आन्तरिक रोजगार प्रवर्द्धन दशक मनाउँदै सरकार

सरकारले २०८१-२०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा अघि बढाउने भएको छ । बिहीबार काठमाडौंमा नबिल दक्ष प्रवासी उद्यमशील कर्जाको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यस्तो बताएका हुन् । 

उनले सरकारले वैदेशिक रोजगारीको विकल्प भनेको आन्तरिक रोजगारी भएकाले सरकारले २०८१ देखि २०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको अभियानको रूपमा अघि बढाउन गृहकार्य गरिरहेको बताए । उनले आन्तरिक रोजगारी बढाउन नसकेसम्मका लागि वैदेशिक रोजगारीमा जानेकुरालाई व्यवस्थित र अनियमितताको नियन्त्रण गर्नु रहेको बताए ।

उनले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा गइरहेको बताए । अर्थतन्त्रको अवस्था सबल नभएकाले बेरोजगारी, गरिबी लगायतका समस्या समाधान गर्न नसकेको जिकिर गरे । उनले दैनिक विदेश पलायन भएका युवाहरूसँगै स्वदेश फर्किरहेका युवाहरूको बारेमा पनि तथ्यांक सार्वजनिक गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘हाम्रो अर्थतन्त्र सुधारोन्मुख छ । किनभने हाम्रो सञ्चिति बढ्दै गइरहेको छ । तर हामीले ज्यादै ठूलो चिन्ता पनि व्यक्त गरिरहेका छौँ की हाम्रा सबै युवाहरू बाहिर गइरहेका छन् भनेर । मानौँ मुलुक नै खालि भइसक्यो भन्ने खालको मानसिकताका पनि छौँ । यो बाध्यात्मक अवस्था हो भन्ने कुरा सबैले महसुस गरिरहेका छौँ । अहिले मुलुकको आर्थिक अवस्था केही न केही सुधार भइरहेको छ । तर जे अवस्था छ, त्यसले गर्दा रोजगारी सिर्जना गर्ने अवस्था भइरहेको छैन ।’

मन्त्री भण्डारीले श्रम मन्त्रालय अन्तर्गत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७५३ पालिकामा पुर्‍याउन र वैदेशिक रोजगारीमा गएकाहरूको सम्पूर्ण विवरण राख्ने काममा रोजगार सेवा केन्द्र स्थापना गरी काम भइरहेको बताए ।  





  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार १५:२८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया