logo-img

नेपाल–भारतबीच भएका सम्झौता तथा सहमतिको निधिले गरे स्वागत

नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधामन्त्री विमलेन्द्र निधिले काठमाडौंमा बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भएका सम्झौता तथा सहमतिको स्वागत गरेका छन् । 

नेता निधिले आज विज्ञप्तिमार्फत यसले नेपाल–भारतबीच रहिआएको विशिष्ट सम्बन्धलाई थप बल पुर्याएको विश्वास व्यक्त गरेका छन् । सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायतासम्बन्धी सहमतिअनुसार अब भारतले २० करोडसम्मको अनुदान दिनसक्ने भएको छ । 

नेता निधिले यो विषय सकारात्मक भएको उल्लेख गर्दै अनुदानमा आधारित यस्ता परियोजना धेरै पहिलेदेखि नै सञ्चालित रहेको बताए । 

भारतले यस कार्यक्रमअन्तर्गत दुई करोड अनुदानबाट प्रारम्भ हुँदै पाँच करोडसम्मको रकम दिँदै आइरहेको थियो । ‘यस्तो परियोजना छनोट र स्वीकृतिका लागि सुरुदेखि नै नेपाल सरकारको सम्बन्धित निकाय, सरोकारवाला मन्त्रालय र अर्थ मन्त्रालयको संलग्नता र सहमति अनिवार्य रहँदै आएको छ । यसपटकको सम्झौतामा पाँच करोडबाट बढाएर २० करोड पुर्याएको मात्र हो । नेपालको विकासमा भारत सरकारको यस किसिमको सदासयताको म समर्थन गर्दछु,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसैगरी दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौताअनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्न सकिने भएको छ । यसबाट नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित हुनुका साथै नेपाललाई वार्षिक रु १० खर्ब हाराहारी आम्दानी हुनेछ । जसले भारतसँगको बढ्दो ब्यापार घाटा कम गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने नेता निधिले उल्लेख गरे । 

यसैगरी नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नेसनल थर्मल पावर कर्पोरेसनबीच नवीकरणीय ऊर्जा विकासका लागि सहकार्य गर्ने सहमति भएको छ । यसबाट जलवायु परिवर्तनको क्षेत्रमा भारत–नेपालबीच सहयोग अभिवृद्धिमा मद्दत पुग्ने उनले विश्वास व्यक्त गरेका छन् । 



नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था तथा अन्तरिक्ष विभागका तर्फबाट न्यू स्पेस इन्डियाबीच ध्रुवीय उपग्रह प्रक्षेपण वाहनमा मुनाल उपग्रह प्रक्षेपण सेवासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको छ । यसबाट स्याटेलाइटमा नेपालले अरुको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुने उनले बताए । 

यी सहमतिका साथै भारतीय सहयोगमा निर्मित त्रिवि केन्द्रीय पुस्तकालय भवनको परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र विदेशमन्त्री डा. एस जयशंकरले संयुक्त रूपमा उद्घाटन गरेका छन् । नेता निधिले पुस्तकालयबाट प्राध्यापक, विद्यार्थी र अनुसन्धानकर्ता लाभान्वित हुने र त्यसले समग्र शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 



क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)सँगको बैठकमा भारत सरकार र भारतीय क्रिकेट बोर्डका तर्फबाट विदेशमन्त्री डा. जयशंकरद्वारा नेपालमा क्रिकेटको विकासका लागि भारतको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । नेता निधिले यसको प्रशंसा गरे । 

नेता निधिले धार्मिक, सांस्कृतिक पर्यटन विकासका लागि अत्यावश्यक रहेको जनकपुरधाम र भारतको अयोध्याबीचको हवाई सेवा तत्काल सञ्चालन गर्न दुई देशबीच आवश्यक सम्झौता र समझदारीका लागि पहल हुने आशा व्यक्त गरेका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विगतमा भएको जनकपुर भ्रमणका बेलामा एक सय करोड अनुदान दिने घोषणा भएको रकमका लागि अहिलेसम्म परियोजना नबनेको उनले उल्लेख गरे । नेता निधिले जनकपुरमा रामजानकी अन्तर्राष्ट्रिय रंगशालाका लागि प्राप्त भइसकेको जग्गामा सो रकम लगानी गरी निर्माणका लागि तत्कालै दुई देशबीच समझदारी कायम गर्न नेपाल सरकारसँग अनुरोध गरेका छन् । 

साथै उनले धनुषाको सीमावर्ती क्षेत्रमा जमुनी नदीको जटहीमा, जमुनी नदीको थली घाटमा र जमुनी नदीको अक्रहरघाटमा नेपाल सरकारबाट शिलान्यास भएर पनि वर्षौंदेखि निर्माण रोकिएका पुलबारे पनि नेपाल र भारतबीच आवश्यक सहमति र समझदारी गरी तत्कालै निर्माणको अग्रसरता लिन नेपाल सरकारसँग आग्रह गरे । 

  • प्रकाशित मिति : पुस २१, २०८० शनिबार २२:२१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया