विद्युत् रोयल्टीबापत सरकारले उठायो ३ अर्ब १५ करोड ५१ लाख

सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट ३ अर्ब १५ करोड ५१ लाख ८८ हजार रुपैयाँ बराबरको रोयल्टी संकलन गरेको छ । सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत संकलन गर्ने गर्छ । 

विगतमा आयोजनाका प्रवर्द्धकले आफ्नो अनुकूलतामा रोयल्टी बुझाउने गरेका थिए । पछिल्ला केही वर्षदेखि भने नेपाल विद्युत् प्राधिकरणले बिल भुक्तानी गर्ने समयमा नै रोयल्टी कटाएर राख्ने गरेको छ । सोही कारण नियमितरूपमा रोयल्टी संकलन हुने गरेको छ ।

विद्युत् विकास विभागले नियमितरूपमा रोयल्टी उपलब्ध गराउन आयोजनाका प्रवर्द्धकलाई आग्रह गर्दै आएको छ । विद्युत् ऐन, २०४९ तथा विद्युत् नियमावली, २०५० बमोजिम विद्युत् उत्पादनको अनमुतिपत्र प्राप्त संस्थाले बुझाउनुपर्ने आर्थिक वर्ष २०७९/८० सम्मको विद्युत् रोयल्टी जम्मा गर्नुपर्ने व्यवस्था छ ।

विभागले केही आयोजनाले रोयल्टी फरफारक नगरेको पाइएपछि पुनः जम्मा गर्न भनेको छ । विभागले रोयल्टी व्यवस्थापनसम्बन्धी आवश्यक विवरणअनुसार आफ्नो आयोजनाको रोयल्टी विवरण रुजु गराउन सूचनामार्फत सूचीसमेत गरेको महानिर्देशक चिरञ्जीवी चटौतले जानकारी दिए ।  

रोयल्टी फरफारक नगर्ने आयोजनालाई भने प्राधिकरणमा पत्राचार गरेर असुलउपर गरिने स्पष्ट पारेको छ । सङ्कलन भएको रोयल्टी स्थानीय आयोजना प्रभावित क्षेत्रमा उपलब्ध गराउने व्यवस्था छ । 

विभागले अनुमतिपत्र दस्तुरबाट १ अर्ब १५ करोड ५ लाख ५६ हजार रुपैयाँ बराबर संकलन गरेको छ । यस्तै, दण्ड जरिवाना, जफतबाट ८७ लाख, बेरुजुबाट ४२ लाख रुपैयाँ बराबर रुपैयाँ संकलन गरेको छ । विभागले सो आवमा ४ अर्ब ३१ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबर कुल राजस्व संकलन गरेको छ ।



यस्तै, चालू आवको १६ पुससम्म रोयल्टीबापत ५९ कोड ५५ लाख ५८ हजार रुपैयाँ बराबर रोयल्टी संकलन गरेको छ । अनुमति दस्तुरबाट १६ करोड २४ लाख ८० हजार रुपैयाँ संकलन गरेको विभागले दण्ड जरिवानालगायतबाट ४५ लाख रुपैयाँ बराबर संकलन गरेको छ ।

विभागले हालसम्म कुल ४१ वटा जलविद्युत् आयोजना र दुईवटा सौर्य परियोजना गरी कुल ४३ वटा आयोजनाको सर्वेक्षणका लागि दरखास्त परेको छ । ती आयोजनाको कुल क्षमता ३ हजार १६ मेगावाट बराबर छ । त्यस्तै, सर्वेक्षण जारी भएका आयोजनाको संख्या १ सय ४३ छ । विभागका अनुसार ९३ वटा जलविद्युत् आयोजना र ४२ वटा सौर्य परियोजना छन् । ती आयोजनाको कुल क्षमता ९ हजार ६ सय ५५ मेगावाट बराबर छ । 



विभागका अनुसार उत्पादन अनुमतिपत्र दरखास्त दिने आयोजनाको संख्या १ सय पाँच छ । ती आयोजनाको क्षमता ११ हजार ५ सय ८३ मेगावाट छ । त्यस्तै, विद्युत् उतपादन अनुमतिपत्र लिएका आयोजनाको संख्या १ सय ५४ वटा छन् । ती आयोजनाको कुल क्षमता ९ हजार २ सय २१ छ । 

विभागले १ हजार ७ सय ६५ सर्किट किलोमिटर बराबर प्रसारण लाइन निर्माणका लागि सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन परेको छ । त्यस्तै, विभागले ४ हजार ८ सय ९५ सर्किट किलोमिटर बराबरको प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ । त्यसमा चार सय केभी क्षमताका सातवटा आयोजनालाई अनुमति दिइएको छ ।  

त्यस्तै, २ सय २० केभी क्षमताका २५, एक सय ३२ केभी क्षमताका १ सय एक, ६६ केभी क्षमताका पाँच, ३३ केभी क्षमताका ८४ र ११ केभी क्षमताका एक प्रसारण लाइन निर्माणका लागि अनुमति दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विभागको काम–कारबाहीलाई थप व्यवस्थित बनाउन निर्देशनसमेत दिएका छन् । सर्वेक्षण अनुमतिपत्र लिएका आयोजनालाई समयमै काम पूरा गर्ने वातावरण बनाउन निर्देशन दिँदै उनले लामो समयसम्म आयोजना होल्ड गर्ने प्रवृत्तिको अन्त्यका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताए ।  

यस्तै, उत्पादन अनुमतिपत्र लिएका आयोजनाको हकमा पनि मन्त्री बस्नेतले स्पष्ट निर्देशन दिएका छन् । लामो समयसम्म अनुमतिपत्र मात्रै लिने र काम नगर्ने आयोजनालाई लामो समय दिन नसकिने स्पष्ट पार्दै मन्त्री बस्नेतले नियमानुसार काम गराउन विभागका महानिर्देशक चटौतलाई निर्देशन दिए । रासस 

  • प्रकाशित मिति : माघ ६, २०८० शनिबार १८:३०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया