क्यानाडाको कन्सुलर सेवा नेपालबाटै उपलब्ध गराउन आग्रह

नेपाली विद्यार्थी र स्थायी बसोबास गर्न क्यानडा जानेहरूको संख्या लगातार बढिरहेको सन्दर्भमा क्यानडाले नेपालबाटै कन्सुलर सेवा उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।

नेपाल र क्यानडाको कूटनीतिक सम्बन्ध स्थापना भएको ५९ वर्ष पुगेको अवसरमा क्यानडाको अन्टारियोमा आयोजित कार्यक्रममा नेपालीका तर्फबाट यस्तो माग गरिएको हो । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा क्यानडाको सत्तापक्षीय संघीीय सांसद सोनिया सिद्दु सहभागी रहेको कार्यक्रममा नेपालमा भिसा कार्यालय मात्रै स्थापना भए धेरै नेपालीलाई सुविधा हुने जनाइएको थियो ।

त्यस अवसरमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नेपालले क्यानडामा राजदूतावास सञ्चालन गरिरहेको उल्लेख गर्दै क्यानडाले पनि नेपालमा राजदूतावास स्थापना गर्नुपर्ने बताएका थिए ।
 
नेपालमा क्यानडाको दूतावास नहुँदा नेपालीको समय र पैसाको बरबादी भइरहेको भन्दै अध्यक्ष तिम्सिनाले क्यानाडामा करिब एक लाखको हाराहारीमा नेपाली पुगिसकेको अवस्थामा दूतावास स्थापना गर्ने कुरामा पहल अझ बढाउनुपर्नेमा जोड दिएका थिए ।

उनले नयाँ संविधान जारी भएपछि नेपालको राजनीतिक अवस्था स्थायित्वतिर गइरहेको र लगानीका लागि राम्रो वातावरण बनिसकेको सन्दर्भमा क्यानडामा बस्ने नेपाली तथा विदेशी लगानीकर्तालाई लगानी गर्न पनि आह्वान गरे ।

क्यानाडाका संघीय सांसद सोनिया सिद्दुले दूतावास स्थापना गर्ने सन्दर्भमा छलफल गर्न तयार रहेको उल्लेख गरिन् ।
 
विदेशी विद्यार्थीका विषयमा संघीय सरकारबाट केही नयाँ कार्यक्रमहरू घोषणा हुन लागेको उल्लेख गर्दै उनले कतिपय विषयमा प्रदेश सरकारसँग समेत मिलेर काम गर्नुपर्ने बताइन् ।



क्यानाडा–नेपाल क्यानाडा पार्लियामेन्ट्री फ्रेण्डसिप ग्रुपका अध्यक्षसमेत रहेकी भारतीय मूलकी सांसद सिद्दुले नेपाल भ्रमण गर्ने इच्छा रहेको पनि उल्लेख गरेकी थिइन् ।

क्यानडाका लागि नेपालकी कार्यबाहक राजदूत रोजिना ताम्राकारले क्यानडा र नेपालको सम्बन्ध मजबुत रहेको उल्लेख गर्दै क्यानडामा रहेका नेपाली र नेपाली मूलका बासिन्दाको भूमिका महत्वपूर्ण हुने बताइन् ।



प्राध्यापक तुल्सी धरेलले क्यानडामा नेपालीसहित अन्तरराष्ट्रिय विद्यार्थीले आवास, कामका साथै मानसिक स्वास्थ्यको गम्भीर समस्या भोगिरहेको उल्लेख गर्दै संघीय सरकारको ध्यानाकर्षण गराएका थिए । 

उनले क्यानडाका हरेक नेपालीले दुई देशका बीचमा कूटनीतिक प्रतिनिधिका रूपमा कार्य गर्नुपर्ने बताए । 

आयोजक संस्था एनआरएनए क्यानाडाका उपाध्यक्ष किरोज श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्राध्यापक वामदेव पौडेल, युवा व्यवसायी विजय पौडेल, डेनमार्कका लागि नेपालका पूर्वराजदूत युवनाथ लम्साल लगायतले पनि नेपाल र क्यानाडाको सम्बन्धका विषयमा बोलेका थिए । 
 

  • प्रकाशित मिति : माघ ७, २०८० आइतबार २०:३६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया