रामबहादुर बम्जन यसकारण बने ‘भगवान्’ बाट ‘भगौडा’

केही अघिदेखि नै चर्चाको शिखरमा थिए ‘तपस्वी’ रामबहादुर बम्जन । जो आफूलाई लिटल बुद्ध भनेरसमेत चिनाउँथे । एक ठाउँमा होइन, ठाउँ–ठाउँमा आश्रम । जुन ठाउँको आश्रममा उनी बस्थे, त्यहाँ उनलाई भेट्न सयौँ मानिसको भिड लाग्थ्यो  । 

सुनसान जंगलको बीचमा आलिसान महल बनाएर बस्थे रामबहादुर । सिन्धुलीको कमलामाई नगरपालिका–९, पैरेको जंगलमा बनाएको आश्रम त झनै भव्य थियो । त्यहाँ आलिसान बंगला मात्रै होइन, उनी जिम हलदेखि स्विमिङ पुलसम्म बनाएर बसेका थिए । चारैतर्फ सुरक्षा पोष्ट पनि राखेका थिए । त्यहाँको संरचना कुनै तारेहोटलभन्दा कम थिएन । सिन्धुलीमा आश्रम बनाउनुअघि सर्लाही, सिन्धुपाल्चोकलगायतका जिल्लामा समेत रामबहादुरले आश्रम बनाएका थिए । 

तपस्वीको भेषमा विलाशी जीवनशैलीमा रमाइरहेका रामबहादुर ०७६ सालदेखि भने नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा परे । कारण थियो, आफ्नै अनुयायीहरूलाई बेपत्ता बनाएको तथा बालयौन दुराचार गरेको । बालयौन दुराचारको अभियोगमा सर्लाही जिल्ला अदालतले उनीमाथि ०७६ माघ २३ गते पक्राउ पुर्जी जारी गरेको थियो ।  विशेष तयारीका साथ उनलाई पक्राउ गर्न प्रहरी टोली ०७७ को असारमा नै सिन्धुलीको उनको आश्रम पुगे पनि सफल भएन । त्यसपछि रामबहादुर लामो समयसम्म फरार रहे ।

एक १८ वर्षीया युवतीले रामबहादुरले पटकपटक बलात्कार गरेको पत्रकार सम्मेलन नै गरेर खुलासा गरेपछि यो विषय चर्चामा पुगेको थियो । रामबहादुरमाथि सर्लाहीस्थित आश्रममा बलात्कार भएको उजुरी छ । त्यसै उजुरीको आधारमा प्रहरीले उनलाई खोजी रहेको थियो । 

उनीमाथि नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सर्लाहीकी रीता बोटलगायतलाई बेपत्ता पारेको अभियोगसमेत छ । उनीहरू सबैलाई सिुन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरीको अनुमान छ । उनलाई प्रहरीले खोजिरहे पनि लामो समयसम्म पक्राउ गर्न सकेको थिएन । 

तर, धेरैपछि प्रहरी उनलाई पक्राउ गर्न सफल भएको छ । मंगलबार पक्राउ परेका उनीमाथि अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी खोजीको लामो समयपछि पक्राउ परेका रामबहादुरको घरबाट ठूलो संख्यामा नेपाली तथा विदेशी रुपैयाँसमेत बरामद गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । 



बुधबार पत्रकार सम्मेलन गरेर सिआइबीले तीन करोड तीन लाख ७५ हजार पाँचसय रुपैयाँ नेपाली रकम र विभिन्न १७ देशका मुद्रा पनि बरामद गरेको जनाएको हो । विदेशी मुद्रा नेपालीमा ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बरामद भएको सिआइबीका एसएसपी दिनेश आचार्य जानकारी दिए । 

बलात्कारको आरोपमा खोजी भइरहेकोमा मंगलबार दिउँसो काठमाडौंको बुढानीलकण्ठमा रहेको उनको आफ्नै घरबाट पक्राउ गरिएको हो । प्रहरी उपरीक्षक एवं प्रवक्ता नवराज अधिकारीले बम्जनको घरबाट बरामद गरिएका सामग्री र कागजात साथै विभिन्न समयमा बेपत्ता भएका अनुयायीका सम्बन्धमा खोजतलास भइरहेको जानकारी दिएका छन् ।



प्रहरी घरभित्र प्रवेश गरी पक्राउ गर्ने क्रममा घरको चौथो तलामा रहेको झ्यालबाट खाली रहेको जग्गामा हामफालेर भाग्ने क्रममा रामबहादुर पक्राउ परेका हुन् । 

रामबहादुरमाथि आश्रमबाट आफ्नै अनुयायीमाथि बलात्कारदेखि बेपत्तासम्मको उजुरी आइरहँदा उनलाई झुटा आरोप लगाएर फसाउन खोजिएको समेत दाबी गर्नेहरू छन् । नेपालमा बौद्ध धर्म तथा रामबहादुरप्रति आकर्षण बढिरहँदा उनीमाथि झुटा मुद्दा लगाइएको भन्नेहरूको पनि कमी छैन । तर, अब उनी पक्राउ परिसकेकाले यस विषयमा प्रहरीले अनुसन्धान गर्नेछ ।
 

  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार १८:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया