logo-img

नेता बन्ने अपराधको बाटो
नेता बन्न ‘अपराध’ गर्ने, नेता बनेर पनि अपराध गर्ने
‘राजनीतिमा जे पनि सम्भव छ’, त्यसमा अपराध पनि पर्छ भन्ने कुरा नेपाली राजनीतिमा स्थापित छ

खासगरि पछिल्लो समय देशका शीर्ष दलका शीर्ष नेताहरूसँग जनता सन्तुष्ट छैनन् । गणतन्त्र आइसकेपछि सत्ता सम्हालेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू क्रमसः पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई ‘खोक्रो’ पारिसकेको आरोप धेरैले लगाउँछन् । 

यसअघि निरन्तर सरकार फेरिरहँदासमेत नेतृत्व भने सीमित व्यक्तिको हातमा छ । हालको सहित गरेर प्रचण्ड तीन पटक प्रधानमन्त्री बनिसकेका छन् । उसो त एक पटक तत्कालीन माओवादीबाटै डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बन्ने अवसर पाएका थिए । 

कांग्रेसका देउवा पाँच पटक प्रधानमन्त्री बन्दा एमालेका ओली तीन पटक प्रधानमन्त्री बनिसकेका छन् । बाहिरी रुपमा एक अर्कालाई सक्दो सराप गरे पनि भित्रिरुपमा मिलिजुली भागबण्डा गरेर खानेबाहेक ठूलो उपलब्धी यी तीन नेतामा देखिँदैन । संकटकालमा प्रचण्डको टाउकोको मूल्य तोक्ने तत्कालीन प्रधानमन्त्री देउवा अहिले प्रचण्डकै सारथि छन् । ओली–प्रचण्डबीचको प्रेम र घृणा पनि देखिएकै छ । 

‘राजनीतिमा जे पनि सम्भव छ’ त केवल यी तीन पात्रको लागि । आफ्नो हितकालागि जस्तोसुकै सम्झौता गर्न पछि पर्दैनन् । भ्रष्टाचारसँगै आफ्ना गल्ती कमजोरी ढाकछोप गर्न यी तीन नेताबीचको दूरीलाई केहीले छेक्दैन । यी नेताको ‘हर्कत’ घामजस्तै छर्लङ्ग हुँदा धेरैले नयाँ अनुहारलाई विकल्प मानिरहेका छन् ।

शीर्ष नेताहरूमात्रै नभइ पछि तिनै पार्टीसँगै देशलाई समेत हाक्छु भन्ने ती पार्टीका कतिपय युवा नेताहरू पनि कुनै न कुनै काण्डमा मुछिँदै आएका छन् । एमाले सांसद गोकुलप्रसाद बास्कोटा, लक्ष्मी महतो कोइरी, नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, माओवादीका जनार्दन शर्मालगायतले भ्रष्टाचार, हत्या हिंसालगायत काण्डहरूमा ‘चर्चा’ कमाइसकेका छन् । देशका प्रधानमन्त्री भइसकेका माधव नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाललगायतको नाम पनि जग्गा दलालीदेखि भ्रष्टाचार काण्डमा जोडिएकै छ । तिनीहरूका शिष्य पनि त्यही बाटोमा हिँडेको देखिन्छ । 

यद्यपि कुनै पनि काण्डमा नाम जोडिँदा नेताहरूले आफ्नो बचाउ गर्छन् । तिनलाई कारबाही र अनुसन्धानको दायरामा ल्याउने ल्याकत सरकार राख्दैन । किनकि एकले अर्कोलाई नबचाउँदा सबै नाङ्गीने डर तिनलाई पनि छ जो नियामक निकायमा छन् । पछिल्लो पुस्ताका भनिएका र मानिएका अधिकांश पार्टी र तिनका नेताहरू पनि कुनै न कुनै ‘काण्ड’मा मुछिएका छन् । 



‘जान्नेलाई छान्ने’ नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफैँले पटक–पटक ‘अन्जान’मा काम गरिरहेका छन् । यतिसम्म कि देशको उपप्रधान एवम् गृहमन्त्रीसहित निर्वाचित सांसद पद नै गयो । नागरिकता विवादका कारण ती पद गुमाएका रवि पुनः निर्वाचित भएरमात्रै आएनन् सँगै विभिन्न मुद्दा पनि खेपिरहेका छन् । उनीमाथि पछिल्लो आरोप हो सहकारी ठगीको । 

उनीविरुद्ध गोरखा मिडिया नेटवर्कको एमडी रहँदा सहकारी ठगी गरेको आरोपमा सहकारी विभागमा उजुरी नै दर्ता भएको छ । यो विषयमा पनि रविले आफ्नो नाममा कर्जा लिएको बारे जानकारी नभएको बताउँदै आएका छन् । सञ्चारकर्मबाट नेता बनेका रविले आफ्नो पार्टीलाई देशकै चौथो ठूलो पार्टी बनाए । अहिले नेता भएर जनताको ‘मन’ पाइरहेका रवि झन् विवादित बन्दै गएका छन् । 



रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । हालै कैलालीको टीकापुरमा भएको नाउपाको पहिलो अधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो । ‘टिकापुर घटना’मा दोषी ठहर भएर जेल सजाय भुक्तान गरिरहेकै समयमा राष्ट्रपतिबाट माफी पाएका रेशमलाई उनको पार्टीले अध्यक्षमा चयन गरेको छ । यद्यपि, रेशमको चयनसँगै पार्टीको नेतृत्व गर्ने उनको कानुनी र नैतिक योग्यताबारे भने बहस सुरु भएको छ ।

हत्या मुद्दामा अदालतबाट दोषी ठहर भएर जेल सजाय समेत भुक्तान गरिसकेका रेशमले राष्ट्रपतिबाट माफी पाए पनि राजनीतिक दल सम्बन्धी ऐनको एउटा व्यवस्थाका कारण उनी कुनै पनि दलको सदस्य वा पदाधिकारी रहन नमिल्ने कतिपय बताउँछन् । राजनीतिक दल सम्बन्धी ऐनको दफा १४ मा राजनीतिक दलको सदस्य हुन ‘नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको’ हुनुपर्ने व्यवस्था छ । तर, ‘अपराध’ गरेर पनि नैतिक रुपमासमेत रेशमलाई पार्टी अध्यक्ष हुन अप्ठ्यारो लागेन ।

चक्रे मिलनका नामले चिनिने मिलन गुरुङदेखि कुनै बेलाका खुङ्खार गुण्डा नाइके भनेर चिनिने राजिब गुरुङ उर्फ दीपक मनाङे अहिले राजनीतिमै छन् । अचम्मको कुरा त के भने लोकतन्त्र भएकै देशमा समेत नेताहरूको सत्ता र शक्ति हातमा हुँदा जनविरोधले छुन सक्दैन । 

राजनीतिमा आउनुअघि चेलीबेटी बेचबिखन तथा गुण्डागर्दी जस्ता मुद्दा खेपिसकेका सरोज थापा उर्फ रोज राणा अहिले लुम्बिनी प्रदेशको उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्री बनेका छन् । उनी त एक प्रतिनिधि मात्रै हुन् । खोज्दै जाने हो भने खोट नभएका व्यक्ति र त्यस्ता पार्टी विरलै भेटिएलान् । कोही सक्नेहरू ‘अपराध’ गरेर नेता बनेका छन्, नसक्नेहरू नेता बनेर अपराध कर्मामा पनि छन् । 

  • प्रकाशित मिति : माघ ६, २०८० शनिबार १०:४७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया