logo-img

तनहुँमा अस्पताल क्षेत्रमै देखिन थाले चितुवा, सतर्क रहन अनुरोध
फाइल तस्बिर

तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । 

टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको जानकारी दिए । ‘दिनहुँजसो चितुवा देखापर्दा सबैजना समस्यामा छन् । साँझका समयमा बालबालिकालाई अस्पताल तथा टुँडिखेल मैदान वरपर जानबाट रोक्न अभिभावकलाई आग्रह गरेका छौँ,’ उनले भने । अध्यक्ष प्रधानले घर आसपास झाडी सरसफाइ गर्न सबैलाई भनिसकेको जानकारी दिए ।

स्थानीय अमिर गुरुङले टुँडिखेलमा चितुवा देखा परेकाले साँझ र बिहानको झिसमिसे उज्यालोमा सतर्कता अपनाउन आग्रह गरे । उनले भने, ‘बालबालिका बढी मात्रामा चितुवाको आक्रमणमा पर्ने गरेकाले साँझ र बिहानको समयमा बढी चनाखो हुनुपर्छ ।’ 

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले चितुवाको आक्रमणबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए । पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुनेक्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो ६ वर्षको अवधिमा १३ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

चितुवाको आक्रमणबाट भानु र शुक्लागण्डकी नगरपालिकासहित आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ । मृग, वनकुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकार अभाव भइ चितुवाले मानिसको सिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरिएको छ । चितुवासँग जोगिन साँझ तथा रातका समयमा घरगोठ उज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गर्नुपर्ने सहायक वन अधिकृत काशीराज पण्डितले बताए ।



जङ्गल फडानी गरेर वस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ । ‘तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समयलगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराएका छाैँ । चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ,’ वन अधिकृत पण्डितले भने । रासस 



  • प्रकाशित मिति : माघ ३, २०८० बुधबार ८:५०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया