logo-img

१० वर्षमा पनि बनेन घुमाउनेको पुल, ठेक्का तोड्ने प्रक्रिया सुरु
फाइल तस्बिर

तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथि निर्माणाधीन घुमाउने पुलको कामको गति नबढेपछि सडक डिभिजन कार्यालय दमौलीले ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ ।  

बुद्धसिंह मार्गअन्तर्गत पर्ने उक्त घुमाउनेमा निर्माण भइरहेको पुलको काम सन्तोषजनक नभएपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रिया थालेको हो । कार्यालयले निर्माण कम्पनी मृत सञ्जीवनी निर्माण सेवाका नाममा सूचना जारी गरी कार्यालयका तर्फबाट पटक–पटक मौखिक तथा लिखित जानकारी गराउँदासमेत निर्माणको प्रगति अत्यन्तै न्यून देखिएको, पेस गरिएका कामको तालिका, माइलस्टोन र कामको क्रमागत प्राथमिकताअनुसार निर्माण सम्पन्न गर्ने/गराउने सम्बन्धमा कुनै प्रयास नगरेको र तदारुकतासमेत नदेखाएकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम ठेक्का अन्त्य किन हुनु नपर्ने भन्दै स्पष्टीकरण माग गरेको छ ।

सडक डिभिजनले सूचना प्रकाशित भएको मिति (२०८० पुस १९ गते) देखि १५ दिनभित्र सम्झौताको मर्म र कानुनी परिधिभित्र रहेर स्पष्ट प्रमाण र आधारहरूसहित उचित जवाफ पेस गरी निर्माण द्रुत गतिमा सञ्चालन गर्न भनेको छ । अन्यथा सार्वजनिक खरिद ऐन २०६३, सार्वजानिक खरिद नियमावली २०६४ र ठेक्का सम्झौताको सर्तबमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ । 

सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञवालीले उक्त कम्पनीले घुमाउनेको पुल निर्माण सम्पन्न गर्न कुनै तदारुकता नदेखाएपछि सूचना प्रकाशित गरिएको बताए । ‘यो पुलका बारेमा राष्ट्रिय स्तरमा समेत आवाज उठ्दै आइरहेको छ । निर्माण कम्पनीलाई बोलाएर समयमै काम सम्पन्न गर्न पटक–पटक लिखित र मौखिक आग्रह गरेका छौँ । तर कामको प्रगति सन्तोषजनक छैन,’ उनले भने ।

आर्क डिजाइनको उक्त पुल निर्माणका लागि तत्कालै आर्कको काम सुरु गरिहाल्नुपर्ने अन्यथा बर्खायाम सुरु भएपछि फेरि ६ महिना काम गर्न नसकिने भएपछि आर्कसम्बन्धी काम गर्ने प्राविधिकलाई तत्कालै झिकाएर काम गर्नुपर्ने ज्ञवालीको भनाइ छ । १५ दिनभित्रमा काम गर्ने प्रतिबद्धता र काम गर्ने स्पष्ट लक्षण नदेखाएमा उक्त कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रिया सुरु गरिने उनले जानकारी दिए । 

निर्माण कम्पनीले पहिलोपटक वि.सं २०७० असारमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तनपछि अन्तिम पटक वि.सं २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा वि.सं २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा ३० प्रतिशत मात्र प्रगति भएको छ ।



त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भए पनि पछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको थियो । अहिलेसम्म त्रिशूलीको वारिपारिका फाउन्डेसनको काम मात्रै सकिएको छ ।   

आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथिको घुमाउनेको पुलको लागत ९ करोड ५६ लाख रुपैयाँ रहेको छ । पुलको चितवनका तर्फको पिलर र सडकका कारणले नारायणगढ मुग्लिन सडकखण्ड भासिन सक्ने भन्दै सडक आयोजनाले डिजाइनसहितको सुरक्षा प्रत्याभूतिको ‘ग्यारेन्टी’ माग गर्दा काममा ढिलाइ भएको ठेकेदार कम्पनीको दाबी छ ।  



गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न पश्चात् पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । 

घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोर्याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ । रासस  

  • प्रकाशित मिति : पुस २०, २०८० शुक्रबार १५:५६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया