logo-img

प्रविधिले सहज बन्दै दैनिकी, बूढापाका भन्छन्- अहिले त निकै सुबिस्ता भयो

इलाम देउमाईका दिननाथ बाँस्तोला विगतलाई सम्झिँदै भन्छन्, ‘काँधमा हलो र जुवा बोक्नु पथ्र्यो, गोरुलाई अघाएर मात्र जोत्न लैजानुपर्ने हुन्थ्यो ।’ उनले भनेजस्तै पहिला एक हल (दुई वटा) गोरु अगाउनु, मेलासम्म लैजानु र हल गोरु नारेर जोत्नु सजिलो काम थिएन । दुई वटा गोरु, जोत्न एक जना मानिस आवश्यक पर्दथ्यो । बाली जोगाउन छेक्ने मान्छे पनि । अनि हलो निर्माण र हलोमा प्रयोग हुने अनौ, हरिस, पाड्को जुटाउन पनि त समय र पैसा खर्चिनु पर्दथ्यो । गोरुको काँधमा प्रयोग हुने जुवा, जुवामा लगाउने ठेस्सी, हल्लुण र बाँध्ने डोरी जुटाउन उत्तिकै समय खर्चिनु पर्दथ्यो । 

अब यहाँका किसानलाई यो झन्झट र अतिरिक्त खर्चको समस्याको समाधान भएको छ । अहिले गाउँगाउँमा हाते ट्याक्टर पुगेको छ । पहिला दिनभर जातेजति अहिले हाते ट्याक्टरबाट घण्टा नबित्दै हुन थालेको छ । हरेक किसानसँग हाते ट्याक्टर नभए पनि अर्काको भाडामा ल्याएर पनि काम चलाउन थालेका छन् । 

खेतबारी जोत्न हाते ट्याक्टरको प्रयोग भएको मात्र होइन, गाउँगाउँमा काठ, दाउरा काट्न पनि मेसिनको प्रयोग गर्न थालिएको छ । जंगलमा काठ काट्न र चिर्न समेत चेन्सो मेसिनको प्रयोग हुन थालेपछि बन्चरो, खुर्पाको प्रयोग हुन छाडेको छ । महिनौँ लाग्ने काम एकै दिनमा सम्भव भएको स्थानीय डीक राईले  बताए । 

यहाँ काठ प्राय ठिक्कामा काट्ने गरिन्छ । एक ठिक्का (एक ठिक्कामा एक हजार फुट हुन्छ) काठ काट्न करिब महिना दिन लाग्थ्यो । तर मेसिनले दुई दिनमा नै काटेर भ्याइन्छ काठ काट्ने मानिस (आरावाल) लाई खाजा र खाना समेत काट्न लगाउनेले ब्यहोर्नु पर्दथ्यो । जंगलमा कटान गरिएको काठको ढुवानी पनि अब मानिसले बाकेर नभई ट्याक्टर वा पिकअपको प्रयोग गर्ने गरिएको छ ।

हाल पहाडी क्षेत्रका गाउँगाउँ मात्र हैन घरघर सडक पुगेको छ । सडक र सवारीले थपेको सहजताले स्थानीय वासिन्दाको जीवनशैली नै फेरिएको छ ।  पहाडी जिल्ला इलाम सहित पाँचथर, ताप्लेजुङ लगायतका जिल्लामा झापाको शनिश्चरेबाट नुन बोकेर ल्याउनु पर्ने वाध्यता थियो । 

त्यतिबेला सात दिनसम्म भारी बोकेर मात्र घरसम्म नून ल्याउन सकिन्थ्यो । ‘नून लिन जाँदा खाने र बाटोमा बस्ने बन्दोबस्त समेत गर्नु पर्दथ्यो । मकै भुटेर दौराको फेरमा पोको बनाएर पनि गइयो नि’ विगतका दिन सम्झँदै वृद्ध हरिकुमार राईले भने, ‘अहिले त निकै सुविस्ता भएको छ । यस्ता दिन पनि आउलान् भनेर मैले त सपनामा पनि देखेको थिइन ।’



निर्माण व्यवसायमा पनि प्रविधिले निकै सजलो बनाएको गाउँलेहरू बताउँछन् । झम्पल र कोदालोले सडक निर्माण गर्नु पर्ने बाध्यता समेत हटेको छ । सडक निर्माणकै क्रममा ढुंगा भेटिए महिनौँ दिन लगाएर हम्मरले हानेर फोर्नु पर्ने बाध्यता थियो । हाल एक्स्काभेटर प्रयोग गरेर सडक निर्माण हुन्छ । महिनौँ लाग्ने काम एकै दिनमा सम्पन्न हुन्छ । 

प्रविधिको कुरा गर्दा सञ्चार क्षेत्रमा भएको प्रविधिको विकासले सोच्नै नसकिने परिवर्तन ल्याएको गाउँलेहरूको भनाइ छ । हुलाकमार्फत महिनौँ लगाएर चिठी घरघरसम्म पुर्याउने दिनको समाप्त भएको छ । फोन र इन्टरनेटबाट सेकेन्डमा कुरा त्यो सम्भव भएको छ । प्रायः सबैका हातहातमा मोवाइल फोन भएकाले सञ्चार निकै सहज बनेको छ । 



सामाजिक सञ्जालको विकासले संसारलाई खुम्च्याइदिएको महसुस हुन थालेको छ । सञ्चारका माध्यमबाट संसारका हरेक घटना प्रत्यक्ष हेर्ने अवसरसहज भएको छ । अब ग्रामीण किसानलाई धान काट्न खेताला खोज्नु पर्ने दिनको समेत अन्त्य हुँदै गएको छ । थ्रेसरको प्रयोगले काम छिटो सम्पन्न हुन थालेको छ । कृषिमा यान्त्रीकरणले किसानलाई काम गर्न सहज भएके कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले बताए । उनका अनुसार प्राय अब आधुनिक औजार गरेर नै जिल्लामा खेती हुन थालेको छ । 

कतिपय स्थानीय तहले समेत अनुदानमा उपकरण वितरण गर्ने गरेका छन् । सहकारी वा समूहमार्फत मात्र नभएर पछिल्लो समय ब्यक्तिलाई समेत सामग्री वितरण गर्न थालिएको छ । खेती किसानमा प्रयोग हुने औजारदेखि सूचना आदानप्रदानमा प्रयोग हुने चिठीपत्र, घरायसी प्रयोजनमा आउने ढिकी जाँतो, फुसको छानो विस्थापित हुँदै गएको छ । अब आधुनिक उपकरणहरुबाट दूध प्रशोधन, घरघरमा इन्टरनेट र वाइफाई, विद्यालयमा कम्प्युटर शिक्षा, गाउँगाउँमा यातायात, मोबाइल बैंकको प्रयोग बढ्न थालेको छ । 

जनताको दैनिकी समेत निकै फेरिएको छ । पहिला हातले टिप्ने चिया हाल मेसिनको प्रयोगले हुन थालेको छ । दाउरा बालेर खाना पकाउने समय थियो । पछिल्लो समय ग्यास हुँदै विद्युतीय उपकरण प्रयोग गरेर खाना पकाउन थालिएको छ । घण्टौँ सम्म धाएर विद्यालय जानु पर्ने समस्या थियो । हाल घरघरमा विद्यार्थी बोक्न बसको प्रयोग भएको छ  । 

देशमा विकास केही भएन भनेर निराशा व्यक्त गर्ने युवाहरुलाई अघिल्लो पुस्ताका बाबुबाजेहरूले सोच्नै नसकेको परिवर्तन र विकास भएको बताउने गर्दछन् । सरकारले देशमा नै रोजगारीको सिर्जना गरी युवा शक्ति पलायन हुनबाट रोक्न आवश्यक रहेको बुढापाकाहरुको भनाइ छ । लगानीमैत्री वातावरण बनाउन नसक्नु र भ्रष्टाचारलाई शून्यमा झार्न सके मात्र धेरै समस्याको समाधान टरेर जाने उनीहरू बताउँछन् ।  

  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार १३:२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया