logo-img

पहिले करिअर, फुर्सदमा बच्चा : बर्सेनि बढ्दै शुक्रकीट र डिम्ब भण्डारण

पिएचडी अध्ययनका लागि एक वर्षअगाडि राधा (नाम परिवर्तित) अष्ट्रेलिया उडिन् । अष्ट्रेलिया जानुअघि उनले काठमाडौंमा रहेको एउटा नाम चलेको आइभिएफ सेन्टरमा आफ्नो डिम्ब भण्डारणका लागि राखिन् । 

उनले डिम्ब भण्डारण गर्नुको एउटै उद्देश्य हो, सम्भावित निःसन्तानपनको समस्या । त्यही भोग्न नपरोस् भन्ने उद्देश्यले उनले बेलैमा आफ्नो डिम्ब सुरक्षित गरेर विदेश उडेकी हुन् । राधा अहिले २५ वर्षकी भइन् । उनले तत्काल बिहे गर्ने सोच बनाएकी छैनन् । अध्ययन गर्न केही समय लाग्ने भएकाले विवाह ढिलो गर्ने र त्यसअघि नै डिम्ब सुरक्षित गर्नका लागि उनले भण्डारण गरेकी हुन् । 

नेपालमा पछिल्लो समय शुक्रकीट र डिम्बलाई भण्डारण गरेर राख्ने सेवाग्राहीको संख्या बर्सेनि बढ्दो छ । पुरानो बानेश्वरमा रहेको वरदान आइभिएफकी प्रजनन विशेषज्ञ डा. सविना सिंखडा विशेषगरी करिअरमा फोकस्ड भएका महिलाले डिम्ब भण्डारण गरेर बच्चा जन्माउन चाहने गरेको बताउँछिन् । 

‘महिलाको उमेरसँगै डिम्बको गुणस्तर पनि कम हुँदै जान्छ । उमेर बढ्दै जाँदा सन्तान जन्माउने क्षमतामा ह्रास आउन थाल्छ,’ डा. सिंखडा भन्छिन्, ‘यसका लागि समयमै डिम्बको भण्डारण गरेर आफूले चाहेको समयमा बच्चा जन्माउन र हुर्काउन डिम्ब भण्डारण गरिन्छ ।’

वैदेशिक अध्ययनका लागि जाने युवा, युवतीले पनि पछिल्लो समय डिम्ब र शुक्रकीटलाई भण्डारण गरिरहेको सरोकारवाला बताउँछन् । ‘२३–२४ वर्षमा वैदेशिक अध्ययनका लागि जाने र ढिलो विवाह गर्ने चाहना भएका युवतीले पनि डिम्बलाई भण्डारण गर्ने गरेका छन्,’ वात्सल्य आइभिएफ सेन्टरमा कार्यरत सिनियर क्लिनिकल एम्ब्रियोलोजिष्ट सुरेश यादव भन्छन्, ‘महिलाको उमेर बढ्दै जाँदा डिम्बको गुणस्तरमा कमी आउने भएकाले पहिले नै डिम्बलाई भण्डारण गरेर राखियो भने डिम्बको गुणस्तरमा कमी आउँदैन । जसकारण पछिल्लो समय वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश जाने युवायुवतीले शुक्रकीट र डिम्ब भण्डारण गरिरहेका छन् ।’

वैदेशिक रोजगारीमा जाने पुरुष तथा महिलाहरूमा निःसन्तानपनको समस्या बढ्दै गइरहेको विभिन्न अध्ययनले देखाएको छ । जसले गर्र्दा यसरी आफ्नो डिम्ब र शुक्रकीट सुरक्षित राख्न सकियो भने भविष्यमा निःसन्तानपनको समस्या भोग्न नपर्ने भएकाले विवाह अगावै अधिकांश युवायुवतीले शुक्रकीट र डिम्ब भण्डारण गरेर राख्ने गरेको चिकित्सकको भनाइ छ । 



एम्ब्रियोलोजिष्ट ​यादवका अनुसार आइभिएफ प्रविधिद्वारा बच्चा जन्माउन चाहने दम्पतीको डिम्ब र शुक्रकीट भण्डारण गर्ने प्रक्रिया पहिलेदेखि नै थियो । तर, हिजोआज वैदेशिक अध्ययनमा जाने युवायुवतीले पनि शुक्रकीट र डिम्ब भण्डारण गर्ने गरेका छन् । डिम्ब र शुक्रकीट भण्डारण गर्नुका विभिन्न कारण भए पनि सामान्यतया माथि उल्लेखित कारण नै मुख्य कारण रहेको उनको भनाइ छ । 

‘धेरैजसो क्यान्सरपीडितहरू किमोथेरापीमा गइरहेका हुन्छन् । किमोथेरापी गर्दा पुरुषको शुक्रकीट र महिलाको डिम्बको गुणस्तरमा कमी आउनसक्ने सम्भावना रहन्छ,’ एम्ब्रियोलोजिष्ट ​यादव भन्छन्, ‘डिम्ब वा शुक्रकीटमा समस्या आएपछि डोनर डिम्ब वा शुक्रकीट लिनुपर्ने अवस्था आउन सक्छ । यस्तो अवस्था नआओस् भन्नका लागि किमोथेरापीमा जानुअघि आफ्नो डिम्ब वा शुक्रकीटलाई भण्डारण गरेर राखिन्छ ।’ भण्डारण गरेको डिम्ब वा शुक्रकीटलाई जति वर्षसम्म पनि प्रयोग गर्न सकिने उनको भनाइ छ । 



थापाथलीस्थित परोपकार तथा स्त्रीरोग अस्पतालमा केही कारणले सन्तान जन्माउन ढिला भइरहेका दम्पतीहरूको पुरुषको शुक्रकीट र महिलाको डिम्ब भण्डारण गरेर राख्ने सुविधा विस्तार गरिएको छ । सरकारी अस्पतालमध्ये थापाथलीमा मात्र यो सुविधा उपलब्ध छ । निजी क्षेत्रका भने अधिकांश स्वास्थ्य संस्थामा यो सेवा उपलब्ध छ ।

धेरैजसो महिला–पुरुषले आफ्नो करिअरलाई प्राथमिकता दिँदा हिजोआज उपयुक्त प्रजनन उमेरभित्र सन्तान जन्माउन नखोज्ने देखिएको चिकित्सकहरूको अनुभव छ ।

विश्व स्वास्थ्य संगठनले गत अप्रिलमा सार्वजनिक गरेको एउटा प्रतिवेदनका अनुसार ६ मध्ये १ जनामा बाँझोपन हुने गरेको छ । विश्वभरि नै प्रजनन समस्या बढ्दो रूपमा देखिइरहेका बेला ‘फर्टिलिटी फ्रिजिङ’ भनिने यो विधि अपनाउने मानिसको संख्या पनि बढिरहेको जनाइएको छ । 

महिला वा पुरुषको आमा वा बुवा बन्न सक्ने क्षमताको संरक्षण गर्नुलाई प्रजननको संरक्षण अर्थात् फर्टिलिटी फ्रिजिङ भनिने चिकित्सकहरू बताउँछन् ।एम्ब्रियोलोजिष्ट यादवका अनुसार महिलाको डिम्ब र पुरुषको शुक्रकीट अथवा कुनै जोडीको भ्रूण बनाएर लिक्विड नाइट्रोजन (–१९६ डिग्री सेल्सियस)मा राखेर वर्षौंसम्म भण्डारण गर्न सकिन्छ । यसरी भण्डारण गरेर राखिएको डिम्ब वा शुक्रकीट वा भ्रूणलाई महिला वा पुरुष वा कुनै जोडीले चाहेको समयमा प्रयोगमा ल्याउन सक्छन् ।

उमेर बढ्दै जाँदा महिलाको डिम्बको उत्पादन घट्दै जाने भएकाले अण्डाको संख्या र गुणस्तर जोगाउन डिम्ब भण्डारण उपयुक्त हुने चिकित्सकहरूको सुझाब छ । डिम्ब वा शुक्रकीट भण्डारणका लागि के कति खर्च लाग्छ, त्यो भने स्वास्थ्य संस्थाअनुरूप फरक रहेको एम्ब्रियोलोजिष्ट यादव बताउँछन् । नेपालमा यससम्बन्धी कुनै निश्चित कानुन बनिनसकेकाले स्वास्थ्य संस्थाअनुसार फरक–फरक शुल्क तोकिएको उनको भनाइ छ ।  

यो समाचार तयार पार्न आवश्यक पर्ने तथ्यांक विभिन्न फर्टिलिटी सेन्टरलाई माग गर्दा उपलब्ध गराउन नमिल्ने बताएका छन् । तथ्यांक माग गरिएकामध्ये वात्सल्य आइभिएफ सेन्टरले उपलब्ध गराएको तथ्यांक हेर्दा पछिल्लो समय डिम्ब र शुक्रकीट भण्डारण गर्ने सेवाग्राहीको संख्या बढ्दै गएको सहजै अनुमान लगाउन सकिन्छ । 

वात्सल्य आइभिएफ सेन्टरले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०२० मा ६४ पुरुषले शुक्रकीट र ९ महिलाले डिम्ब भण्डारण गरेका थिए । त्यसैगरी, सन् २०२१ मा १३६ पुरुष र २० महिलाले भण्डारण गराएका थिए । सन् २०२२ मा ६६२ पुरुष र ४१ महिलाले आफ्नो शुक्रकीट र डिम्ब भण्डारण गरेका थिए । सन् २०२३ को अन्तिम सम्ममा ८५२ पुरुषले शुक्रकीट र ६५ जना महिलाले डिम्ब भण्डारण गरेका छन् ।

  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार १९:५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया