logo-img

‘महाजात्रा’को पहिलो गीत : ‘आहा ! क्या राम्रो’ सार्वजनिक (भिडियो)

नेपाली फिल्म ‘महाजात्रा’ को पहिलो गीत ‘आहा ! क्या राम्रो’ सार्वजनिक भएको छ । माघेसंक्रान्तीको दिन सार्वजनिक गरिएको गीतमा खुल्लामञ्चमा सेट लगाएर छायांकन गरिएको थियो । 

गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा फिल्मका कलाकारहरू विपिन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झासँगै अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरेका छन् ।

फिल्मका निर्देशक प्रदीप भट्टराईले फिल्म सुहाउँदो गीत भएकाले यो गीत प्रचारप्रसारका लागि तयार पारिएको बताए । 

एक सयभन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्म आगामी चैत ९ गते रिलिज हुँदै छ ।

निर्देशक भट्टराईले फिल्ममार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार पारिएको बताए । फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलतापश्चात् षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृंखलामा ‘महाजात्रा’ बनाइएको हो । 



‘फिल्ममा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई प्रस्तुत गरेका छौँ’, प्रदीपले भने ।

फिल्ममा हरिवंश आचार्य, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको पनि अभिनय छ ।



म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।

फिल्ममा जितबहादुर रुवाली एसोसिएट निर्देशक, पुरुषोत्तम प्रधान छायाकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृंगाार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

  • प्रकाशित मिति : माघ १, २०८० साेमबार १६:३१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया