रकम अपचलन गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्छ : आरजु राणा

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छन् ।  

आइतबार समितिको बैठकमा उनले सहकारी पीडितको समस्या राज्यले समाधान गर्नुपर्ने कुरा बाहिर आइरहेको भन्दै राज्यले नभएर सहकारीमार्फत पीडितको रकम अपचलन गर्नेहरूले गर्नुपर्ने बताएकी हुन् । राणाले राज्यले सबै पीडितको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेबाट रकम फिर्ता गराएर समाधान गर्नुपर्ने बताइन् । 

उनले सहकारी ठगी गर्ने समूहलाई सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न लगाउने तर फिर्ता नगरे कानुनबमोजिम कारबाही गर्न आवश्यक रहेको बताए । राणाले सहकारी पीडितको समस्या समाधान राज्यले गर्छ भनेर बस्न नहुने उल्लेख गरे ।  

‘स्थानीय तह, प्रदेश र संघमा सहकारीलाई वर्गीकरण गरिएको छ । तर त्यो वर्गीकरण गर्दा पनि बैंक र सहकारीलाई एकै किसिमले हेर्न गरिएको छ । बैंक र सहकारी फरक हुन् । नेपालमा बैंक स्थापना गर्न धेरै गाह्रो छ । तर, सहकारी स्थापना गर्न भनेको चोर बाटो हो सजिलोसँग पैसा जम्मा गर्ने र पैसा सहजरूपमा प्रयोग गर्ने । यो सहकारीको मूल्य मान्यता र सिद्धान्तविपरीत छ । त्यसलाई नियमको दायरामा ल्याउनुपर्छ,’ राणाले भनिन्, ‘२०७४ सालको सहकारी ऐनले वचत तथा ऋणको कारोबार पाउने गरी ऐन आएको छ । त्योभन्दा अगाडि राष्ट्र बैंकको अनुमति लिनुपर्ने व्यवस्था हटेपछि अहिले सहकारीमा भएका ठगीहरू त्यही कानुनलाई सच्याउन सकिन्छ । पछिल्लो समय हरेक दिन सहकारीको रकम घोटलालगायतका समाचारहरू सुनिन्छ । सहकारी समस्याको समाधान सरकारले दिने होइन । सरकारले के–केलाई समाधान दिन्छ । जसले ठगेको छ । त्यही समूहले सहकारी बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ । सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्नुपर्छ ।’   

उनले सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्ने बताइन् । राणाले प्रधानमन्त्री तहबाट नै सहकारी समस्या समाधानको उपाय निकाल्न सक्ने अवस्था रहेको बताइन् ।



उनले सहकारी ठगी र बचतकर्ताको रकम अपचलन बचतकर्ताको जीवनसँग जोडिएकाले सरकारले गम्भीर भएर दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने बताइन् ।     



  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार १३:३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया