स्वस्थानी व्रतबारे संक्षिप्त चर्चा

स्कन्दपुराणकाे माघमाहात्म्यमा वर्णित स्वस्थानीकाे व्रत पौषशुक्ल पूर्णिमादेखि आरम्भ गरी  माघशुक्ल पूर्णिमासम्म महिना दिन गर्नुपर्दछ । 

पौषस्य पौर्णमास्यां तु  स्वस्थानीव्रतमारभेत् ।  
माघस्य  पौर्णमास्यां तु व्रतपूर्णं समाचरेत् ।।

  
अर्थात् पौषशुक्ल पूर्णिमाका दिनदेखि आरम्भ गरी माघशुक्ल पूर्णिमासम्म एक महिना गरिने व्रतलाई  स्वस्थानी व्रत भनिन्छ । यस व्रतमा शिवजी  तथा स्वस्थानी परमेश्वरी= पार्वती अर्थात् परमेश्वर शिव र  पार्वती  परमेश्वरीको  नित्य मध्याह्ण कालमा पूजा आराधना गर्नुपर्दछ । याे व्रत स्त्री जाति अथवा पुरुष जाति जसले लिए पनि हुन्छ।

सुवर्णवर्णदीप्ताभां त्रिनेत्रां कमलाननाम् ।  
सिंहासनसमासीनां  सर्वालङ्कारभूषिताम् ।  
नीलाेत्पलधरां वामे  दक्षिणे  वरदां शुभाम्।।
खड्गचर्मधरां  चोर्ध्वं  वामदक्षिणयोः क्रमात् । 
चतुर्भुजां च मां तत्र  पूजयेद् वृषकेतनम् । 
एवं ध्यात्वा महादेवीं स्वस्थानीजगदीश्वरीम् ।।
 

सुवर्ण भन्दा पनि दिव्य पहेलो वर्ण भएकी, तीन आँखा भएकी, कमलको फूलझैँ उज्यालो  मुख भएकी, सिंहासनमा बसेकी, नाना अलङ्कार लगाएकी,   हातमा खड्ग , चर्म (ढाल ) र  नीलो कमल लिएकी, चारहात भएकी  यस्ती स्वस्थानी परमेश्वरीलाई  सम्झिएर  मेरो अर्थात्  सदाशिवको र स्वस्थानी परमेश्वरीको पनि  साथसाथै पूजा गर्नुपर्दछ , भनेर  शिवजीले पार्वतीलाई बताउनुभएको छ । पूजा आरम्भ गर्नुभन्दा १ दिन अगाडि नै  हात गोडाका नङ काटी  स्नान गरी पवित्र भएर शुद्ध वस्त्र पहिरिई  श्रद्धा  एवं भक्तिसाथ  पूजा गर्नुपर्दछ । पूजा गर्दा  पूजाका सामग्री वस्त्र,  जनै, धागो, सौभाग्यद्रव्य, चन्दन, अक्षता, फूलपाती, बेलपाती, तिल, जौ, दूबो, अर्घ,  पञ्चामृत,  सिन्दूर, अबीर, धूप , बत्ती ,कपूर ,  नैवेद्य,  सुपारी,  भेटीआदि सबै  तयार पारी  मध्याह्णकालमा   पहिले  कर्मपात्रो बनाएर  कुश तिल जौ  आदि लिएर  सङ्कल्प  गर्नुपर्दछ ।

'म आज  पौषशुक्ल पूर्णिमाका दिनदेखि   माघशुक्ल पूर्णिमासम्म  नियममा रही श्रीस्वस्थानी परमेश्वरीको  व्रत बसी पूजा गर्दछु र कथा समेत सुन्छु ।'  भनी सङ्कल्प गरेर अर्घ्य बनाएर सूर्यनारायणलाई  अर्घ दिएर  नमस्कार गरी  प्रायश्चित्त गोदान गर्नुपर्दछ । त्यसपछि पहिले दियो, कलश र गणेशको पूजा  गर्नुपर्दछ । अनि कलशमाथि स्थालीमा अष्टदल लेखी सदाशिवसहित स्वस्थानी परमेश्वरीको प्रतिमा राखी त्यस प्रतिमामा  'ॐ सदाशिवसहितायै श्रीस्वस्थानीपरमेश्वर्यै नमः' भनेर पूजा गर्नुपर्दछ । यसरी नित्य मध्याह्णकालमा पूजा गरी कथा सुनेर एक छाक हविष्य भोजन गर्नुपर्दछ । यसरी महिनादिनसम्म व्रत पूजा गरेपछि माघ शुक्लपूर्णिमाका दिन व्रतको उद्यापन गर्नुपर्दछ ।  

यसदिन अक्षता, जौ, तिल, फूल, दूबो, जनै, सुपारी आदि सबै कुरा १०८ चढाउनुपर्दछ ।  रोटी मालपुवा आदि नैवेद्य पनि चढाई फेरि १०८ छुट्टै रोटी मालपुवा  चढाउनुपर्दछ । त्यसपछि  अग्निस्थापना गरी १०८ हवन गर्नुपर्दछ । अनि  स्वस्थानी परमेश्वरीको  भजन, कीर्तन  र  कथा श्रवण गर्दै रात्रिमा जाग्राम गर्नुपर्दछ । उज्यालो भए पछि स्नान गरेर उत्तराङ्गपूजा गरी अर्घ्य दिनुपर्छ। अर्घ्य दिनेमन्त्र  यसप्रकार छ । 
 
नमस्तेSस्तु जगन्मातः स्वस्थानि सर्वमङ्गले । 
तव प्रसादाद्देवेशि  व्रतपूर्णं  तवाज्ञया ।।



हे स्वस्थानी माता ! हजुरका प्रसादले  मेराे व्रत पूर्ण हवोस्  भनी प्रार्थना गरी विसर्जन गरेर  ब्राह्मणहरूलाई यथाशक्ति दक्षिणा दिई  भोजन गराएर ती १०८ मध्ये सबैकुरा आठ-आठओटा झिकी पतिलाई दिनुपर्दछ, पति नभए छोरालाई, छोरो पनि नभए मीत छोरालाई दिनुपर्दछ र मीत छोरो पनि नभए मेरो मनः कामना पूर्ण होस् भनी नदीमा लगेर बगाइदिनुपर्दछ । सय रोटी आफूले भोजन गर्नुपर्दछ । यसरी व्रत गर्दा मानिसका समस्त पाप नाश भई आ-आफ्ना सम्पूर्ण मनः कामनाहरू पूर्ण हुन्छन् ।
 
पहिले यो स्वस्थानीकाे  व्रत  विष्णुका उपदेशले  शिवजी पति पाऊँ, भनी पार्वतीले लिनुभएको थियो ।  दक्षप्रजापतिका तेत्तीसकोटि कन्यामध्ये जेठी छोरीको नाम सतीदेवी थियो । सतीदेवीबाहेक सबैको विवाह देवताहरूसँग भएको र सतीदेवी बाँकी थिइन् । शिवजीले माग्दा दक्षले शिवजीलाई म तिमीलाई  छाेरी दिन्न, भनी गाली गरेपछि शिवजीले विष्णुलाई याे कुरा भन्दा विष्णुले म माग्छु भनी माग्न जानुभयाे, तर आफैँलाई माग्नुभयाे। अनि शिवजीलाई भन्नुभयाे- हे शिवजी ! विवाहमण्डपमा कन्यादान गर्नेवेलामा  भिक्षा माग्नू , मेराे लग्न बित्न लाग्याे एकछिन मेरा छेउमा बस्नुहवाेस्, भनेर म भन्नेछु। अनि हजुर मेरा  छेउमा गएर बस्नू, पार्वतीको हात हजुरका हातमा हाल्ने प्रबन्ध म मिलाउनेछु, भनी विष्णुले सल्लाह गरे। त्यसै सल्लाहअनुसार लग्नका दिन विष्णुले छल गरी झुक्याएर सन्यासी रूप शिवजीका हातमा सतीदेवीको हात थाप्न लगाई शिवजीसँग  सतीदेवीको विवाह भयो ।  

दक्षप्रजापति शिवजीसँग रिसाएका थिए । दक्षले यज्ञ गर्दा शिव र सतीलाई  नबोलाएपछि सतीदेवीले थाहा पाएर बाबाको यज्ञ हेर्न शिवजीले नजाऊ भन्दाभन्दै गइन् । त्यहाँ दक्षले शिवको निन्दा गरेका थिए। सतीदेवीले शिवनिन्दा सहन नसकी अग्निकुण्डमा प्रवेश गरी प्राण त्यागिन्  र हिमालयकी छोरी पार्वती भएर जन्मिइन् । अनि उनै पार्वतीले विष्णुका उपदेशले शिवजी पति पाउनका लागि  स्वस्थानीको व्रत लिइन् र त्यसै व्रतका प्रभावले शिवजीसँग पार्वतीको विवाह भएको थियो ।
   
शिवभट्ट नामका ब्राह्मण र सती ब्राह्मणीका सन्तान नहुँदा  सिद्धिविनायककाे उपासनागरी गाईकाे गाेबरबाट यौटी कन्या उत्तपत्ति भइन्। तिनकाे नाम गाेमा राखियाे। गाेमा पाँच वर्षकी हुँदा शिवजीले भिक्षुक रूप धारणगरी भिक्षा माग्न शिवभट्टका घरमा जानुभयाे। शिवभट्ट तथा सतीब्राह्मणी घरमा थिएनन्। गाेमाले ढिलाे थाहा पाएर भिक्षा दिन जाँदा   तैँले भिक्षा दिन ढिलाे गरिस्, त्यसकारण तँ सात वर्षकी हुँदा सत्तरी वर्षका बुढासँग तेराे विवाह हवाेस्, तैँले पनि ठुलाे दुःख पाउनेछस् भनी श्राप दिए। 



अनि सात वर्षकी हुँदा सत्तरी वर्षका शिवशर्मा नामका ब्राह्मणसँग गाेमाकाे विवाह भयाे। गाेमा गर्भिणी भएपछि   जातकर्म, नामकर्म आदि सँस्कार गर्नका लागि भिक्षा मागी सम्पत्ति आर्जन गर्न गएका शिव शर्मा बेपत्ता हुँदा गाेमाले अर्काकामा ढिकी जाँताे गरी बडाे दुःखले नवराजका जातकर्म, नामकर्म आदि सँस्कार गराइन्। नवराज भन्ने नाम राखियाे।  

गाेमाले बडाे दुःख गरी उनलाई हुर्काइन्, बढाइन्। पछि चन्द्रावती नामकी ब्राह्मणी सँग नवराजकाे विवाह पनि भयाे।ठुला भएपछि बाबुकाे खाेजी गर्न गएका नवराजले बाबु रुखबाट लडी मरेका उनका हाडखाेड भेटी सँस्कार गरी उनी पनि धेरै दिनसम्म बेपत्ता भए। नवराज हिँडेपछि चन्द्रावती पनि माइत गइन् । 

यता, गाेमाले झन् ठुलाे दुःख पाइन्। त्यसपछि सप्तर्षिका उपदेशले गोमा ब्राह्मणीले यो स्वस्थानीकाे व्रत लिइन् र बाबु खोज्न गएर धेरै दिन बेपत्ता भएका गोमाका छोरा नवराज   स्वस्थानीकाे व्रतको उद्यापनका दिन तत्काल आएका र आमाले लिएका यसै व्रतका प्रभावले नवराज लावण्यदेशका राजा भएका थिए ।  

त्यस्ताे दुःखमा परेकी गाेमा  स्वस्थानीका व्रतका प्रभावले राजमाता भइन्। नवराजकी रानी चन्द्रावतीले स्वस्थानीको निन्दा गरेकी हुँदा कुष्ठरोग लागी धेरै दिनसम्म दुःख पाएकी र पछि अप्सराहरूका उपदेशले यिनै स्वस्थानी भगवतीका व्रतका प्रभावले बालुवाका रोटी साँच्चै रोटीमा परिणत भएका र कुष्ठराेग निकाे भै फेरि नवराज राजाकी पटरानी भएकी थिइन् । 

चन्द्रावतीले नदीमा बगाएका रोटी नाग र नागिनीले भेटेर  धेरै दिनसम्म वियोग भएका नाग र नागिनीको स्वस्थानीका  प्रसादद्वारा भेट भएको थियो । डाेलेहरूले अप्सराहरुसँग संसर्गमा याे व्रत गरेका हुँदा स्वर्गीय सुख भाेग गर्न पाएका थिए।

'आहारशुद्धौ सत्त्वशुद्धिः' भनिएकाे हुँदा हविष्य भाेजनबाट बुद्धिकाे विकास हुन्छ। एकछाक खाने गर्दा पेटमा रहेकाे अजीर्ण= नपचेकाे अन्न सुपाच्य भई = राम्राेसँग पचेर शारीरिक स्थिति ठिक हुन्छ। परमेश्वरका कथा भजन आदिले मनमा शान्ति हुन्छ।  

यस व्रतका प्रभावले पार्वतीले आफुले मनपराएका महादेवलाई पति प्राप्त गरेकी हुँदा  यस व्रतबाट आफ्ना मनःकामना पूर्ण हुन्छन् भन्ने कुरा, भिक्षुकलाई झट्टै भिक्षा नदिँदा आफुलाई दुःख वा हानि हुन्छ, त्यसकारण  भिक्षुलाई तुरुन्तै भिक्षा दिनुपर्छ भन्ने र दुःख आइपर्दा पनि नआत्तिइकन सामना गर्दै रहे कालन्तरमा अवश्य सुख प्राप्ति हुन्छ भन्ने कुरा गाेमाकाे कथाबाट बुझेर व्यवहार गर्न सके आफुलाई कल्याण हुन्छ।  

आमाले लिएका यस व्रतका प्रभावले बाबु नभएका टुहुरा नवराजसमेत राजा हुन पाएका, अप्सराहरूका संसर्गमा डाेलेहरूले याे व्रतमा सहभागी भई एकछिन पूजा गर्दा मात्र पनि स्वर्गीय सुखभाेग गर्न पाएका, यसकाे प्रसाद मात्र खाँदा पनि धेरै दिन विछाेड भएका नाग-नागिनीकाे भेट भएकाे हुँदा श्रद्धा एवं भक्तिसाथ महिना दिन नै याे व्रत गर्दा यस व्रतबाट मानिसका जुनसुकै मनकामना पनि पूर्ण हुन्छन्भ न्ने कुरा स्वतः स्पष्ट  हुन्छ। 

स्वस्थानीकाे निन्दा गर्दा चन्द्रावतीले दुःख पाएकी र स्वस्थानीलाई मानेर व्रत गर्दा बालुवाका कल्पित राेटीसमेत साँच्चै राेटीमा परिणत भएका र दुःख कष्ट नाश भई  पटरानी समेत भएकी हुँदा हामी पनि श्रद्धा एवं भक्तिपूर्वक  स्वस्थानीकाे व्रत गरी आफ्नाे कल्याण गरौँ।
 
यो कथा स्कन्दपुराणकाे केदारखण्डमा पहिले महादेवले पार्वतीलाई बताउनुभएको र पछि स्कन्दकुमारले अगस्त्य मुनिलाई बताउनुभएको थियाे ।  ​

ॐ श्रीस्वस्थानीपरमेश्वर्यै नमः। श्रीकृष्णार्पणमस्तु।।

(​ लेखक​ नेपाल संस्कृत विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक हुन् । )

  • प्रकाशित मिति : माघ ९, २०८० मंगलबार २२:३६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया