logo-img

रमेश लेखकको दाबी : राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत बाहिर बाँडिँदैन

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मत गठबन्धनभन्दा बाहिर जाने स्थिति नरहेको दाबी गरेका छन् ।

बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले निश्चित मानिस मतदाता भएकाले मत बाँडिने वा गठबन्धनका उम्मेदवारभन्दा बाहिर मत जाने स्थिति नहुने बताएका हुन् । 

उनले मतदाता प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहेकाले उनीहरू आफ्ना–आफ्ना पार्टीका नेता भएकाले देशको समसामयिक राजनीतिक परिस्थिति बुझेर नै मतदान गर्नेमा विश्वस्त रहेको बताए ।

लेखकले एउटा पार्टीका उम्मेदवारले अर्को पार्टीका उम्मेदवारहरू नचिन्ने भएको हुँदा अहिले राष्ट्रिय सभामा आफ्ना उम्मेदवारहरू जिताउन गठबन्धनले बनाएको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति, प्रदेश समन्वय समिति र जिल्ला समन्वय समितिहरू मतदातासँग उम्मेदवारको चिनजान गराउन लाग्ने बताए ।

‘राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सरकारलाई समर्थन गरेका राजनीतिक दलहरूको गठबन्धन छ । हामीले उम्मेदवार पनि गठबन्धनबाटै दिएका छौँ । आफ्ना सबै उम्मेदवारहरूलाई जिताउनका लागि विभिन्न ठाउँमा समितिहरू बनाउने कुरा भएको छ । यसले राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति बनेको छ । हामीले हिजोदेखि त्यसको काम प्रारम्भ गरेका छौँ । पहिलो चरणमा हामीले हिजो नै सात वटै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय गरेका छौँ,’ लेखकले भने, ‘जुन–जुन प्रदेशमा जुन–जुन पार्टीको मतदाताहरू छन्, त्यो पार्टीका प्रदेश प्रमुख, प्रदेश सभापति वा अध्यक्ष ती पार्टीहरूको संसदीय दलको नेता समेत सहभागी हुनेगरी सात वटा प्रदेशमा समन्वय समिति बनाउने त्यसपछि त्यो सात प्रदेशको समन्वय समितिले सबै जिल्लाहरूमा पनि जुन–जुन जिल्लामा जुन पार्टीको मतदाता छ, त्यो पार्टीका जिल्ला प्रमुखसहितको जिल्ला समन्वय समिति बनाउने भन्ने हामीले निर्णय गरेका छौँ ।’ 



उनले राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सरकारलाई समर्थन गरेका राजनीतिक दलहरूको गठबन्धन रहेको र उम्मेदवार पनि गठबन्धनबाटै दिएकाले यो समितिले गठबन्धनका उम्मेदवार जिताउन भूमिका खेल्ने बताए । उनले राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिले बुधबारबाटै काम सुरु गरिसकेको बताए ।  

पहिलो चरणमा सातवटै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय भएको पनि लेखकले बताए । पार्टीका प्रदेश प्रमुख, प्रदेश सभापति वा अध्यक्ष र पार्टीहरूको संसदीय दलको नेतासमेत सहभागी हुनेगरी सातवटा प्रदेशमा समन्वय समिति बनाउने निर्णय भएको बताए । साथै गठबन्धनले सबै जिल्लामा पार्टीका जिल्ला प्रमुखसहितको जिल्ला समन्वय समिति बनाउने निर्णय भएको बताए ।  



‘यी समन्वय समितिले एकअर्कासँग समन्वय गरेर सबै मतदाताहरूलाई गठबन्धनका पक्षमा मतदान गर्नका लागि उप्रेरित गर्ने, सम्पर्क गर्ने, मत गणनासम्मका लागि यी समितिहरू क्रियाशील रहनेछ । मत बाँडिँदैन, किनभने पहिलो कुरा के छ भने यसमा निश्चित मानिसहरू मतदाता छन् । मतदाता प्रदेश सभाका मान्य सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू छन्, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू छन् । यी सबै पदाधिकारी भनेका आफ्ना आफ्ना पार्टीका नेता नै हुन्,’ लेखकले भने, ‘आफ्ना पार्टीका नेताले देशको समसामयिक राजनीतिक परिस्थिति बुझेर नै मतदान गर्नुहुन्छ । त्यसरी मत विभाजित हुने अथवा गठबन्धनको मत गठबन्धन भन्दा बाहिर जाने स्थिति हुँदैन । यो भनेको व्यवस्थापन गर्ने विषय हो । जस्तो उम्मेदवारलाई सबै मतदातालाई भेट्टाउनुपर्‍यो । हाम्रो पार्टीको उम्मेदवार छन्, अर्को पार्टीको मतदाताले नचिनेको हुनसक्छ । अन्तरक्रिया नभएको हुनसक्छ । यी समन्वय समितिले सबै पार्टीका गठबन्धन  भित्रका उम्मेदवारलाई मतदातासँग अन्तरक्रिया गराउँछन् र निर्वाचन व्यवस्थित बनाउने काममा लाग्छौँ ।’   

राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समिति संयोजकसमेत रहेका लेखकले समन्वय समितिले निर्वाचन व्यवस्थित बनाउन लाग्नुपर्नेमा जोड दिए । 

  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार १२:१३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया