प्रहरीको गोली लागेका जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ । नगर  अस्पताल स्तरोन्नतिको विवादमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६, का ३० वर्षीय साहको शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो । परिवार र प्रदर्शनकारीले विभिन्न माग राखेर मृतकको शव उठाउन मानेका छैनन् ।

शनिबार साँझ इलाका प्रहरी कार्यालय बरहथवामा भएको वार्तामा आन्दोलित पक्षबाट स्वास्थ्य केन्द्र ५० शय्याको बनाउन तत्कालै प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने, नगरप्रमुखले राजीनामा दिनुपर्नेलगायतका मागमा अडान राखेका थिए । 

त्यही कारण वार्ता निष्कर्षमा पुग्न सकेन । घटनाका विषयमा गृह मन्त्रालयले पनि छानबिन समिति गठन गरेको छ भने पीडित परिवारलाई दश लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । तर पीडित परिवार र प्रदर्शनकारीहरूले भने अस्पताल हस्तान्तरणकै विषयमा अडान लिएका छन् । 

आइतबार बिहानै प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले शव उठाउने विषयमा छलफल गर्न बैठक राखेका छन् । अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेको छ । 
जिल्ला प्रशासनले शनिबार निषेधाज्ञा जारी गरेको अवस्थामा समेत प्रदर्शनकारीहरूले शवसहित प्रदर्शन गरेका थिए । 

बरहथवाका मेयर कल्पनाकुमारी कटुवालले ९ असोजमा अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेकोमा सो निर्णय कार्यान्वयन नगरेको भन्दै स्थानीयबासीले विरोध गर्दै आएका छन् । त्यही विवादमा शुक्रबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।





  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार १२:२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया