कोशीमा सभामुख लिएको विषयमा राप्रपामा मतभेद, लिङ्देन भन्छन्– ‘म देश बाहिर हुँदा निर्णय लिइयो’
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको बताएका छन् । शुक्रबार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र फरकमत रहेको बताएका हुन् । 

लिङ्देनले एउटा मत सभामुख लिनु नहुने पक्षमा रहेको र अर्को मत सभामुख लिनु राम्रो हुने पक्षको रहेको उल्लेख गर्दै यस विषयमा पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गरिने बताए । उनले आफू देश बाहिर भएको बेलामा कोशी प्रदेशले निर्णय गरेर सभामुख लिएको पनि स्पष्ट पारे ।  

‘सभामुखमा हामी कोशीमा मात्रै सहभागी भएको होइन । योभन्दा अगाडि नै बागमतीमा पनि छ हाम्रो सहभागिता । लुम्बिनी प्रदेशमा उपसभामुखको रूपमा हाम्रो सहभागिता छ । यो नौलो कुरा होइन । तर, अहिले परिवर्तित सन्दर्भमा कोशी प्रदेशमा सभामुख पदमा हामी जाने कि नजाने भन्ने कुरा छलफलकै विषय थियो,’ लिङ्देनले भने, ‘हतार गर्नुहुन्न भन्ने हामी सबैको सहमति थियो । म देश बाहिर भएको बेलामा हाम्रो कोशी प्रदेशका साथीहरूले निर्णय गरेर सहभागी हुनुभयो । त्यस विषयमा विभिन्न मतहरू छन् । एकथरी साथीहरूको चर्को स्वरमा त्यो सहभागी हुनुहुँदैन थियो । तुरुन्तै फिर्ता हुनुपर्छ भन्ने पनि छ । अर्कोतर्फ हामी कोशीमा मात्रै सहभागी भएको होइन । हामी त अगाडिदेखि नै सहभागी छँदैछौँ । यो कुनै राजनीतिक दलको समर्थन लिएर, गठबन्धन गरेर कुनै सर्तमा हामी भएको होइन । हामी प्रतिनिधि सभामा होस् या प्रदेश सभामा होस् । संसदमा छौँ भने त्यसको सर्वोच्च पद सभामुख हामीले कसैसँग सर्त नगरिकन पाउँछौँ भने त्यो कसरी अन्यथा हो ।’  

उनले राप्रपाले फागुनबाट राजधानी केन्द्रित आन्दोलन गर्ने बताए । लिङ्देनले शान्तिपूर्ण ढंगले जनदबाब सिर्जना गर्नेगरी आन्दोलन गरिने बताए ।

‘हामीले आन्दोलन देखिनेगरी सहयोग गर्छौ फागुनबाट । अहिलेपनि हामी आन्दोलनमै छौँ । अहिले हामी आन्दोलनको तयारी गरिरहेका छौँ । विभिन्न स्वरूपमा काम गरिराखेका छौँ । फागुनमा राजधानीकेन्द्रित र देखिने ढंगले ठूलठूला प्रदर्शनहरू हामीले आयोजना गर्छौँ । बिलकुल शान्तिपूर्ण, अहिंसात्मक हुँदैछ । जनदबाब सिर्जना गर्नेगरी अगाडि बढ्नेछौँ,’ लिङदेनले भने, ‘सरकारले दबाब गर्ने भयो भने भड्किन सक्छ । हाम्रोतर्फबाट पूर्णरूपमा शान्तिपूर्ण हुनेछ । त्यो कुनै नाम मात्रको आन्दोलन हुनेछैन । व्यापक हुनेछ । त्यसले देशमा परिवर्तन ल्याउने नै छ ।’

उनले गणतन्त्रवादी राजनीतिक दलहरू र राजासमेत एकै ठाउँमा बसेर देशमा नयाँ प्रकारको समझदारी गर्नुपर्ने बताए । लिङ्देनले देश निरन्तररूपमा ओरालो लागिरहेको भन्दै देशलाई उठाउने कुनै प्रयत्न नभएको बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रूपमा राजा हुने व्यवस्था गर्नुपर्ने बताए । प्रदेशलाई खारेज गर्दै केन्द्र र स्थानीय तहलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ । 



‘देश निरन्तररूपमा ओरालो लागिराखेको छ । यसलाई उठाउने कुनै प्रयत्नहरु भइराखेको छैनन् । हामीले ०८४ अथवा अर्को निर्वाचन पर्खिने खालको सामान्य स्थिति छैन । यो असामान्य स्थितिलाई खासगरी देशको नेतृत्व गरिराखेका ठूला राजनीतिक दलहरूले देशका सबै राजनीतिक शक्तिहरू, दलहरूलाई समेत समाहित गरेर, मिलाएर, नयाँ निष्कर्षमा, नयाँ सम्झौतामा देशलाई लगेर थप क्षति हुनबाट रोक्नुपर्ने ठाउँमा एकपछि अर्को देशहितविपरीतका कामहरू भ्रष्ट क्रियाकलाप भइराखेका छन् । त्यसकारण अरू मुख्य दलहरू, जसले आफूलाई मुख्य दल हौँ भन्छ । उनीहरूबाट यसलाई सुधार्ने प्रयत्न नभएको सन्दर्भमा राप्रपाको कर्तव्य भएको छ,’ लिङ्देनले भने, ‘हामीले जनताका जनजीविकासँग सम्बन्धित विषयहरू, प्रणालीमा नमिलेका विषयहरू सुधार गरेर लाने, राष्ट्रियतालाई मजबुत बनाउने सन्दर्भमा राप्रपाले यसको नेतृत्व गर्नुपर्‍यो । जनदबाब सिर्जना गर्नुपर्‍यो । र राजनीतिक दलहरूलाई नयाँ सम्झौतामा आउन बाध्य बनाउनुपर्‍यो भनेर हामी अगाडि आएका छौँ । मेरो पूर्ण विश्वास छ । हामीले राजनीतिक दलहरूलाई कोर्स करेक्सन गर्न बाध्य बनाउनेछौँ ।’  

उनले राष्ट्रिय सभाको अस्तित्वको सम्बन्धमा पुनः विचार गर्नुपर्ने बताए । जनप्रतिनिधिको संख्यामा व्यापक कटौती गर्नुपर्ने र संवैधानिक निकायमा नियुक्ति दिँदा योग्यता र क्षमताको आधारमा दिनुपर्ने लिङ्देनको भनाइ छ ।



उनले वर्तमान निर्वाचन प्रणाली भ्रष्ट भएको भन्दै पूर्ण समानुपातिक प्रतिनिधि सभाको व्यवस्था हुनुपर्ने बताए । 

  • प्रकाशित मिति : पुस २७, २०८० शुक्रबार १८:२३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया