३४ वर्षीय ग्याब्रियल एटल फ्रान्सको प्रधानमन्त्रीमा नियुक्त

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि मंगलबार ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बनेका हुन् ।

धेरै दिनको अडकलबाजीसँगै कार्यालयमा दुई वर्षभन्दा कम समय सेवा गरेपछि ६२ वर्षीया एलिजाबेथ बोर्नको राजीनामा राष्ट्रपति म्याक्रोनले स्वीकार गरेका थिए । यो परिवर्तन पेरिसमा हुन लागेको ओलम्पिक खेल र यस गृष्ममा युरोपेली संसद्को निर्वाचनभन्दा पहिला भएको छ । 

म्याक्रोनको मध्यमार्गी शक्ति मरिन ले पेनको नेतृत्वमा अति दक्षिणपन्थीको हातबाट पराजयको जोखिममा छ । म्याक्रोनले आफ्नो राष्ट्रपति पदको अन्तिम तीन वर्षका लागि आफ्नो टिमलाई सुदृढ गर्न खोजिरहेको बेला यही साता मन्त्रिपरिषद्मा व्यापक फेरबदल हुने अपेक्षा गरिएको छ ।  

फ्रान्सेली सरकारको नेतृत्व गर्ने दोस्रो महिला बोर्नपछि एटलले प्रधानमन्त्री कार्यालयको कार्यशैलीमा ठूलो परिवर्तन ल्याउने तयारी गरेका छन् ।  

सोमबार बोर्नले राजीनामा दिएपछि एटलको नियुक्तिको अपेक्षा गरिएको थियो । द्रुत घोषणाको अनुपस्थितिले प्रभावशाली सरकारी अधिकारीहरू एटलको जबरजस्त पदोन्नतिबाट असन्तुष्ट थिए भन्ने हल्ला फैलिएको थियो । यद्यपि आन्तरिकमन्त्री गेराल्ड डर्मानिन तथा वित्तमन्त्री ब्रुनो ले माइरेसहित तनावको पछाडि रहेका भनिएका नजिकका स्रोतहरूले यसको कडा खण्डन गरेका छन् ।  



एटलको तुलना उनका गुरु राष्ट्रपति म्याक्रोनसँग गर्न थालिएको छ । जुनमा युरोपेली निर्वाचन र त्यसपछि सन् २०२७ मा हुने राष्ट्रपति निर्वाचनमा अति दक्षिणपन्थीहरूसँग म्याक्रोनको मध्यमार्गी शक्तिहरूको जित सुनिश्चित गर्नु एटलको सबैभन्दा महत्त्वपूर्ण काम हुनेछ ।  

यति सानो उमेरमा उच्च पद ग्रहण गरेपछि एटलको तुलना म्याक्रोनसँग गरिन थालिएको हो । म्याक्रोन ३९ वर्षको उमेरमा फ्रान्सको राष्ट्रपति बनेका थिए । 



एटलले लरेन्ट फाबियसको यसअघिको रेकर्ड तोडेका छन् । फाबियसलाई सन् १९८४ मा ३७ वर्षको उमेरमा फ्रेन्कोइस मितराँले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

फ्रान्सेली सञ्चारमाध्यमले सन् २०२७ मा फ्रान्सेली राष्ट्रपतिले आफ्नो कार्यकालको सीमा नाघ्दा एटलले एलिसी प्यालेसमा म्याक्रोनको स्थान लिनसक्ने अनुमान गरेका छन् । सेप्टेम्बरमा फ्रान्सेली साप्ताहिक पोइन्टले भनेको थियो, ‘ग्याब्रिएल एटल, नयाँ म्याक्रोन ?’ 

  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार ७:६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया