमा निःसन्तानको समस्या भोग्नुपर्दैन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति लिएर सञ्चालन हुने आइभिएफ सेन्टर एकदमै न्यून छन् । मन्त्रालयको विवरणअनुसार अनुमतिको प्रक्रियामा रहेका ४० वटा आइभिएफ सेन्टरले सेवा दिइरहेका छन् । देशभरका नौवटा आइभिएफ सेन्टरले टेस्टट्युब बेबी सेवा सञ्चालनका लागि अनुमति पाएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लयुएचओ)ले विश्वका प्रत्येक ६ मध्ये एकजना निःसन्तानपन समस्याबाट प्रभावित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

डब्ल्युएचओले हालै सार्वजनिक गरेको ‘इनफर्टिलिटी प्रिभिलेन्स स्टिमेट्स १९९०–२०२१’ मा विश्वका १७.५ प्रतिशत जनसंख्या निःसन्तानपनबाट प्रभावित भएको उल्लेख छ । यो दर न्यून र मध्यम आय भएका मुलुकहरूको तुलनामा उच्च आय भएका देशहरूमा बढी रहेको प्रतिवेदनमा जनाइएको छ ।

कुनै कारणले डिम्बाशयमा अण्डा नबनेर ट्युबमा पुग्दैन वा ट्युब बन्द भएर वीर्य र अण्डाको संयोजन हुन पाएन अथवा पाठेघरमा बच्चा बन्ने प्रक्रिया हुन सकेन भने आइभिएफ विधि प्रयोग गरिन्छ 

के हो आइभिएफ प्रविधि ? 

प्राकृतिक गर्भाधानमा महिलाको डिम्बाशयबाट डिम्ब निस्कने, शुक्रकीटसँगको मिलनपछि गर्भाशयमा भ्रूण बन्नेजस्ता प्रक्रिया हुन्छ । तर, महिला वा पुरुषका कारण गर्भाशयमा भ्रूण बन्ने र पाठेघरमा बस्ने प्रक्रियामा कुनै समस्या देखिएमा प्राकृतिक गर्भाधान हुन सक्दैन । जसको विकल्पको रूपमा आइभिएफ प्रविधि आएको हो ।

सामान्यतया महिलामा महिनावारीको बीचको समयमा एउटा अण्डा बन्छ । त्यो अण्डा डिम्बाशयबाट निस्किएर ट्युबमा जान्छ । त्यही बेला यौनसम्पर्क हुँदा योनीबाट वीर्य पनि पाठेघर हुँदै ट्युबमा पुग्छ । यसरी ट्युबमा बनेको भ्रूण पछि आएर पाठेघरमा बस्छ । बच्चा बन्ने यो एउटा सामान्य प्रक्रिया हो ।

यदि कुनै कारणले डिम्बाशयमा अण्डा नबनेर ट्युबमा पुग्दैन वा ट्युब बन्द भएर वीर्य र अण्डाको संयोजन हुन पाएन अथवा पाठेघरमा बच्चा बन्ने प्रक्रिया हुन सकेन भने आइभिएफ विधि प्रयोग गरिन्छ । बच्चा बन्ने यही प्रक्रियालाई कृत्रिम तरिकाले बाहिर प्रयोगशालामा गरिनुलाई आइभिएफ पद्धति भनिन्छ । सामान्य भाषामा यसलाई टेष्ट्युब बेबी पनि भनिन्छ ।

  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार १८:५७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया